|

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ बेतहनीका तिलक विकलाई वैशाख ३० गते स्वास्थ्य समस्या देखियो।

फिल्डमा काम गर्ने क्रममा उनी पानीमा भिजे। उनलाई ज्वरो आयो। उनी बायो हेल्थ प्रोजेक्टमा काम गर्छन्। ज्वरोलाई सामान्य हो भन्दै उनी फिल्डको काममा निस्किए।​​

स्वास्थ्यमा अलि बढी नै समस्या देखिएपछि उनी वैशाख ३० गते मेडिकलमा उपचार गराउन गए। डाक्टरले टाइफाइट भएको भन्दै औषधि दिएपछि उनले त्यहीँ सेवन गरे।

जेठको ३ गतेसम्म उनले मेडिकलबाटै सेवा लिए। सन्चो नभएपछि कतै कोरोना त भएन भन्ने उनलाई लाग्यो। कोरोना परीक्षणका लागि स्वाब दिए। नभन्दै रिपोर्ट पोजेटिभ आयो।

स्वास्थ्यमा निकै समस्या देखिएपछि उनी परीक्षणका लागि पुगेका थिए। अनुभव सुनाए, 'कोरोनाको रिपोर्ट दिने बेला पनि राम्ररी उभिन सक्ने शक्ति शरीरमा थिएन। परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनी तुरुन्त पालिकाले तयार पारेको अस्थायी कोभिड अस्पताल रानीपुर पुगे।

कोभिड अस्पतालमा समस्या देखिएको धेरै दिनपछि मात्रै पुगेकाले उनको अवस्था एकदमै गम्भीर भइसकेको थियो। उनको तत्काल छातीको एक्सरे गरियो। उनलाई यहाँ सम्भव नहुने भन्दै नेपालगञ्ज पठाउने पनि तयारी गरियो।

तर त्यतिबेला नेपालगञ्जको परिस्थिति सामान्य थिएन। त्यहाँ सजिलै बेड पाइँदैनथ्यो। त्यस्तो अवस्थामा तत्काल उपचार नपाए उनको ज्यान पनि जान सक्थ्यो। त्यसकारण कोभिड अस्पतालका सिनियर अहेब दीपबहादुर बस्नेतले उहाँलाई यहीँ बचाएर देखाउँछु भनेर हिम्मत कसे।

उनलाई तत्काल उपचार थालियो। कोभिड अस्पतालका डाक्टरहरूले पूरै ध्यान दिएर उनको उपचार गरे। त्यहीँबाट उपचारपछि सन्चो भएर अहिले उनी घर फर्किएका छन्।  विक भन्छन्, 'मैले अस्पताल पुग्न निकै ढिलो गरिसकेको थिए। अझै केही ढिलो गरेको भए सायद अहिले म यो सन्सारमा हुन्थिनँ होला।' 

उपचारमा खटिएका कोभिड अस्पतालको टिमलाई उनी भगवानको दर्जा दिन्छन्। विकका बुबालाई पनि कोरोना पाजेटिभ थियो। उनका बुवालाई भने यहाँ सम्भव नभएपछि नेपालगञ्ज रिफर गरियो।

नेपालगञ्जमा बिरामीको भीड निकै थियो। त्यहाँ उपचारमा संलग्न डाक्टरले उनलाई फेरि भुरिगाउँ फकाईदिए। उनको पनि पालिकाको अस्थायी कोभिड अस्पतालमा उपचार गरियो। अहिले बाबुछोरा दुबै उपचार पछि निको भएर डिस्चार्ज भइसकेका छन्।

विक भन्छन्, 'पालिकाले समयमै ध्यान पुर्‍याएर कोभिड अस्पताल निर्माण नगरिदिएको भए मजस्ता धेरैले अकालमै ज्यान गुमाइसकेका हुन्थे।' उनी पालिका परिवारलाई कोभिड अस्पताल निर्माण गरेर उपचार सहज बनाइदिएकोमा धन्यवाद दिन्छन्। 'कोरोनालाई जटिल अवस्थामा पुगेर पनि परास्त गरे, अब त मर्दिनँ होला,' उनले भने।

विकका बाबुछोरा मात्रै होइन। उनीहरूजस्ता धेरैको ज्यान पालिकाको कोभिड अस्पतालका डाक्टरले बचाएका छन्। कोभिड अस्पतालका डाक्टरहरू यतिबेला आफ्नो ज्यानको प्रवाह नगरी बिरामीको उपचारमा खटिएका छन्।

उता बर्दियाको मधुवन नगरपालिकाका ७० वर्षीय इन्द्रमोहन सिक्देललाई पनि जेठ २९ गतेतिर स्वास्थ्यमा समस्या देखियो। उनी पनि सामान्य रुघाकोखी त हो भन्दै अस्पताल गएनन्।

मेडिकलको औषधि सेवन गरे। स्वास्थ्य अवस्था सुधार नभएपछि परीक्षण गर्दा उनमा पनि कोभिड पोजेटिभ देखियो। त्यसपछि उनी पालिकाको कोभिड अस्पतालमा भर्ना भए। कोभिड अस्पतालका डाक्टरले मन लगाएर आफ्नो उपचार गरेर ज्यान बचाइदिएका उनी सुनाउँछन्।

'डाक्टरहरूले आत्मबल बढाउन प्रोत्साहन दिए,' उनले थाहाखबरसँग कुरा गर्दै भने, उनीहरूकै कारणले आज ज्यान बचाउन सफल भए, लाग्छ मैले नयाँ जन्म पाएँ।' पालिकाका नगर प्रमुख, उपप्रमुखसहित बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई मनैदेखि उनले धन्यवाद दिए। 

मधुवनको कोभिड अस्पतालले उपचारका लागि आएका ७४ जनालाई त यहीँबाट उपचार गरी निको बनाएर घर पठाइसकेको छ। १२ जनालाई नेपालगञ्ज रिफर गरिएको र १ जनाको कोभिड अस्पतालमा उपचारका क्रममा ज्यान गएको कोभिड अस्पतालका डाक्टरले बताएका छन्।

यी त केही उदाहरण मात्रै हुन। बर्दियाका ८ वटै पालिकाले निर्माण गरेका कोभिड अस्पतालबाट धेरै स्थानीयले नयाँ जीवन पाएका छन्। थोरैको ज्यान गए पनि धेरैलाई बचाउन सफल भएका छन्, कोभिड अस्पताल।

अहिले बर्दियाका ८ वटै पालिकामा १० देखि ३० बेड सम्मका अक्सिजन सहितका कोभिड आइसोलेसनहरू छन्। जहाँ पालिकाहरूले आफ्ना पालिकाका बिरामीहरूको उपचार गर्दै आएका छन्।

पालिकाका कोभिड अस्पतालमा बिरामी र तिनका कुरुवाहरूलाई पालिकाले खाना खुवाउने व्यवस्था पनि गर्दै आएका छन्। त्यसमा धेरै युवा पनि संलग्न छन्। ठाकुरबाबा नगरपालिकाका समाजसेवी युवा कुमार खड्कालगायत युवाको टोली बिरामीको सेवा गरिरहेको छ भने मधुवनमा विकासप्रेमी युवा समूहको टोलीले पालिकासँग सहकार्य गरेर बिरामीहरूलाई खाना खुवाउँदै आएको छ।

मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्री निरन्तर बिरामीकै सेवामा छन्। ठाकुरबाबा नगरपालिकामा एमबिबिएस डाक्टर कुलदीप यादव, सिनियर अहेब दीप बहादुर बस्नेतलगायत टोली निरन्तर बिरामीको उपचारमा छन्।

कतिपय बिरामीहरूले सामान्य रुघाखोकी र ज्वरो त हो भन्दै लापरबाही गर्नाले ज्यान गुमाउनुपरेको डाक्टरहरू बताउँछन्। टाइफाइड त हो भन्दै मेडिकलको औषधि सेवन गर्ने र ढिलो गरी मात्रै अस्पताल पुग्नाले अवस्था जटिल बनिसकेको हुँदा ज्यान बचाउन सम्भव नहुने डाक्टरहरूको तर्क छ। अहिले त आफूलाई कोभिड हो भन्ने शंका लाग्नासाथ परीक्षण गर्न डाक्टरहरूले सुझाव पनि दिइरहेका छन्।

बर्दियामा अहिलेसम्म कोरोनाको दोस्रो लहरमा मात्रै ९८ जनाले ज्यान गुमाइसकेका छन्। दोस्रो चणरमा मात्रै बर्दियामा ४ हजार ३ सय ६७ जनामा संक्रमण पुष्टि भइसकेको छ। २ हजार ६ सय ६० जना कोरोनालाई परास्त गर्दै डिस्चार्ज भइसकेका छन्। 

जिल्लामा अहिले १ हजार ६ सय ९ जना संक्रिय संक्रमित छन्। यस्तै बर्दियामा ७९ जनाको विभिन्न अस्पतालमा र १२ जनाको आइसियुमा उपचार भइरहेको बर्दियाका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.