|

काठमाडौं : दुई दशकपछि उपत्यकावासीले पिउन पाएकाे मेलम्ची पानी अब फेरी दुई महिनासम्म पिउनबाट बञ्चित हुँदै छन। काठमाडौं उपत्यकामा आगामी असार १ देखि करिब दुई महिना पानी नआउने भएको छ।  

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेयल) प्रवक्ता प्रकाश कुमार राईले पानीको सुङमार्ग परीक्षण गर्नुपर्ने भएकाले पानी बन्द गर्न लागेको बताउँछन्। जसकारण अब केयुकेयलका दुई लाख ३० हजार ग्राहकले भनेजति पानी पिउन नपाउने भएका छन्। 

मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार पहिला नै सुरुङमा पानी हालेपछि फेरि त्यो पानी फालेर प्राविधिक सहितको टोलीले सुरुङ परीक्षण गर्नुपर्ने थियो।

तर, पानी पठाएकाे तीन महिनासम्म पनि परीक्षण गरिएन। उनले भने, ‘प्राविधिक सहितको टोलीले ४ वटा फ्लसिङ टनेलबाट पानी बाहिर फाल्नुपर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो, पूरै खाली गरेर समस्या भएको वा नभएको भनी अध्ययन गर्नुपर्ने थियो,तर गरिएन, होल्ड गर्नुपर्ने बाध्यता आयो।’ 

प्रधानमन्त्रीको उद्घाटनको दबाबले त्यस बेला परिक्षण नगरिएको भन्ने बाहिर सूचना सुनिए पनि सूचना अधिकारी पन्तले उद्घाटनको दबाब नभई सुख्खा यामका कारण पानी पठाइएको दाबी गरे।

‘सुख्खा यामका कारण उपत्यकामा खानेपानीको समस्या भएपछि हामीले त्यो बेला तत्काल परिक्षण नगरी पानी पठाएका हौँ,उद्घाटनको दबाबले नगरेकाे होइन्,’उनले भने।

अब करिब दुई महिना पानी उपत्यकामा नआउने उनको भनाई छ। भने, ‘सुरुङ खाली गर्न १५ दिन जति लाग्छ, पानी खाली गरेपछि विज्ञ टोलीले अध्ययन, अनुसन्धान गर्ने छन, त्यसमा पनि समयमा लाग्छ, समस्या देखिए तत्कालै समाधान गर्नुपर्छ, परीक्षण सकिएपछि पनि पानी भर्न समय लाग्छ, त्यसैले सबै काम सक्न दुई महिनाजति लाग्ला।’

एउटै पानी गरियो तीन पटक उद्घाटन, तर परीक्षणलाई प्राथमिकता दिइएन

सरकारले २०७७ असार महिनामा सुरूङ परीक्षण गर्ने क्रममा दुर्घटना भएको थियो। त्यस क्रममा रहेको सुरुङको गेट फुट्दा इञ्जिनियर सतिश गोइत र सवारी चालक राधाकृष्ण थापामगर बेपत्ता भएका थिए। इञ्जिनियर गोइतको शव भोलिपल्ट फेला परेको थियो भने चालक थापामगर अझै बेपत्ता छन्।

परामर्शदाता दोर्जे पेम्बा र इञ्जिनियर शेखर खनाल घाइते भएका थिए। तर,सरकारले त्यो गल्तीलाई सच्याउन सकेन। प्राविधिक रुपले सुरुङको परीक्षण नगरी तीन -तीन महिनासम्म उपत्यकामा पानी पठाइयो। बरु मेलम्चीको पानी तीन पटक सम्म उद्घाटन भने गरियाे। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी खसालेका थिए। फेरी चैत १५ गते केयुकेयलका निर्देशक मिलन शाक्य, काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा लगायतले एकसाथ चुच्चेपाटीको महाँकाल चौरमा भण्डारण गरिएको पानीको चाबी (पानीको भल्ब) खोलेर पानी वितरणको शुभारम्भ गरे।

त्यसदिन चावहिल आसपास क्षेत्रमा पानी वितरण गरिएकाे थियाे। फेरि त्यसको पाँच दिनपछि अर्थात् चैत २० गते मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन कार्यक्रममा आयोजना गरी राष्ट्रपति विद्यादेवी भण्डारीले पानीको औपचारिक उद्घाटन गरिन्। त्यसपछि मेलम्चीबाट दैनिक १७ करोड लिटर ल्याएर उपत्यकाका विभिन्न ठाउँमा वितरण भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.