|

काठमाडौं : संसद् विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि गठित संवैधानिक इजलासकाे विवाद अन्त्य हुने देखिए पनि मुद्दाको सुनुवाइ भने करिब एक साता रोकिने भएको छ।

यसअघि गठित इजलासबाट दुई जना न्यायाधीशहरु बाहिरिने र वरिष्ठताको आधारमा नयाँ इजलास गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च बारका पदाधिकारी सहमत भएपछि विवाद अन्य हुने देखिएको हो।

मंगलबार बिहान  भएको छलफलपछि प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा इजलास गठन गर्न सहमत भएका थिए। संवैधानिक इजलासमा मंगलबार भएको सुनुवाइपछि नयाँ पेशी २३ गतेका लागि तोकिएको छ।

छलफलपछि संवैधानिक इजलास संचालन सम्बन्धी नियमावली २०७२ शंसोधनका लागि सर्वोच्च अदालतको पूर्ण बैठकबाट निर्णय गरेर न्याय परिषद्मा पेश गर्ने सहमति भएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले पत्रकारसँग भने। उनका अनुसार, एक हप्ताभित्रै नियमावली परिमार्जन गरिने छ।

राणाले प्रतिनिधि सभा विघटन लगायतका विषयमा परेका निवेदनमाथि सुनुवाइका लागि गत शुक्रबार इजलास गठन गरेका थिए। इजलासमा उनी सहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ थिए। संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा नभएर आफ्नो इच्छा अनुसार न्यायाधीश चयन गरेपछि निवेदक पक्षका वकिलहरुले असहमति जनाएका थिए। 

इजलासमा रहेका श्रेष्ठ नेकपा विघठनको फैसला गर्ने न्यायाधीश हुन्। आइतबारको सुनुवाइको क्रममा पुस ५ मा गरिएको प्रतिनिधि सभा विघटनपछिको सुनुवाइको क्रममा सहभागी केसीमाथि पनि प्रश्न उठेको थियो। वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश राणालाई पनि बिदामा बस्न सुझाएका थिए। सोमबार सर्वोच्चमा हलचल भएको थियो।

राणा, केसी र श्रेष्ठ बाहेकका संवैधानिक इजलासको रोस्टरमा रहेका न्यायाधीशहरुले इजलास बहिस्कार गर्नेसम्मको छलफल गरेपछि राणा वरिष्ठताका आधारमा आधारमा इजलास गठन गर्न तयार भएका हुन्।

वरिष्ठताको आधारमा इजलास गठन हुँदा अब राणासहित दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठ सहितको इजलास गठन हुनेछ। कार्की अघिल्लो पटक पनि इजलासबाट बाहिरिएका थिए।

केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला महान्यायाधीवक्ता भएकाले उनको निष्पक्षतामा प्रश्न उठेको थियो। त्यसपछि उनले इजलास छाडेका थिए। वरिष्ठता मै रहेका अर्का न्यायाधीश विश्वम्भर श्रेष्ठ पनि अघिल्लो पटकको फैसलामा पनि सहभागी थिए।

साथै परिवारका सदस्यलाई कोरोना संक्रमण भएकाले उनी आइसोलेसनमा रहेको बुझिएको छ। हरिकृष्ण र विश्वम्भर मध्ये एक जना बाहिरिएमा त्यस ठाउँमा ईश्वरप्रसाद खतिवडा रहनेछन्। उनीहरु दुवै बाहिरिएमा खतिवडा र आनन्दमोहन भट्टराई रहनेछन्।

संसद् पुर्नस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै पाँच विपक्षी दलले सर्वोच्चमा रिट दायर गरेका थिए। ​

 


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.