|
प्रतिनिधि तस्वीर ।

भक्तपुर : भक्तपुरको भेलुखेलस्थित ल्योसिंख्यमा इनारको पानी लिन आएकी महिला सानु श्रेष्ठ (नाम परिवर्तन) एक्लै टोलाउँदै थिइन्‌।

​एकैछिनमा अर्की महिला पानी लिन इनार आइपुगिन्‌। सानुको अनुहार हेरेर 'के भयो?' भनी प्रश्न गरिन्।

‘काम हुँदा ठिक छु जस्तो लाग्छ। अरू बेला के हुन्छ, थाहा छैन। कमाई छैन। जग्गा जमिन छैन। सानो घर छ बालबच्चा छन्। कसरी दैनिकी गुजारा गर्ने?,’ सानुले चिन्ता पोखिन्‌।

कुराकानीका क्रममा सानुले गत वर्ष श्रीमानलाई कोरोना संक्रमण भएको र लामो समय अस्पताल बस्नु परेको व्यथा सुनाइन्‌। ‘साढे चार लाख रुपैयाँ सकियो। त्यो पनि ऋण तिर्नुछ। खै के गर्ने? अहिले पनि निषेधाज्ञा छ। काम छैन, सबै घरमै छौँ। अन्न सकिनै लाग्यो। बालबच्चालाई के खुवाउने? लकडाउन कहिले खुल्छ?’ उनले भनिन्‌, ‘कोरोना लागेर मानिसहरू मरिरहेको समाचार आइरहेछ, दिमागमा पनि त्यही कुरा खेलिरहन्छ, अनि के गर्ने-कसो गर्ने भनी सोच्दासोच्दै टाउको फुट्लाजस्तो हुन्छ।’

भक्तपुरको आदर्शमा डेरा गरी बस्ने रीता लामा (नाम परिवर्तन) काठमाडौंमा घरेलु सफाईकर्मीको काम गर्थिन्‌। कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि गत बैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएसँगै उनको काम मात्र बन्द भएन, आम्दानीको एक मात्र स्रोत समेत बन्द भएको छ।

‘काठमाडौंमा गएर लुगा धुने र घर सरसफाइका काम गरी गुजारा चलाउँदै आएकी थिएँ,’ दुई बालबच्चाकी आमा रीताले भनिन्, ‘अहिले निषेधाज्ञामा काम र आम्दानी पनि छैन। भोलिका दिनमा बालबच्चालाई के खुवाउने भन्ने चिन्ताले सताउँछ र एकदम टाउको दुख्न थाल्छ।’

श्रीमान दुई वर्षअघि वैदेशिक रोजगारीका लागि कतार गएदेखि सम्पर्कमा नआएको रीताले बताइन्‌। ‘श्रीमान वैदेशिक रोजगारका लागि कतार गएको दुई वर्ष भैसक्यो,' रीताले भनिन्‌, 'विदेश गएदेखि न सम्पर्कमा आएका छन‌्‌, न पैसा नै पठाएका छन्‌। दुई सन्तानलाई कसरी पाल्ने भन्दै रुँदै कामको भीख माग्दै दैनिकी गुजार्नुपरेको छ।’

गतवर्ष कोरोना संक्रमित भई १९ दिन खरिपाटीस्थित क्वारेन्टिनमा बसेकी सुनिताको हालत पनि रीता र सानुको भन्दा कम छैन्। अहिलेपनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले होम आइसोलेसन बसेकी सुनिता एकल महिला हुन्‌। उनका दुई छोरा छन्‌। 

स्थानीय एक निजी विद्यालयमा पढाउने सुनिताको पनि निषेधाज्ञा हुँदा शिक्षण संस्था बन्द भई रोजगारी गुमेको छ। आम्दानीको स्रोत बन्द भएकाले सुनिता निन्द्रामा समेत कसरी घर चलाउने, छोराहरूलाई के खुवाउने, कोरोनाले म मरे भने छोराहरूलाई कसले हेर्छ भनी रुने गरेको सुनिताकी देवरानीले बताइन्‌। अहिले सुनिता आफैँ बिरामी भएका कारण छोराहरूलाई माइती हेटौंडामा पठाइएको छ। उनी एक्ली छिन्‌। अहिले उनको रेखदेख देवरानीले गर्दै आएको सुनिताले बताइन्‌।

​कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लागू भएसँगै धेरैले रोजगारी गुमाएका छन्‌। ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउनुपर्ने निम्न वर्गका परिवारलाई निषेधाज्ञाले बिस्तारै विचलित बनाउन थालेको छ। विषेश गरी दैनिकी गुजारा गर्नुपर्नेलाई निकै सकस परेको छ। 

गएको वर्षपनि ६ महिनाभन्दा लामो समय बन्दाबन्दीमा बिताउनु परेका उनीहरूलाई परिवार कसरी पाल्ने भन्ने चिन्ताले निकै सताउन थालेको छ। रोगले भन्दा पनि भोकले मर्ने हो कि भन्ने चिन्ताले गृहिणी, एकल महिला र न्यून आय भएका परिवारमा मानसिक विचलन आउन थालेका उदाहरण हुन्‌-रीता, सानु र सुनिताको अवस्था।

बन्दाबन्दी वा निषेधाज्ञाले दैनिक ज्याला मजदुरी गर्ने वर्गमा एकदमै नराम्रो प्रभाव पार्ने भक्तपुर अस्पतालकी मनोचिकित्सक डा. कञ्चन दाहाल बताउँछन्‌।

​‘अरू बेला जसोतसो दैनिक मजदुरी गरेर आफ्नो परिवार पालिरहेका हुन्छन्। तर अहिलेको अवस्थाले उनीहरूलाई सबै भन्दा पहिला रोग होइन, भोकले मानसिक तनाव बढाएको हुन्छ,’ उनले भनिन्। 

निम्न आय भएका परिवारलाई मैले कसरी मेरो बालबच्चा, परिवारलाई भोकप्यास मेटाउने, बास कसरी जोगाउने, अरूबेला दिइरहेको आवश्यकताहरू यसबेला कसरी पूरा गरिदिने भन्ने चिन्ताले मनमा डेरा जमाउने गरेको पाइएको उनले बताए।

‘अहिलेको स्थितिमा उनीहरूलाई संक्रमण भयो भने के गर्ने, हातमुख जोड्न नसकेको अवस्थामा संक्रमित भयो भने कसरी उपचार गर्ने, बालबच्चालाई शिक्षाको पहुँचबाट कसरी जोगाउने भन्ने मानसिक तनाव हुन्छ नै! त्यसका बाबजुत नियमित रूपमा शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अभाव हुँदा पनि मानिस बिरामी भई त्यतिकै मनोरोगीजस्तै हुन्छ,’ उनले भने। यस्ता किसिमका मानसिक तनाव बढेर बाँच्नुको अर्थ छैन भनी आत्मग्लानी उत्पन्न गराई गलत बाटो अंगालेको समेत घटना देखिएको उनले बताए। 

मजदुरी गर्ने वर्गमा यस्ता समस्याको परामर्श भन्दा पनि सहयोगको खाँचो रहेको उनले बताए। ‘उसले खानै पाएन भने परामर्श गरेर केही हुँदैन, उसको सबभन्दा ठूलो कुरो भोक हो। भोक मेटाउनु पर्छ। त्यसका लागि मुलुकमा यस किसिमका अप्ठेरा परिस्थिति आउँदा सम्बन्धित निकाय, विभिन्न संघसंस्था वा व्यक्तिगत रूपमा केही सहयोग गर्नुपर्छ,’ उनले भने। समस्यामा परेका वर्गलाई सोही अनुसारको सहयोग मिल्यो भने मेरो परिवारलाई भोकै राख्नु परेन भन्ने भाव जाग्दै जाने र मानसिक तनाव पनि कम हुँदै जाने उनले बताए।

काठमाडौं उपत्यकामा शुक्रबारदेखि निषेधाज्ञा थप कडा भएको छ। दैनिक उपभोग्य वस्तुको खरिद-बिक्री हुने किराना पसल समेत एक हप्ताका लागि बन्द छ।

यसो हुँदा दैनिक ज्याला-मजदुरी गरेर छाक टार्नुपर्ने वर्गलाई थप समस्या पारेको छ। सरकारले स्थानीय तहमार्फत यस्ता परिवारलाई उचित राहत र सहयोगको व्यवस्था गर्न नसके निम्न आय भएका परिवारमा मनोरोगको समस्या विकराल बन्ने अवस्था आउने सरोकारवालाहरू बताउँछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.