|

इलाम : फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ का छनोट चरणका बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण थालेको छ।

२३ खेलाडीसहित ३५ जनाकै पिसिआर टेष्ट नेगेटिभ आएसँगै टोलीले प्रशिक्षण अघि बढाएको हो। शनिबार इराकसँग बस्रा रंगशालामा मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली त्यहाँबाट स्थलमार्ग हुँदै आइतबार राति स्थानीय समयअनुसार करिब १० बजे कुवेत पुगेको थियो। कुवेत पुगेपछि गरिएको पिसिआर टेष्टमा नेगेटिभ रिपोर्ट आएको थियो। 

नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेई, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। कोरोना महामारीका कारण नेपालले दशरथ रंगशालामा खेल्नु पर्ने खेल न्यूट्रल भेन्यूका रुपमा कुवेत सारिएको थियो।

सोही समूहमा रहेको कुवेतसँग भने नेपालले यसअघि नै खेलिसकेको छ। चाइनिज ताइपेई पनि आइतबार कुवेत पुगिसकेको छ। नेपाल अहिले अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ। नेपालको ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो।

अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन। अष्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ। अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ। विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ।

फोटो साैजन्य एन्फा

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.