|

सोलुखुम्बु : निर्माणाधीन सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाले छैटौंपटक म्याद थप्न फाइल अघि बढाएको छ। सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी काम शुरू गरेको आयोजनाले पुनः छैटौँ पटक म्याद थप्न फाइल अघि बढाएको हो।

सन्‌ २०२१ मे महिनाभित्र काम सक्ने सर्तमा पाचौँपटक म्याद थप गरेको आयोजनाले पुनः तीन महिनाका लागि समय थप्न लागेको आयोजना प्रमुख जनार्दन गौतमले बताए। उनका अनुसार जिल्लामा उत्पादित विद्युत बाहिर लैजान १३२ केभी प्रसारण लाइन निर्माण गरिएपनि स्थानीयको अवरोधका कारण समयमा नै सम्पन्न हुन नसकेको हो।

सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङ्लासम्म ३०२ वटा टावर निर्माण गर्नुपर्ने भएपनि अहिलेसम्म २९२ वटा मात्रै फाउण्डेसनको काम सकिएको आयोजनाले जनाएको छ। आयोजना प्रमुख जनार्दन गौतमका अनुसार अन्य १० वटा टावरको फाउण्डेसन निर्माण गर्ने क्षेत्रमा भने स्थानीयवासीले अवरोध गरेका छन्। 

उदयपुरको मरुवामा १० वटा टावर निर्माण गर्नुपर्ने भएपनि स्थानीयको अवरोधका कारण काम अघि बढाउन नसकेको प्रमुख गौतमको भनाई छ। उनीहरूले मुआब्जाको माग गर्दै काम अगाडि बढाउन नदिएको बताइएको छ। 

यस्तै, ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ६० किलोमिटर तार टाँगिएको छ। बाँकी ३० किलोमिटर सोही अवरोध हुने क्षेत्रभित्र पर्छ। सोलुखुम्बुको पत्तालेमा २ किलोमिटर र मरुवामा तार टाग्न बाँकी रहेको आयोजनाले जनाएको छ। प्रसारणलाइन क्षेत्रमा मुआब्जा दिनुपर्ने स्थानीयको मागपछि तार तान्ने काम रोकिएको हो। 

स्थानीय र आयोजनाबीच कुरा नमिल्दा तीन महिनादेखि निर्माणकार्य ठप्प छ। आयोजनाले स्थानीयवासीको चित्त बुझाउन नसक्दा सोलुखुम्बुमा उत्पादन भएको सयौँ किलोवाट विद्युत खेर गएको छ।

एक वर्ष अघि नै निर्माण सम्पन्न भएको माथिल्लो सोलु खोला जलविद्युत आयोजना (२३.५ मेगावाट) ले अहिले ५ मेगावाट मात्रै उत्पादन गरिरहेको छ। जसलाई तिङ्लामा रहेको ३३ केभी सव–स्टेशनबाट ओखलढुंगाको रुम्जाटारमा रहेको नेपाल विद्युत प्राधिकरणको सव–स्टेशनमा जोडिएको छ। यो १३२ केभी प्रसारण लाइनको विकल्पको रूपमा प्रयोग गरिएको हो। यो सँगै जिल्लालाई विद्युतको केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ। 

सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लामा ११, ३३ र १३२ केभी सवस्टेशन निर्माण सम्पन्न भइसकेको छ। करिब एक वर्ष अघि नै उक्त सव–स्टेशन तयार भएपनि करिडोरको काममा ढिलाइ हुँदा समस्या निम्तिएको हो। 

यस्तै, तल्लो सोलु खोला जलविद्युत आयोजना ८२ मेगावाट क्षमताको विद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ। यता सोलु खोलामै निर्माणाधीन बेनी हाइड्रो पावर १९.५ मेगावाटको काम समेत अन्तिम चरणमा पुगेको आयोजनाका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले बताए। 

यी आयोजनाको काम यस अघि नै निर्माण सम्पन्न भइसक्नु भएपनि विद्युत प्रसारणलाइन बनाउन नसक्दा ढिलाइ भएको सम्बन्धित आयोजना विकासकर्ताहरूले दाबी गरेका छन्‌।

​विद्युत निर्माण सम्पन्न भएपनि प्रसारण लाइन नहुँदा कम जनशक्तिमा काम भइरहेको तल्लो सोलुखोला जलविद्युत आयोजनाका कविराज पौडेलले बताए। यस्तै सोलुखोला दुधकोशी हाइड्रोपावर (८६ मेगावाट) को काम पनि धमाधम भइरहेको छ। सोलु खोलामा मात्रै आधादर्जन हाइड्रोपावर निर्माणाधीन छन्‌। यी आयोजना निजी क्षेत्रको लगानीमा निर्माण हुँदैछ। 

आयोजना सम्पन्न हुने र प्रसारण लाइन तयार नहुने हो भने नेपाल विद्युत प्राधिकरणले ४५ प्रतिशत हर्जाना तिर्नुपर्ने विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) मै उल्लेख छ। करिडोरको काममा निरन्तर ढिलाइ भइरहे सरकारलाई ठूलै घाटा हुने निश्चित छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.