|

बर्दिया : अमेरिकामा रहेका नेपालीहरूले कोभिड अस्पताललाई झण्डै १३ लाख रुपैयाँ सहयोग गरेका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका घर भई हाल अमेरिकामा बस्ने ६ परिवारका व्यक्तिहरूले कोरोनाका बिरामीका लागि सहयोग पुग्ने अपेक्षासहित १२ लाख ५५ हजार ५० रुपैयाँ कोभिड अस्पताललाई सहयोग गरेका हुन्।

ठाकुरबाबा नगरपालिकाले रानीपुरमा सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पतालका लागि ३ वटा आइसियु बेड खरिद गर्न सहयोग रुप उक्त रकम उपलव्ध गराएको जनाइएको छ।

बर्दियाको ठाकुरबाबा नगरपालिका १ घर भई अहिले युएसए बस्ने छबिलाल लामिछाने र यसोदा लामिछानेले आइसियु बेड खरिदका लागि ६ लाख ११ हजार ४ सय रुपैया, वडा नम्बर ८ का देबिराम शर्मा र रमा कुमारी शर्माले १ लाख १३ हजार रुपैया, वडा नम्बर ३ घर भएकी दीपा शर्माले १ लाख १३ हजार रुपैयाँ सहयोगस्वरूप उपलब्ध गराएको जनाइएको छ।

यस्तै, ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ घर भई हाल युएसए बस्ने जोहन ढकाल र रचना ढकालले २ लाख ८२ हजार ५ सय रुपैयाँ, वडा नम्बर २ बलातिका टीका गौतम र गोमा गौतमले १ लाख १३ हजार रुपैयाँ र वडा नम्बर ७ का भुपेन्द्र ढकाल र प्रशंसा ढकालले २२ हजार ६ सय रुपैयाँ गरी १२ लाख ५५ हजार ५ सय रकम उपलव्ध गराएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए।

महामारीको यो विषम परिस्थितिमा कोभिडका बिरामीहरुलाई उपचारका लागि आवश्यक पर्ने अक्सिजनको अभावलाई कम गर्नका लागी आइसियु बेडले ठुलो सहयोग पुग्ने उनले बताए। आइसियु बेड हस्तान्तरण गर्ने व्यक्तिका परिवारलाई कोभिड अस्पतालमै ठाकुरबाबा नगरपालिकाले खादा ओडाएर सम्मान गरेको छ।

पछिल्लो समय कोरोना संक्रमित बढ्न थालेपछि कोभिड प्रथामीक उपचार केन्द्र पनि सञ्चालनमा ल्यायो। अहिले कोभिड अस्पताललाई विभिन्न व्यत्ति तथा संघसंस्थाहरुले सहयोग गरिरहेका छन्। कोरोनाको दोस्रो लहर सुरु भएयता मात्रै ठाकुरबाबा नगरपालिका ६ सय ७६ जनामा कोरोना पुष्टि भैसकेको छ। अहिले पालिकाले परीक्षणको दायरालाई अझ बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.