|

बैतडी : दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेकोले त्यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला भित्रिने यात्रुहरूको कोरोना परीक्षण शुरू भएको छ।

खोडपेमा हेल्थ डेस्क स्थापना गरेर आजदेखि एन्टीजेन विधिबाट जिल्ला भित्रिने यात्रुहरूको परीक्षण शुरू गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए। जिल्ला भित्रिने यात्रुवाहक सवारी साधनलाई बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै भित्रिन दिइएको हो।

आजदेखि शुरू भएको तेस्रो पटकको निषेधाज्ञाको आदेश जारी गर्दै रातीको समयमा जिल्ला भित्रिने यात्रुवाहक सवारी साधनमा रोक लगाएको हो।

विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खोडपेमा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी परिचालन गरी कोरोना परीक्षण कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। हेल्थ डेस्कमा यात्रुहरूको कोरोना परीक्षण गरिने र पोजेटिभ आएकालाई आइसोलेसन राख्ने र नेगेटिभ आएकालाई घर जान दिइनेछ,' उनले भने, ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला भित्रिने नाकामै परीक्षण गरिरहेका हौँ।’

हेल्थ डेस्कमा कोरोना परीक्षण गर्नका लागि ६ जना स्वास्थ्यकर्मी परिचालन गरिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। केही दिनअघि बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले खोड्पेमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको थियो। जिल्लामा कोरोनाको चेन ब्रेक गर्नका लागि तराईबाट आएकाहरूको पनि परीक्षण आवश्यक रहेकोले परीक्षण शुरू भएको स्वास्थ्य प्रमुख भट्टको भनाई छ।

यसअघि भारतसँग जोडिएको सीमानाका झुलाघाटमा पनि हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षणको काम भइरहेको छ। बैतडीमा तेस्रोपटक निषेधाज्ञा थप गर्दै जेठ ३१ गतेसम्म लम्ब्याइएको छ। कोरोना संक्रमणदर न्यूनीकरणका लागि निषेधाज्ञाको अवधि थपिएको जनाइएको छ। संक्रमणको जोखिम अझै कायमै रहेकोले निषेधाज्ञालाई निरन्तरता दिइएको हो।

निषेधाज्ञाको अवधिमा आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको छ। खाद्य पसल, तरकारी पसल बिहान ७ देखि ९ बजे सम्म मात्रै खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

यसैगरी निषेधाज्ञाको समयमा खाद्य पदार्थको मूल्य बढाएमा कारबाही हुने आदेशमा उल्लेख गरिएको छ। यसैगरी बैंक तथा वित्तीय संस्थाहरूले पनि आलोपालो मिलाई हप्तामा तीन दिनमात्रै दिनको २ घण्टा सेवा दिनुपर्ने आदेशमा उल्लेख गरिएको छ। 

विकास निर्माणको हक भने सम्बन्धित योजनाको प्रमुखको सिफारिशमा जिल्ला प्रशासन कार्यालयको अनुमतिमा मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ। 

निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभा सम्मेलन र बैठकहरूमा रोक लगाइएको छ भने विवाह ब्रतबन्ध जस्ता कार्यहरूमा थोरै मानिसको सहभागिता हुनुपर्ने उल्लेख गरिएको छ।

आदेशको उल्लंघन गरिएमा कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही हुने उल्लेख गरिएको छ। 

भारतसँग सीमा जोडिएका बैतडी जिल्लामा हाल ४९८ जना कोरोना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाकै कारण हालसम्म १५ जनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.