|
फाइल तस्बिर

काठमाडाैं : सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा पनि आन्तरिक मूल्यांकनकै आधारमा प्रकाशित गर्ने निर्णय लिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गराउने भनी मन्त्रीपरिषद् बैठकमा प्रस्ताव लगेको थियो।

साेही दिन नै मन्त्रीपरिषद्‌ बैठकले परीक्षा स्थगित भएको २३ दिनपछि प्रस्ताव  पारित गरेर बल्ल परीक्षाकाे निकास निकालेको हो। यसअघि परीक्षाबारे केही निर्णय नहुँदा परीक्षार्थी र अभिभावक चिन्तित थिए।

राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसइई परीक्षा भने वैकल्पिक विधिबाट सञ्चालन गर्न मन्त्रालयमा सिफारिस गरेको थियो। तर, मन्त्रीपरिषद्‌ बैठकले वैकल्पिक विधिको साटो आन्तरिक मूल्यांकनबाटै नतिजा प्रकाशित गर्ने निर्णय गरेको छ।

गत वर्ष यसरी भएको थियो आन्तरिक मूल्यांकन

कोरोनाकै कारण गत वर्षको एसईई परीक्षा नतिजा पनि आन्तरिक मूल्यांकनबाटै प्रकाशित भएको थियो।

सरकारले मूल्यांकन गर्ने जिम्मा विद्यालयलाई दिएको थियो। जसका लागि सरकारले ‘माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको थियो।

सैद्धान्तिक मूल्यांकनतर्फ माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार विद्यालयहरूले लिएका परीक्षाहरु मध्ये अधिकतम पाठ्यक्रम समावेश हुनेगरी पछिल्लो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णाङ्‌कअन्तर्गत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्ताङ्‌क दिने निर्णय भएको थियो।

प्रयोगात्मक मूल्यांकनका लागि भने विद्यार्थीहरुको प्रयोगात्मक प्राप्ताङ्‌क चढाउँदा सम्बन्धित विद्यालयहरूले यस अगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनुपर्ने थियो।

पहिलो त्रैमासिक अवधी भरमा पठन पाठन भएका विषय वस्तुबाट कूल पूर्णाङ्‌कको १० प्रतिशत  (सैद्धान्तिक र प्रयोगात्मक) अंक भारको परीक्षा सञ्चालन गर्नुपर्ने, पहिलो र दोस्रो त्रैमासिक अवधी भरमा पठन पाठन भएका विषय वस्तुबाट कूल पूर्णाङ्‌कको ३० प्रतिशत (सैद्धान्तिक र प्रयोगात्मक)अंक भारको परीक्षा सञ्चालन गर्नुपर्ने भएकाे थियाे।

त्यस्तै, शैक्षिक सत्रको अन्तसम्ममा पठन पाठनका लागि निर्धारित सम्पूर्ण विषय वस्तुबाट ६० प्रतिशत (सैद्धान्तिक र प्रयोगात्मक)अंक भारको परीक्षा सञ्चालनका लागि तिनै परीक्षाको कूल प्राप्ताङ्‌क जोडेर विद्यार्थीको विषयगत ग्रेड निर्धारण गरिएकाे थियाे।

प्राविधिक तथा व्यवसायिक धारतर्फका विधागत विषयहरुमा सैद्धान्तिक तर्फ ४० प्रतिशत र प्रयोगात्मक तर्फ ६० प्रतिशतमा मूल्यांकन हुने र प्राविधिक तथा व्यावसायिक धारतर्फका विद्यार्थीका लागि ३० कार्य दिने (२४० घण्टा) कार्यगत तालिम (अन द जब ट्रेनिङ) कार्यगत तालिम सञ्चालन कार्यविधि २०७१ बमोजिम गर्नुपर्ने गरी मूल्यांकन भएको थियो। तर, विद्यालयले आफूखुसी बढी नम्बर दिएको भन्दै चर्को आलोचना भयो।

यसो भन्छ बोर्ड

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेल यस वर्षकाे परीक्षा हकमा मन्त्रालयले जे निर्णय गरेको छ। त्यही आधारमा विद्यार्थीको मूल्यांकन गर्ने बताए।

उनले भने, ‘मन्त्रालयबाट अहिले सम्म एसईई परीक्षाबारे आधिकारिक निर्णय आएको छैन, निर्णय आएपछि त्यहाँ कुन मापदण्डमा मूल्यांकन गर्ने भन्ने उल्लेख भएको छ, त्यही आधारमा मूल्यांकन गरेर नतिजा प्रकाशित गरिन्छ।’

यही जेठ १३ गतेदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा-१२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो। तर, कोरोना संक्रमणदर बढ्दै गएपछि बोर्डले गत वैशाख २७ गते एसईई र कक्षा-१२ को परीक्षा स्थगित गरेको थियो। बाेर्डका अनुसार यस वर्ष करिब पाँच लाख विद्यार्थीकाे आन्तरिक मूल्यांकन  गरिँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.