|

काठमाडाैं : नेपालले सोमबार तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी जोर्डनविरुद्ध जारी विश्वकप छनोटमा दोस्रो पटक प्रतिस्पर्धा गर्दै छ।

अवे खेलमा ३-० ले पराजित भएको नेपालका लागि यो होम खेल हुनु पर्ने हो तर कोरोना महामारीका कारण न्युट्रल भेन्युका रूपमा कुवेतमा प्रतिस्पर्धा गर्दा मौसम नेपालका लागिभन्दा जोर्डनका लागि नै अनुकूल हुने छ। तर नेपाल आत्मविश्वासका साथमा मैदान उत्रने प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जानकारी दिए।

जोर्डनविरुद्ध नेपालले अहिलेसम्म तीन पटक प्रतिस्पर्धा गर्दा जित निकाल्न सकेको छैन।  नेपालले जोर्डनविरुद्ध सर्वाधिक खराबसँगै राम्रो नतिजा निकालेको थियो।

जोर्डनको घरेलु मैदानमा २३ जुलाई २०११ मा ९-० को हार भोगेको थियो भने त्यसको पाँच दिनपछि २८ जुलाई २०११ मा दशरथ रंगशालामा भएको खेलमा नेपालले १-१ को बराबरी खेलेको थियो।

जुन नेपालले जोर्डनविरुद्ध निकालेको सर्वाधिक राम्रो नतिजा हो। पछिल्लो पटक भने नेपालले जारी विश्वकप छनोटकै दौरान १५ अक्टोबर २०१९ मा जोर्डनमै भएको खेलमा ३-० को हार भोगेको थियो। त्यसैले यो पटक नेपाल जितविहीन यात्रा टुंग्याउन मैदान उत्रँदै छ।

प्रशिक्षक अलमुताइरीले नेपालको कुनै सम्भावना नरहेको भन्ने खालका कुराहरूमा आफूलाई विश्वास नलाग्ने भन्दै फुटबलमा जसले जसलाई पनि हराउन सक्ने भएकोले नेपाल जित्नकै लागि मैदानमा उत्रने बताए।

अलमुताइरीले भने, 'हामीले म्यासेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं, त्यसैले नेपालले जोर्डनलाई हराउन नसक्ने भन्ने हुन्न’, उनले थपे, ‘जोर्डन बलियो टोली हो तर हामीले उक्त खेलका लागि आफ्नो तर्फबाट पर्याप्त  मिहिनेत गरिरहेका छौं।'

प्रशिक्षक अलमुताइरीले पुनः थपे, ‘दुवै टोलीका लागि खेल गोलरहित बराबरीबाटै सुरु हुने हो। खेलको नतिजा मैदानमा हुने प्रदर्शनअनुसार आउँछ। हामी खेलको हरेक मिनेट राम्रो प्रदर्शन गर्नका लागि प्रयास गर्नै छौं।'

एसियाकप छनोटका लागि पनि नेपाललाई जित अत्यावश्यक रहेको उनले बताए। नेपाल र जोर्डनको खेलको नतिजामा कुवेतको एसियन कप खेल्ने सम्भावना पनि अडिएको छ। कुवेतकै नागरिक भएका हुनाले पनि जोर्डनविरुद्ध खेल थप विशेष हुने प्रशिक्षक अलमुताइरीले बताए।

प्रशिक्षक अलमुताइरीले खेलका लागि खेलाडीको आत्माविश्वास बलियो भएका कारण आफूलाई विश्वास बढेको बताए। ‘खेलाडीको मानसिकता बदलिएको छ। खेलाडीहरु उच्च आत्माविश्वासका साथमा खेल्नेछन्।'​

ग्रिसले सन् २००४ मा युरो जित्ने कसैले नसोचेको तर सम्भव बनाएर देखाएको उदाहरण दिए। 

जोर्डनसँग नेपालले सोमबार राति पाैने १० बजे खेल्दै छ। भोलि नै हुने अर्को खेलमा अष्ट्रेलिया र चाइनिज ताइपेई प्रतिस्पर्धा गर्दै छन्। समूहमा अष्ट्रेलियाको ५ खेलमा १५ अंकसहित अपराजित छ।

दोस्रो स्थानमा कुवेतको ६ खेलमा १० तथा जोर्डनको ५ खेलमा समान १० अंक छ। नेपालको ६ अंक हुँदा ताइपेई अंकविहीन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.