|

सल्यान : दोस्रो लहरका रुपमा फैलिएको भेरियन्टसहितको कोरोना संक्रमणले गत वर्षको भन्दा धेरै नागरिक आफ्नो रोजीरोटी गुमाउन पुगेका छन्। पहिलो लहरभन्दा दोस्रो लहरबाट धेरै मानिसको मृत्यु हुन थालेपछि धेरै नागरिकले आफ्नो रोजगारी गुमाएर घरमै बस्न बाध्य भएका छन्।

ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरु कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेका छन्। तर कोरोना महामारीको क्रममा पनि गाउँमा सञ्चालित प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमले केही ज्याला मजदुरी गर्नेलाई राहत दिएको छ। कोरोनाको विषम परिस्थितिमा पनि स्थानीय तहहरुले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गर्दै दुई कार्यक्रम सञ्चालन गरिरहेका छन्।

मजदूरी गरेरै साँझ बिहान घरको चुलो बल्ने भएकाले जोखिम मोलेर भए पनि काममा लागि रहेको शारदा नगरपालिका-१२ की लक्ष्मी बुढाथोकीले बताइन्। डर मानेर मात्र भएन घर खर्च चलाउनै पर्‍यो। उनले भनिन्, ‘पैसा छैन भनेर छोराछोरीलाई भोकै राख्न सकिँदैन। खुवाउनलाई जोखिम उठाएर भए पनि काम गर्ने पर्‍यो।’

निषेधाज्ञा सुरु हुनुभन्दा पहिले जिल्ला बाहिर काम गरेको भएपनि निषेधाज्ञा पछि घरमै बस्न बाध्य भएको तिलक बस्नेतले बताए। दैनिक गुजारा चलाउन समस्या भएपछि काममा लागेको उनको भनाइ छ। उनले भने, ‘निषेधाज्ञाका कारण बाहिर जान पाइएन। घर खर्च  चलाउन केही न केही त गर्ने पर्‍यो। गाउँघरमै रोजगारी पाउँदा हामीजस्तालाई निकै सजिलो भएको छ।’ 

दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुका लागि यो कार्यक्रम निकै राम्रो भएको तिलबहादुर गिरीले बताए। घरमा लगाएको अन्नपातमा ६ महिना पनि पुग्दैन। त्यस माथि सबै बन्द भएपछि साह्रै अप्ठेरो भएको थियो। तर यो कार्यक्रम सुरु भएपछि घर खर्च चलाउन सजिलो भएको छ।

दुई कार्यक्रमले कोरोनाकै कारण रोजगारी गुमाएका र बेरोजगारलाई रोजगारी सिर्जना गरेको त्रिवेणी गाउँपालिका उपाध्यक्ष करुणा खड्काले बताइन्। गाउँपालिकाका सबै वडामा स्वास्थ्य मापदण्ड पालना गरी कार्यक्रम सञ्चालन गरी रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.