मिल सञ्‍चालकले नै बदमासी गरिरहेको खुद्रा व्यापारीको आराेप

|

काठमाडौं : तेल हाम्रो खानाका लागि नभई नहुने। तरकारी पकाउन या त दाल झान्न नै किन नहोस्‌, तेल बिना खाना स्वादिलो नै हुँदैन। अझ, तेल बिना तारेको र भुटेको खानेकुराका परिकार कल्पना गर्न पनि सकिन्न।

त्यसैले हाम्रो भान्छाभित्र हरेक छाक खाना पकाउन तेल प्रयोग हुन्छ। तर, भान्छामा अपरिहार्य त्यही तेलको मूल्य अहिले अस्वभाविक बढेको छ। तेलको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन्।

निषेधाज्ञा हुनअघि एक लिटरकाे २४० पर्ने तेलको मूल्य अहिले ३०० रुपैयाँसम्म पर्न थालेको उपभोक्ताले बताएका छन्। बानेश्वरकी निर्मला बस्नेत अहिले तेलको प्रतिलिटर मूल्य ३०० रुपैयाँ पुगेको बताउँछिन्।

‘निषेधाज्ञा हुनुअघि २३० रुपैयाँ रहेको तेलको मूल्य अहिले ३०० रुपैयाँसम्म पुगेको छ। उतैबाट बढेर आएको छ। निषेधाज्ञाले होला, बढाएको छ। हामीले पनि त्यहीअनुसार जानुपर्छ भन्छन्,’ निर्मला भन्छिन्, ‘एकदमै गाह्रो भएको छ। तेलमात्र होइन, सबै खाद्य वस्तुको भाउ बढेको छ। त्यसैमाथि लकडाउन।’

एकातिर कोरोनाको कहर, त्यसमाथि जारी निषेधाज्ञाले नागरिकको आम्दानी शून्यप्राय छ। यस्तो बेलामा खानाका लागि प्रयोग हुने खाद्य वस्तुमा भएको मूल्य वृद्धिले नागरिक निराश मात्रै छैनन्, बिहान बेलुका चुलो बल्ने हो कि होइन भन्ने चिन्तामा छन्। 

नेपाल खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रमान बज्राचार्य पनि अहिले अस्वभाविक मूल्यवृद्धि भएको बताउछन्। अहिले निषेधाज्ञाको फाइदा उठाएर तेलमिलहरूले बदमासी गरिरहेको र त्यसमा सरकारको समेत मिलोमतो हुने गरेको उनको आरोप छ।

'वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग विदेशमै महंगो भएको छ। हाम्रोमा पनि भइहाल्छ भनेर व्यापारीले बोल्ने कुरा बोलिरहेको छ। ठूला व्यापारीका पक्षमा विभाग छ। तेलवालाहरूको पनि जति कम्पनी छ सबैको एउटा एसोसिएशन छ। सबै मिलेर एकैपटक भाउ बढाइदिन्छ। यो सिन्डिकेट होनी। उनीहरू सबै सेटिङमा चलेका छन्।' उनले थाहाखबररसँग भने।

यसरी एका-एक बजारमा खाद्य वस्तुमा भएको मूल्यवृद्धिले दैनिक ज्यालादारी गरेर खानेहरूलाई निक्कै सकस परेकाे छ। उनीहरूले एक दिनभरमा कमाएको ज्यालाले २ छाक खान नपुग्नेगरी मूल्य आकासिएको छ।

निषेधाज्ञाका बेला मूल्य घटाएर उपभोक्तालाई सहज बनाउनुपर्नेमा मूल्य बढाएर लुटको व्यपार भइरहेको उपभोक्ता अधिकारवादीहरू बताउछन्। उपभोक्ता हित संरक्षण मञ्च नेपालकी उपाध्यक्ष सूवर्णप्रभा गुरागाईँ भान्छामा तेलले तरकारी भुट्ने भन्दा पनि बढि मन भुटिएको आभास हुन थालेको बताउछिन्। उनले स्थानीय देखि केन्द्र सरकार नै व्यापारीको पक्षमा रहेको भन्दै अनुगमन नै गर्न नचाहेको बताइन्।

‘मैले किन बजार अनुगमन भएन ? भनेर मध्यपुर ठिमी नगरपालिकाका मेयरलाई सोधे। १ सय ८० को तेल २ सय ८० पुगिसक्यो, किन चुप लाग्नु भएको छ भन्दा उहाँले मलाई व्यापारीहरू बिच्किन्छन्। अहिलेसम्म त उपभोक्ताले खान पाएका छन्। हामीले बजार अनुगमन गरेर बिच्कायौँ भने, भोलि व्यापारीले अभाव सिर्जना गराई दिन्छन् र उपभोक्ताले यो पनि पाउदैनन् भन्ने कुरा भएर हामीले उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारीसँग सबै नगरपालिकाका मेयरहरूले छलफल गरेर बजार अनुगमन नगरेको भनेर भन्नुभयो।’ उनले भनिन्।

यता बजार अनुगमन तथा मूल्य नियन्त्रण गर्नु पर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भने निषेधाज्ञाका कारण प्रभावकारी अनुगमन गर्न नसकिएको बताउँछ। मन्त्रालयकी उपसचिव उर्मिला केसी आफूकहाँ तेलको मूल्यवृद्धि भएको गुनासो नआएको बताउछिन्। तर उनी तेलमा मूल्यवृद्धि भएको भने स्वीकार गर्छिन्। २–३ महिना यता तेलको मूल्यवृद्धि भइरहेको उनी भन्छिन्।

'मूल्यवृद्धि अचाक्ली नै भएको थाहा छ। किन यस्तो भयो भन्दा, कच्चा पदार्थको मूल्य बढेका कारण मूल्य बढेको भन्ने कुरा आइरहेको छ। ३ महिना जति भयो तेलको मूल्य बढेको मैले पनि महशुस गरेकी छु। तर मलाई कहि कतैबाट पनि मूल्य बढेको भनेर गुनासो आएको छैन्।' केसीले थाहाखबरसँग भनिन्। उनले यसबारे आफूले भोली नै मन्त्रालयको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग छलफल गर्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.