|

झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ हुँदा स्थानीयले अकालमै ज्यान गुमाउनु परिरहेको छ।

सर्पदंशका बिरामीको उपचारका लागि गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा आवश्यक जनशक्ति र भौतिक व्यवस्थापनको कार्य पूरा गरिसकेको छ। तर, स्वास्थ्य विभागको अनुमति र व्यवस्थापन स्वीकृति आइनसकेकाले तत्काल उपचार सेवा सुरु गर्न नसकिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले बताए।

यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको पहलमा गाउँपालिका अध्यक्ष अञ्जार आलमले सर्पदंश उपचार केन्द्र स्थापनाको तयारी जुटेका छन्। प्रतिनिधि सदस्य लिङदेनले संसद् कोष र अध्यक्ष आलमले गाउँपालिकाबाट उपचार केन्द्रका लागि अनुमानित २० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्। सोही बजेटबाट पहिलो चरणमा आवश्यक जनशक्ति र भौतिक व्यवस्थापन कार्य पूरा गरेको स्वास्थ्य शाखा प्रमुख यादवको भनाइ छ।

गाउँपालिकाले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा गत पुस २७ मा नै सर्पदंश उपचार केन्द्रको स्वीकृतिका लागि पत्र पठाइसकेको छ। त्यहाँबाट स्वीकृत नआउँदा उपचार केन्द्र सुरु गर्न ढिलाइ भइरहेको उनको भनाइ छ। त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र बनियानी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रवि ओझाका अनुसार उपचार केन्द्रका लागि गाउँपालिकाले सबै तयारी पूरा गरिसकेको बताए।

गत वैशाख ११ गते इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट आएको चिकित्सकको टोलीले उपचार केन्द्रको स्थलगत अनुगमन गरिसकेको बताउँदै उनले भने, 'महाशाखाका डा. महेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएकोले स्वीकृति हुन केही ढिलाइ भएको हो।' डा. गिरी सङ्क्रमणमुक्त भए लगतै फाइल स्वीकृत गरी पठाइदिने र त्यसपछि उपचार केन्द्र सञ्चालन ल्याउने उनको भनाइ छ।

एक सातामा दुईजनाको मृत्यु

उपचार केन्द्रको अभावले एक साताभित्रै गाउँपालिकामा विषालु सर्पको डसाइबाट दुईजनाको मृत्यु भएको छ।

कचनकवल-७ खेरिबारीकी ४३ वर्षीया रामकुमारी कुँवरको गत शनिवार बिहान मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। शनिवार बिहान ८:२५ बजे घरभित्रै सरसफाइको काम गरिरहेका बेला मुसाले बनाएको दुलोभित्र रहेको विषालु सर्पले उनको खुट्टामा डसेको थियो। सर्पले सेपछि परिवारका सदस्यले उनको खुट्टालाई ट्युबले बाँधेका थिए। ट्युबले बाँधेको देखेपछि स्थानीयले तत्काल खोल्न लगाएर उपचारका लागि मोटरसाइकलमा चारआलीस्थित सर्पदंश उपचार केन्द्रले लगेका थिए। उपचार केन्द्रमा पुग्दा ९:१० बजे भएको थियो। त्यस अवधिमा उनको शरीरभरि विष फैलिसकेको भनिएकाले उपचार केन्द्रमा आइसियु नहुँदा थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको थियो।

यस्तै‚ जेठ १८ गते परिवारजनले उपचारका लागि ढिलासुस्ती गराउँदा कचनकवल गाउँपालिका-४ स्थित फर्कागाछीका ५९ वर्षीय चवनलाल गणेशको गोमन सर्पको डसाइबाट मृत्यु भएको थियो। नजिकैको खेतबारीमा गाईबस्तु चराउन गएका गणेशलाई परालको कुनिउँमा बसेको सर्पले डसेको थियो। उनलाई उपचारका लागि सर्पदँश उपचार केन्द्र नलगेकी सुरुमा धामी झाँकीकहाँ लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि मात्र सर्पदंश उपचार केन्द्र लैजाँदा उनको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.