भन्छन्‌ - 'झुटो प्रचार गरियो'

|

जुम्ला : हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले कोरोना महामारीको स्वास्थ्य मापदण्ड पालना नगरेको आरोप लागेको छ। कोरोना संक्रमित अध्यक्ष शाहीले स्वास्थ्य मापदण्ड विपरीत काम गरेको आरोप लागेको हो।

गाउँपालिका अध्यक्ष शाहीलाई यही जेठ ९ गते कोरोना (कोभिड–१९) संक्रमणको पुष्टि भएको थियो। कोरोना पुष्टि भएर होम आइसोलेसनमा बसेका शाही संक्रमणमुक्त नहुँदै जेठ १७ गते कर्णाली प्रदेश सरकारसँग योजना माग्ने भन्दै गाडी चढेर सुर्खेत पुगेका थिए। 

सुर्खेत पुगेका शाहीले कोरोना पुष्टि भएको १० औं दिन (१८ गते) कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मालाई भेटेको तस्वीर सामाजिक सञ्‍जालबाट सार्वजनिक भएको थियो।

जेठ ९ गते अध्यक्ष शाही र वडाध्यक्ष मुनबहादुर बुढालगायत १० जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको हिमा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रतन रावतले जानकारी दिए। ‘उहाँहरूमा ऐन्टीजेन विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो,’ उनले भने, ‘कोरोना पुष्टि भएपछि उहाँहरू होम आइसोलेसनमा बस्नु भएको थियो।’

अध्यक्ष शाही कोरोना पुष्टि भएको ९ दिनमै प्रदेश राजधानी सुर्खेतमा गएको भन्ने खबर पाएको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले बताइन्। ‘अध्यक्ष, जेठ ९ गते कोरोना संक्रमित भएपछि मलाई अध्यक्षको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर होम आइसोलेसनमै बस्नु भएको थियो,’ उनले भनिन्, ‘योजना माग्ने भन्दै प्रदेश जानुभयो भन्ने खबर आएको थाहा पाएँ।'

गाउँपालिका अध्यक्ष शाहीले भने आफू संक्रमित भएको १४ दिनसम्म होम आइसोलेसनमा बसेको बताए। रिपोर्ट नेगेटिभ आएपछि मात्रै प्रदेश राजधानीमा आएको उनले दाबी गरे। साथै, संक्रमण भएको ९ दिनमै प्रदेश राजधानी सुर्खेत आएको भन्ने प्रचार झुठ भएको पनि उनले दाबी गरे। 

कोरोना संक्रमित गाउँपालिकाका अध्यक्ष शाही अनेरास्ववियु (क्रान्तिकारी ) कर्णाली प्रदेशका संयोजक अमरजंग शाही, नेकपा (माओवादी केन्द्र) जुम्लाका अध्यक्ष वीरबहादुर कुँवरसहित एउटै गाडीमा कर्णाली प्रदेश पुगेका थिए। उनीसँगै कोरोना पुष्टि भएका अन्य नागरिकहरू गाउँपालिकाले बनाएको आइसोलेसनमा बसेका थिए।

अध्यक्ष शाही होम आइसोलेसनमा बस्दा पनि आइसोलेसनको बसाइ कुनै भोज/भतेरभन्दा कम नभएको अध्यक्ष शाहीका एक छिमेकीले बताए। ‘दैनिक मासु किन्ने र साँझ पार्टी गर्ने गर्थे,' उनले भने, ‘ठूलाबडालाई लागेको कोरोना अरूलाई नसर्ने रहेछ कि क्या हो!’

जुम्लामा कोरोना संक्रमित बढ्दै गएका कारणले निषेधाज्ञा जारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.