|

काठमाडौं : सरकारले ‘कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था बनेको अध्यादेश २०७८’ लागू गरेकाे एक सातामा निषेधाज्ञा उल्लंघन गर्ने तीन हजार बढी व्यक्ति कारबाहीमा परेका छन्।

प्रहरी प्रधान कार्यालयकाअनुसार देशभर गत १४ गतेदेखि हालसम्म जारी निषेधाज्ञा उल्लंघन गर्ने तीन हजार दुई सय १४ जना व्यक्तिलाई कारबाही गरी जरिवाना गराइएको हाे।

कारबाहीमा पर्नेमा निषेधाज्ञालाई मिचेर पसल खोल्ने, जथाभावी हिँड्डुल गर्ने लगायतका छन्। जरिवानाबाट चार लाख ३८ हजार राजश्व उठेको छ। यही अवधिमा २४ हजार ६ सय ८० जना निषेधाज्ञा उल्लंघन गरेका व्यक्तिलाई सम्झाइ बुझाई छोडेको प्रधान कार्यालयका प्रवक्ता बसन्त बहादुर कुवँरले जानकारी दिए। 

१४ हजार बढी सवारीसाधन कारबाही

एक सातामा देशभर निषेधाज्ञा उल्लंघन गर्ने १४ हजार तीन सय ५० सवारीसाधन कारबाही गरिएको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ। जसमा चार हजार ७ सय ७० गाडी र ९ हजार ८ सय ७८ मोटरसाइकल रहेका छन्। सबै भन्दा बढी जेठ १८ गते सवारीसाधन कारबाहीमा परेका थिए। साे दिन दुई हजार आठ सय ७४ वटा सवारीसाधन कारबाहीमा परेका थिए। 

के छ अध्यादेशमा कारबाहीकाे व्यवस्था ?

अध्यादेशमा निषेधाज्ञा उल्लंघन गर्नेलाई दण्ड र जरिवाना गरिने व्यवस्था छ। काठमाडौं उपत्यकामा १४ गतेदेखि कार्यान्वयनमा आएको थियो। कसैले अध्यादेश बमोजिमको काम गर्न अवरोध सिर्जना गर्न नहुने र गरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म दुवै जरिवाना जरिवाना हुने उल्लेख छ।

अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना गर्नुपर्ने, नगरेमा ६ महिना सम्म कैद, ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने अध्यादेशमा उल्लेख छ। त्यस्तै, अध्यादेश बमोजिम दिइएको आदेश व्यक्तिले उल्लंघन गरेमा १ लाख र संस्थाले गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ।

मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय र अत्यवश्यक कामबाहेक जथाभावी हिँड्डुल गर्नेलाई पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना लाग्ने छ। त्यस्तै, सम्बन्धित निकायको पास बिना सवारीसाधन चलाएकाे पाइएमा दुई हजारदेखि पाँच हजार सम्म जरिवाना हुने अध्यादेशमा उल्लेख छ। 

‘निषेधाज्ञा कडाइ गरिरहेका छौं’

जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले रोक लगाइएको खाद्यन्न पसल,सवारीसाधन वर्कशप लगायत केही क्षेत्रका पसलहरु शुक्रबारबाट सञ्चालन गर्ने अनुमति दिएको छ। यससँगै पहिला भन्दा अहिले सर्वसाधारणको भीड चोकचोकमा बढेको देखिन्छ।

सडकमा सवारीसाधनको चाप समेत बढेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अहिले पनि जारी निषेधाज्ञा कडाई नै गरिरहेको बताए। उनले भने,‘खाद्यान्न, तरकारी, फलफूल, दूध, मासु, खानेपानीलगायत केही पसलहरु बिहान ९ बजेसम्म सञ्चालन गर्न दिइएको छ,अरु सबैमा पहिलेजस्तै रोक लगाइएको छ,कडाई नै गरिरहेका छौ, निषेधाज्ञा खुकुलो भएको सुनेर सवारीसाधन बाहिर निस्किएका होलान्। तर, धमाधम कारबाहीमा परिरहेका छन्।’

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा प्रभावकारी भएकाे उनको भनाई छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुवँरले पनि कडाईका साथ  नियमित चेकजाच र अनुगमन गरिरहेको बताए।

‘हाम्रो तर्फबाट पनि कडा रुपले चेकजाँच र अनुगमन गरिरहेका छौँ, देशभर ४८ हजार भन्दा बढी प्रहरी परिचालन गरेका छौ, निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही गरिरहेका छौँ,’उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.