|

दाङ : जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश सांसदबाट हटाएका लुम्बिनी प्रदेशका ४ जना मन्त्रीले पनि राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान गर्न पाउने भएपछि गठबन्धन दलले विरोध जनाएका छन्।

मतदान सुरू हुनु भन्दा करिब १६ घण्टाअघि निर्वाचन आयोगले मतदातालाई मतदाता कामय गर्ने एकपक्षीय निर्णय गरी आदेश गर्नु निर्वाचनको आचारसंहिता र निर्वाचन प्रणालीको आम मान्यता विपरीतको कदम भएको उनीहरूको भनाइ छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक प्रेस विज्ञप्ति जारी गरि अन्तिम मतदाता नामावलीमा दाबी विरोध सकिएर निर्वाचनको तयारीमा जुटेको बेलामा निर्वाचन आयोगले मतदाता थप गरेको भन्दै उनीहरूले विरोध जनाएका हुन्।

यस कदमले सम्पूर्ण संवैधानिक अंगमाथिको  विश्वसनीयतामै समेत प्रश्नचिह्न खडा भएको भनी उल्लेख गरेका छन्। त्यस्तै निर्वाचन आयोग जस्तो संवैधानिक अंग केपी ओली एमालेको विभागमा परिणत भएको प्रमाणित गरेको समेत उनीहरूको आरोप छ।

त्यस्तै यो अवस्थामा राष्ट्रिय सभाको उपनिर्वाचन मात्र नभइ सबै निर्वाचन निष्पक्ष नहुने कुरा पनि यहीबाट प्रमाणित हुने उनीहरूको भनाइ  छ।

यस कदमको घोर विरोध गर्दै निष्पक्ष निर्वाचनका लागि आइतबार निर्वाचन आयोगको निर्णय र आदेशको कार्यान्वयन नगर्न र नगराउन  समेत  लुम्बिनी प्रदेशका नेपाली कांग्रेस सांसद एवं संसदीय दलका नेता वीरेन्द्र कनौडिया, सांसद एवं माओवादी केन्द्रका संसदीय दलका नेता कुल प्रसाद केसी, सांसद जनता समाजवादी पार्टी एवं संसदीय दलका प्रमुख सचेतक पूर्मती डङ्गा मगर र राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले जोडदार आह्वान गरेका छन्।

त्यस्तै यसअघि निर्वाचन कार्यालयले उपनिर्वाचनमा ७९ जना प्रदेशसभा सदस्यले मात्र मतदान गर्ने भनेर नामावली निकालेको थियो। तर आयोगले आइतबार मात्रै राष्ट्रिय जनता पार्टीबाट मन्त्री बनेका ४ जना सांसदलाई पनि पुरक मतदाताको अधिकार दिएको छ।

यसअघि पार्टीको कारबाहीका आधारमा आइतबार दिउँसो सम्म उनीहरूलाई मताधिकार प्रदान गरिएको थिएन। जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्रको कुँवरका अनुसार निर्वाचन आयोगको पछिल्लो निर्णयअनुसार थप ४ जना सांसदलाई पनि पुरक मतदाताको अधिकार दिइएको हो।

योसहित अब लुम्बिनी प्रदेश सभामा कुल ८३ जना प्रदेशसभा सदस्यले मताधिकार पाएका छन्। आयोगको पछिल्लो निर्णय संगै आइतबार दिउँसो सम्म मताधिकारबाट बञ्चित रहेका मन्त्री समेत रहेका जसपा सांसदहरू कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय ,सुमन शर्मा रायमाझी र विजय बहादुर यादवले पनि मताधिकार पाएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.