|

पर्वत : सोमबार सदनमा प्रस्तुत भएको गण्डकी प्रदेश सरकारको बजेटका सिद्धान्त तथा प्राथमिकताबारे मंगलबारबाट छलफल हुँदैछ।

अर्थमन्त्री किरण गुरुङले प्रदेश सभामा सोमबार आगामी बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए। जसमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि तयार पारिएका कार्यक्रम र पुराना योजनालाई प्राथमिकतामा राखिएको छ।

प्रदेशको आगामी बजेटका सिद्धान्त तथा प्राथमिकतामा कोभिडसँगै चालू आर्थिक वर्षमा अघि बढाइएका क्रमागत योजनालाई प्राथमिकता दिइएको मन्त्री गुरुङले बताएका छन्। कोभिडको सामना गर्दै जनजीवनलाई सामान्य बनाउन र वर्तमान सरकारका योजनालाई निरन्तरता दिएर प्रादेशिक अर्थतन्त्रलाई गतिशील बनाउने गरी बजेटमा प्राथमिकता दिइएको उनको भनाई छ। 

‘गण्डकी सरकारले कोभिडलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ। यसमा कोभिड नियन्त्रणलाई प्राथमिकता दिइएको छ,’ मन्त्री गुरुङले सदनमा भनेका थिए, ‘बजेटको सिद्धान्त तथा प्राथमिकतामा धेरै योजनाले निरन्तरता पाएका छन्। प्रदेशमा पूर्वाधार विकास, उत्पादनमुखी र गरिबी निवारणका कार्यक्रमलाई जोड दिइनेछ। आगामी आर्थिक वर्षलाई प्रदेश सरकारका कामको प्रगति समीक्षा वर्षको रूपमा अघि बढाइनेछ।’​


सिद्धान्त तथा प्राथमिकतामा अन्तर सरकारी सम्बन्धलाई बनाउने बजेटको सिद्धान्त रहने उल्लेख छ। कोरोना भाइरसको तेस्रो लहर रोकथामका लागि पूर्व तयारीलाई प्राथमिकता दिइने भनिएको छ। आर्थिक सामाजिक क्षेत्रलाई पुन:जीवित पार्न पुन:जीवन कोष सञ्चालन गरिने अर्थमन्त्री गुरुङले बताएका छन्।

यस्तै, प्रदेशका सबै नागरिकलाई खोपको व्यवस्था गर्न संघीय सरकारसँगको समन्वयलाई प्राथमिकता दिइने पनि विनियोजन विधेयकमा लेखिएको छ। कोभिडबाट अभिभावक गुमाएका बालबच्चाको शिक्षा-दीक्षा व्यवस्था गर्ने गरी कार्यक्रम ल्याउने प्रदेशको तयारी छ।

मन्त्री गुरुङले भौतिक पूर्वाधार विकास र यातायात व्यवस्थामा धेरैजसो पुरानै योजनालाई निरन्तरता दिइएको, एक निर्वाचन क्षेत्र एक सडक, बहुवर्षीय योजनाहरू, एक घर एक धारा, प्रदेशमा काठे पोल विस्थापन लगायत कार्यक्रमहरूलाई निरन्तरता दिइने पनि गुरुङले उल्लेख गरे।

उनका अनुसार यातायातलाई व्यवस्थित बनाउन विद्युतीय प्रणालीमा आबद्ध गरिने, कृषि क्षेत्रको उत्पादन बढाउन वर्षभरि सिँचाइ पुग्ने व्यवस्था मिलाइने, स्वास्थ्य क्षेत्रमा पूर्वाधारको विकास र जनशक्तिको व्यवस्थापनमा विशेष प्राथमिकता दिइने, प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालको पूर्वाधार निर्माणमा जोड दिइने, एअर लिफ्टिङ लगायत कार्यक्रमलाई निरन्तरता दिइने, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकारलाई थप सुनिश्चित गर्ने, आगामी वर्षबाट नै गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक प्रतिष्ठानमा अध्ययन अध्यापन शुरू गर्न पहल गरिने लगायतका कार्यक्रमहरू विनियोजन विधेयकमा समावेश छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.