|
प्रतिकात्मक तस्वीर

मकवानपुर : जिल्लाको एक स्थानीय तहको ३३ वर्षीया सानुमाया भ्लोन (नाम परिवर्तित) स्टिल हालेको खुट्टा खोच्याउँदै दैनिक भागदौड गर्छिन्। प्रत्येक दिन रातपरेपछि उनलाई ज्यान जोगाउन कुन कुनामा लुक्न जाऊँ? भन्ने चिन्ता हुन्छ।

 उनको यो चिन्ताको कारण हो उनको आफ्नै श्रीमान्। जसले विगत ४ वर्षदेखि सानुमायालाई शारीरिक र मानसिक रुपमा यातना दिइरहेका छन्। यातनाको हद त त्यतिबेला पार भयो जतिबेला श्रीमानले उनको हात र खुट्टा दुवै भाँचिदिए। अहिले सानुमाया स्टिल हालेको हात र खुट्टाको साहारामा बाँचिरहेकी छिन्। तर पनी उनले श्रीमानले दिने यातनाबाट छुट्कारा पाउन सकेकी छैनन्।

घर, परिवार, समाज र श्रीमानकै डरले गर्दा प्रहरीकोमा उजुरी गर्न जान नसकेकी उनलाई अहिले भने कोरोना नियन्त्रणको लागि भएको निषेधाज्ञाले रोकेको छ। हुन त यसअघि पनि उनी जिल्ला प्रहरी कार्यालय मकवानपुर नधाएकी होइनन् तर त्यसबाट पनि केही निकास नपाएकी उनले अहिलेको जारि निषेधाज्ञामा थप यातना सहनुपरेको छ। बन्दले गर्दा श्रीमान दिनभर घर बस्ने, तास खेल्ने र मादक पदार्थ सेवन गर्न थालेपछि सानुमायाले प्रत्येक दिन गाली र पिटाई दुवै खानु परिरहेको छ।

‘मलाई उहाँले अहिलेदेखि होइन यातना दिन थाल्नु भएको त, बिहे भएदेखि नै मैले यो सबै सहँदै आएकी हुँ। ६ महिनाअघि उहाँले पिटेर मेरो हात खुट्टा नै भाँचिदिएपछि मात्रै हाम्रो झागडा प्रहरीसमक्ष पुग्यो। उहाँलाई प्रहरीले केही समय जेलमा पनि राख्यो, फेरि श्रीमानलाई जेलमा देख्न नसकेर आफैँले बाहिर निकालेँ तर अहिले मलाई फेरि दैनिक कुटपिट गर्नुहुन्छ’ उनले भनिन्।

यातनाका कारण पेटको बच्चा फालियो

सानुमायाले श्रीमानले दिएको यातना सहन नसकेर केही दिनअघि मात्रै पेटमा आएको बच्चा फाल्नु परेको थियो। गाउँघर र स्थानीय तहबाट केही सहयोग नपाएकी उनी जारी निषेधाज्ञाले गर्दा जिल्लाको सदरमुकाममा रहेको प्रहरी कार्यालयसम्म आउन नपाएको बताउँछिन्।

‘एक त म राम्रोसँग हिँड्न पनि सक्दिनँ त्यसमाथि गाडी  पनि चलेको छैन। आफूले चिनेको जानेको पनि कोही छैन। यस्तोमा कस्को सहयोग माग्न कँहा जानु? त्यसैले कहिले बन्द खुल्ला र प्रहरीलाई आफ्नो पीडा सुनाउनु जस्तो भाको छ’ उनले भनिन्।

कैयौँ महिला हिंसा सहेर बस्न बाध्य 

सानुमाया एक प्रतिनिधि पात्र मात्रै हुन्। गत एकमहिना देखि जिल्लामा जारी निषेधाज्ञाले गर्दा यस्ता धेरै पिडितहरु हिंसा सहेर बस्न बाध्य बनेका छन्। संख्यात्मक रुपमा हिंसाजन्य घटना घटेको देखिए पनि बन्दको कारण उजुरी निकायसम्म आउन नसक्दा धेरै हिंसाको शिकार बनेर बसिरहनु परेको अधिकारकर्मीहरुको भनाइ छ। बन्दले गर्दा काम नहुनु, आर्थिक अवस्था कमजोर हुनु र सबैजना घरमा हुनुले अझ धेरै हिंसाको घटना बढिरहेको अधिकारकर्मीहरु बताँउछन्।

उद्धारका लागि दैनिक चार जनाको फोन

माइती नेपाल मकवानपुरको संयोजक माया लामाले दैनिक  ३-४ जनाले आफू हिंसामा परेकोले उद्वार गर्नु भन्दै फोन गर्ने गरेको सुनाइन्। उनले जिल्लाको विभिन्न स्थानबाट हिंसा भोगिरहेकाहरुले फोन गरे पनि उनीहरुलाई सहयोग गर्न भने असमर्थ रहेको बताइन्। ‘फोन त आइरहेको हुन्छ तर बन्दको कारण न हामी उहाँहरुलाई सहयोग गर्न त्यहा जान सक्छौँ न त उहाँहरुलाई नै यहाँ बोलाउन सक्छौँ। फोनमै यस्तो गर्नु यसरी आफ्नो ख्याल गर्नु भनेर सम्झाउछौँ। बन्द खुलेपछि आएर उजुरी दिनु भनेर बस्न बाध्य छौँ हामी’ उनले भनिन्।

लामाले कोरोना नियन्त्रणको लागि भएको बन्दले गर्दा हिंसामा अझै धेरै वृद्धि भएको दाबी गरिन्। उनले बन्दले गर्दा काम नहुनु, आर्थिक अवस्था कमजोर हुनु र घरमा नै सबैजना जम्मा हुनुले हिंसालाई अझ बढाएको बताइन्। बन्द लम्बिँदै गएमा हिंसाको शिकार बनेकाहरूमा मानसिक समस्या देखिनसक्ने पनि लामाको भनाइ छ।

बन्दले प्रहरीकोमा आउने ह्वात्तै घटे

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्यांकलाई हेर्दा मकवानपुरमा निषेधाज्ञा लागू भएपछि ५० प्रतिशतभन्दा धेरैले हिंसाको संख्यामा कमी आएको छ। मकवानपुरमा गत वैशाख १९ गतेदेखि निषेधाज्ञा जारी छ।  निषेधाज्ञा हुनुअघि चैत एक महिनामा ४४ वटा घरेलु हिंसा, १० वटा जवरजस्तीकरणी र एउटा बहुविवाहको मुद्वा दर्ता भएको थियो।

आधा महिनादेखि निषेधाज्ञा लागू भएको वैशाखमा घरेलु हिंसाको मुद्दा दर्ता गर्ने संख्या आधाले घटेर २१ मा झरेको छ  भने जबरजस्तीकरणीको मुद्दा पनि ६ वटा मात्रै परेको छ।

यी मुद्दा पनि अधिकांश वैशाख १९ गते निषेधाज्ञा हुनुअघि परेको हो। त्यस्तैगरी जेठ महिनाको २० गतेसम्म ४ वटा मात्रै घरेलु हिंसा परेको छ भने ३ वटा जबरजस्तीकरणीको घटना प्रहरीकोमा आइपुगेको छ।

संख्यात्मक रुपमा हिंसाजन्य घटनामा कमी आउनु राम्रो भए पनि बन्दको प्रभावले पीडितहरू न्यायलयसम्म आउन नसक्नु भने गम्भीर कुरा हो। जिल्ला प्रहरी कार्यालयको महिला सेलमा चालु आर्थिक वर्षको वैशाखसम्ममा जबरजस्तीकरणीको ५३, जबरजस्तीकरणी उद्योगको ५ वटा  र बहुविवाहको ८ वटा मुद्दा दर्ता भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.