आयोगलाई उपेन्द्रको पत्र : दलको किताबबाट महन्थको नाम हटाइयोस्

|

काठमाडौं : संसद्‌मा चौथो दलको रूपमा स्थापित भएको मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको छ।

अध्यक्ष उपेन्द्र यादवले बहुमतको कार्यकारिणी समिति बैठकबाट अर्का अध्यक्ष महन्थ ठाकुरलाई कारबाही गरेपछि सो पार्टी दुई चिरा भएको हो। 

यद्यपि; अनौपचारिक विभाजन भएपनि यसले कानूनी रूपमा औपचारिकता भने पाएको छैन। 

सोमबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको थियो। 

पार्टी निर्णयविपरीत चलेको र पटक-पटक स्पष्टिकरण सोध्दासमेत बेवास्ता गरेपछि राजनीतिक दलको ऐन र पार्टीको अन्तरिम विधानअनुसार कारबाही गरिएको अध्यक्ष यादवले निर्वाचन आयोगलाई लेखेको पत्रमा उल्लेख छ। 

पत्रमा लेखिएको छ, ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ का (१), (२) र (३) बमोजिम हाम्रो दलको दर्ता किताबबाट नाम हटाइ अद्यावधिक गर्नुहुन अनुरोध गरिन्छ।’

संसदीय दलमा अध्यक्ष ठाकुरको बहुमत भएपनि कार्यकारिणी समितिमा अल्पमतमा छन्। यसअघि नै अध्यक्ष यादवको नेतृत्वमा बसेको बहुमतको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी भए स्वत: पार्टी सदस्यता समेत नरहनेगरी निलम्बन हुने निर्णय गरिसकेको थियो।

ठाकुर लगायतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर सरकारमा जाने सहमति गरेपछि कारबाही गरेको हो।

ओली नेतृत्वको सरकारबाट बहिर्गमन भोगेका अध्यक्ष यादव कुनै पनि हालतमा सरकारमा जान नहुने पक्षमा छन्। प्रधानमन्त्री ओलीले पुष ५ गते प्रतिनिधि सभा विघटन गरेदेखि नै जसपामा ध्रुवीकरण शुरू भएको थियो। 

प्रतिनिधि सभा पुनःस्थापना भएपछि पनि महन्थ–राजेन्द्र समूह ओली नेतृत्वको सरकारको निरन्तरतामा रहिरह्यो। तर, उपेन्द्र–बाबुराम समूह भने ओली नेतृत्वको सरकार ढाल्ने प्रयासमा थियो। 

राजनीतिक तरलताको कारणले ओली सरकार नै धरापमा परेको बेलामा अध्यक्ष ठाकुर पार्टी नै विभाजन गरेर सरकारमा जाने तरखरमा छन्। 

पार्टी विभाजन हुने पक्का भएपछि अध्यक्ष ठाकुरले साविकको राष्ट्रिय जनता पार्टी (राजपा) ब्यूँताउने पहल गरिरहेका छन्। कानूनी अड्चनको कारणले पार्टी विभाजन गरेर जाने पाउने अवस्थामा छैनन्।

ठाकुर र यादव पक्षमा विभाजित जसपामा केही दिनयता एक-अर्कोलाई स्पष्टीकरणको पत्र काट्ने र निष्कासन सम्मको कारबाही हुँदै आएको छ।

महन्थ पक्षले पनि यादवलाई निकालेको घोषणा गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.