|

ओखलढुंगा :  ओखलढुंगा सामुदायिक अस्पतालमा पाँच बेड आइसियुसहित दुई भेन्टिलेटर खरिद गर्ने जेठ १६ को निर्णयलाई राजनीतिक दबाबपछि परिवर्तन गर्दै स्वास्थ्य मन्त्रालयले ओखलढुंगा सामुदायिक अस्पतालको सट्टा जिल्ला अस्पताल रुम्जाटारको लागि निर्णय गरेको छ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले २०७६ जेठ ३ गते सामुदायिक (अस्पताल मिसन) मा भेन्टिलेटर जडान गर्न स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयसहितको पत्र विघटित प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारमार्फत सोही दिन मन्त्रालयमा पत्र पठायो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ १४ गतेको चलानी नं. २३४९ को पत्रबाट अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले ५ आइसियु बेडसहित २ भेन्टिलेटर छिटो तरिकाबाट खरिद गरेर जडान गर्न र सृजित दायित्य प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयमार्फत भूक्तानी माग गर्न जेठ १६ गते परिपत्र गर्‍यो।

परिपत्रपछि कोभिड १९ केयर युनिटमा आइसियु र भेन्टिलेटर जडान हुने कुराले सदरमुकामबासी खुसी थिए। अस्पतालले पनि तुरुन्तै खरिद प्रकृया अघि बढाउने तयारी थालेको थियो। तर, मन्त्रालयले १ दिनपछि नै जेठ १७ गते सोमबार निर्णय परिवर्तन गर्दै ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुको सट्टा ओखलढुंगा जिल्ला अस्पतालमा स्थापना गर्ने परिपत्र गर्‍यो। जबकि रुम्जाटार अस्पतालले आइसियु र भेन्टिलेटर माग नै गरेको थिएन।

मन्त्रालय प्रवक्ता भन्छन् : यसबारे अनभिज्ञ छु

मन्त्रालयको दैनिक परिपत्र फेरिएको विषयमा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले यस विषमा आफू अनभिज्ञ भएको बताए। उनले टेलिफोनमा भने, विस्तृत कुरा डा. समिरलाई थाहा हुन्छ, सोध्नुहोला।’ सहप्रवक्ता समिर अधिकारीलाई पटक-पटक फोन र एसएमएस गर्दा पनि सम्पर्कमा आएनन्।

राजनीतिक दबाब

मन्त्रालयका एक अधिकृतले उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा परिपत्र फेरिएको नाम उल्लेख नगर्ने शर्तमा बताए। ‘प्रदेशदेखि माथिसम्मकै दबाब छ बोल्न सकिँदैन।’ प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बीर गुरुङको दबाबपछि उपप्रधानमन्त्री पोखरेलले दोस्रो परिपत्र गर्न लगाएको बताइएको छ।

पहलकर्ता निवर्तमान सांसद सुनुवार माधव नेपाल समूहमा लागेकाले ओली समूहले राजनीति गरेर परिपत्र नै फेर्न लगाएको जिल्लास्थित नेता कार्यकर्ताको आरोप छ।  एमालेका जिल्ला नेता दीपक फुँयालले जनघनत्व, सेवाका हिसाबले सामुदायिक अस्पतालमा आइसियु बेड तथा भेन्टिलेटर अत्यावश्यक र शुरुको निर्णय सही भएको बताए।

उनले भने, ‘२० बेडको कोभिड–१९ केयर युनिट पनि भएकाले सामुदायिक अस्पतामा अत्यावश्यक थियो, पहुँच देखाउनेले जिल्ला अस्पताललाई थप बजेट ल्याउनुपर्‍थ्यो भएको कटाउनु तुच्छ राजनीति हो।‘

रुम्जाटारमा सरकारी अस्पताल भए पनि सेवा प्रभावकारी नभएपछि १५ शैय्या बेडको उक्त अस्पतालमा बिरामी न्यून मात्रै जाने गरेका छन्। अक्सिजन प्लान्टका लागि आएको बजेट पनि फिर्ता गएको थियो। अर्थ मन्त्रालयले यो वर्ष फेरि २५ लाख निकासा गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.