|

जाजरकोट : शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्‍ज डोल्पामा दुईवटा हिउँ चितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको छ। 

यो वर्ष दुईवटा हिउँ चितुवामा ‘स्याटेलाइट जीपीएस कलार' जडान गरिएको निकुञ्‍जका अधिकारीहरूले जानकारी दिएका छन्‌।

वन तथा वातावरण मन्त्रालयले २०७५ भदौ २५ गते मन्त्रीस्तरीय निर्णय अनुसार दुई पटकमा चार हिउँ चितुवामा जीपीएस कलार जडान गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्‍ज कार्यालयले जनाएको छ।

राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व एवम्‌ राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) नेपालको प्राविधिक, आर्थिक सहयोगमा २०७६/७७ मा दुईवटा र यही जेठ २ गतेदेखि सञ्चालित अनुसन्धान गरी दुईवटा हिउँ चितुवामा स्याटेलाइट जीपीएस रेडियो कलार जडान गरेको निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिए। 

साल्दाङ ब्लकको निजाल गाउँलाई केन्द्र बनाएर स्याटेलाइट कलार जडान गरिएको निकुञ्‍जले जनाएको छ। साल्दाङ ब्लकको राप्का क्षेत्रमा ३७ किलोग्राम तौलको अन्दाजी ७ वर्षको वयस्क भाले हिउँ चितुवाको घाँटीमा जीपीएस कलार जडान गरिएको छ। उक्त हिउँ चितुवाको नाम घाङ्ग्री घापी हिउल राखिएको छ।

त्यस्तै, जेठ ११ गते साल्दाङ ब्लककै धोरामा ३८ किलोग्राम तौल भएको अन्दाजी ६ वर्षको वयस्क भाले हिउँचितुवामा पनि कलार जडान गरिएको छ। सो हिउँचितुवाको नाम लाङ्‍गेन राखिएको छ।

स्याटेलाइट टेलिमेट्री जडान कार्यलाई थप प्रभावकारी बनाउन मंगोलियामा हिउँचितुवामा कलारिङ गर्दा प्रयोग भएको ‘अर्बिस’ नामको स्वचालित ट्रयाप अनुगमन प्रविधि पहिलोपटक प्रयोग गरिएको हो। स्याटेलाइट कलार जडान गरिएका हिउँचितुवाको अनुवांशिक अध्ययन गर्न एवम्‌ डीएनए प्रोपाइल तयार गर्न रगतको नमूना समेत लिइएको छ।

स्याटेलाइटबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको माध्यमबाट कलार जडान गरिएका हिउँ चितुवाको विचरणको अध्ययन गरिएको निकुञ्‍जले जनाएको छ। हालसम्मका तथ्याङ्‌क विश्लेषण गर्दा दुवै हिउँचितुवाले सामान्य रूपमा आ–आफ्नो बासस्थानमा ३०६९ देखी ४९६० मिटरको उचाइमा विचरण गरिरहेको निकुञ्‍जले जानकारी दिएको छ।

घाङ्ग्री घापी हिउलले ७ दिनमा २४ किलोमिटर दूरी पार गरेको छ भने लाङ्‍गेनले १ दिनमा २ किलोमिटर दूरी पार गरेको छ। यी हिउँचितुवाहरू एक-अर्काबाट ६ किलोमिटरको दूरीमा विचरण गरिरहेका छन्‌। 

स्याटेलाइटबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको माध्यमबाट कलार जडान गरिएका हिउँ चितुवाको विचरणबारे अध्ययन गरिएको छ। यसबाट उनीहरूले बासस्थानमा गरेको विचरण, पार गरेको दूरी, आनीबानी, व्यवहार लगायतका विषयमा जीपीएस कलारले १८ महिनासम्मको तथ्यांक दिने र त्यसबाट संरक्षणको रणनीति तथा योजना तर्जुमा गर्न सहयोग पुग्ने निकुञ्‍जले जानकारी दिएको छ। हिउँ चितुवामा जडान गरिएका कलार जर्मनीको कम्पनीले निर्माण गरेको हो।

हिउँचितुवामा स्याटेलाइट कलार जडान गरिएको स्थान चीनको सीमानाबाट करिब १२ किलोमिटरको दूरीमा रहेकाले नेपालबाट हिउँचितुवाहरू चीनतर्फ विचरण गर्न जान्छन्‌/जाँदैनन्‌ भन्ने जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ। साथै, कलारिङबाट प्राप्त तथ्याङ्‌कले हिउँ चितुवाको आनीबानी, व्यवहार र विचरणलगायत बारे जानकारी प्राप्त हुने आशा लिइएको छ।

हिउँचितुवा–मानव द्वन्द्व न्यूनीकरण, बासस्थान व्यवस्थापन र अन्तरदेशीय सहकार्य लगायतबारे पनि अध्ययन हुने बताएको छ। हिउँचितुवा र यसको आहार प्रजाति संरक्षणको लागि मुख्य सवालहरू पहिचान गरी संरक्षणको रणनीति तथा योजना तर्जुमा गर्न सहयोग पुग्ने निकुञ्‍जले जनाएको छ।

स्याटेलाइट कलार जडान गरिएका घाङ्ग्री घापी हिउल र लाङ्‍गेनबाट प्राप्त जीपीएस लोकेशनको आधारमा राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभाग, डब्ल्यूडब्ल्यूएफ नेपाल र शे– फोक्सुण्डो राष्ट्रिय निकुञ्‍जबाट अनुगमन गरिएको छ। 

यसअघि कलार जडान गरिएका सामलिङ र जेवोरोङको मृत्यु भइसकेको छ। कलार जडान गरेको ६ महिनासम्म सम्पर्कमा रहेका सामलिङ र जेवोरोङ पछि एकाएक सम्पर्क बाहिर पुगेका थिए। सम्पर्कविहीन भएका ती दुवैको मृत्यु भएको प्रतिवेदन वन विभागमा पुगिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.