मानसिक परामर्श आवश्यक

|

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा कार्यरत डाक्टर सन्ध्या अधिकारी मास्क र पिपिईभित्र गुम्सिएर धेरै पटक रोएकी छिन्। फेस शिल्डले छोपिएको आँसुलाई सन्ध्याले आफ्नो हातले पुस्न पनि पाएकी पनि छैनन्। 

कोरोना संक्रमितको उपचारमा दैनिक ८ देखि १२ घण्टासम्म खटिने सन्ध्या बिरामी हाँस्दा सँगै हाँस्छिन्, बिरामी रुँदा सँगै रुन्छिन्। आफूले भोक, प्यास, निद्रा केही नभनी उपचार गरेर ठिक भएको बिरामी देख्दा उनलाई आफू स्वास्थ्यकर्मी भएकोमा गर्व लाग्छ। त्यस्तै हजारौ कोसिस गर्दा पनि ज्यान गुमाएका कोरोना संक्रमितको अनुहार हेर्दा उनलाई लाचार महसुस हुन्छ। 

दुई वर्षअघि हेटौंडा अस्पतालमा काम गर्न आइपुगेकी सन्ध्या हाल अस्पतालकै क्वाटरमा बस्छिन्। संक्रमितको उपचार गर्न एचडियुभित्र प्रवेश गर्नुअघि उनले सधैं संक्रमितको अवस्थामा सुधार ल्याउने प्रण गरेर छिर्ने गरेको बताइन्। ‘कसरी हुन्छ आज यो बिरामीलाई ठिक पार्न पाए अथवा यो बिरामीलाई अलि कम भइदिए कस्तो खुसी हुनेथिएँ भन्ने लाग्छ। अनि भित्र गएर आफ्ना सबै दुःख र समस्यालाई बिर्सेर उहाँहरूको दुःखमा दुख्छु, उहाँहरूको खुसीमा हाँस्छु,’ उनले भनिन्।

सन्ध्यालाई पछिल्लो पटकको एउटा मृत्युले निकै चोट पुर्‍यायो। कोरोना संक्रमित एक वृद्धलाई बुवाजस्तो मानेर उपचार गराएकी उनले वृद्धको मृत्युले धेरै रुवायो। ‘उहाँको अक्सिजन लेबल अस्पताल आउँदा ८ थियो। जुन बाच्नेसक्ने अवस्था नै होइन तर पनि हामीले अनेक गरेर उहाँको अक्सिजन लेबललाई ८० सम्म ल्यायौं। उहाँ ठिकै हुदै पनि हुनुहुन्थ्यो। हामीसँग हाँस्ने , बोल्ने र म ठिक छु छोरी भन्दै आशीर्वाद पनि दिनुहुन्थ्यो। अब त बुवालाई बचाइयो भन्दाभन्दै उहाँको मृत्यु भयो,’ उनले भनिन्। आफू डाक्टर भए पनि बिरामीप्रति छोरीले बुवालाई गर्नेजस्तै माया पलाएको उनले सुनाइन्। 

स्वास्थ्यकर्मीलाई मानसिक परामर्श आवश्यक 

कोभिड वार्डमा बिरामीलाई सम्झाएर आउने उनी घर आइपुगेपछि आफैं मानसिक रुपमा कमजोर भएको महसुस गर्ने गरेको बताँउछिन्।‘दिनप्रतिदिन पिपिईभित्र निसास्सिएर  बिरामीको उपचारमा खटिँदा एक दुई दिन त कतै पर जान पाए पनि हुन्थ्यो जस्तो लाग्छ। तर फेरि बिरामीको उपचार गर्नुपर्छ जस्तो लाग्छ त्यसैले छोडेर जान सकिँदैन। तर हामी बाहिरबाट जति नै बलियो देखिए पनि भित्र भित्रै मानसिक रुपमा कमजोर भएका छौं,’ उनले पीडा सुनाइन्। समय समयमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको घटनाले भने निराश बनाउने भन्दै सन्ध्या पिरोलिन्छिन्। 

अस्पतालको स्वास्थ्य परिचारिका दिक्सिका लामिछानेलाई आफू स्वास्थ्यकर्मी बनेर सफल भएको अहिले महसुस हुँदै छ। तीन वर्षअघि नर्सिङ पास गरेर स्वास्थ्य क्षेत्रमा आएकी उनलाई यतिबेला कोरोना संक्रमितको उपचारमा खटिन पाउँदा खुसी लागेको छ। नलागोस् पनि कसरी? उनले आफूले उपचार गरेका धेरै बिरामीको आशीर्वाद जो पाएकी छन्। 

‘अस्पताल आउनुअघि आफ्नो जेजति दुःख समस्या भए पनि भित्र पसेर बिरामी देखिसकेपछि उहाँहरूसँगै भुलिन्छ। कुनै बिरामीले मलाई अलि सन्चो भयोभन्दा मात्रै पनि यत्तिकै मन खुसी हुन्छ,’ उनले भनिन्। बिरामीसँगै हाँस्ने अनि रुने उनलाई कहिलेकाहीँ आफू भित्रबाट कमजोर भएको भान भने हुन्छ। बिरामीलाई सम्झाई बुझाई गरेर हौसला दिने स्वास्थ्यकर्मीलाई हौसला दिने कोही नभएको उनी गुनासो पनि गर्छिन्।  

‘एक त ६ घण्टादेखि १२ घण्टासम्मको ड्युटीमा पिपिईभित्र गुम्सिनुपर्छ। कतिबेला पिपिई फालेर सास फेरौंजस्तो भएको हुन्छ। त्यहीमाथि अस्पतालमा काम सकेर घर गएपछि पनि त्यहीँको झल्कोले सताउँछ,’ उनले भनिन्। स्वास्थ्यकर्मीलाई पनि मानसिक परामर्शको आवश्यकता रहेको उनको भनाइ छ। 

बिरामीको उपचारमा स्वास्थ्यकर्मीको जति भूमिका हुन्छ उति नै निर्वाह गर्छिन् अस्पतालकी हिरामाया दिदी। अस्पताल भर्ना भएका कोरोना संक्रमित सुत्ने ओछ्यानदेखि उनीहरूले लगाएको लुगाा फेरिदिने र धोइदिने काम गर्ने हेटौंडा–८ हीरा लामा अस्पतालमा उपचाररत सबै बिरामीको आमा बनेकी छन्। एउटा आमाले सानो बच्चालाई स्याहारेको जस्तै बिरामी स्याहार्छिन् उनी। 

‘बिरामीलाई राखेको वार्ड सफा गर्ने , बिरामी सुतेको ओछ्यान धुने, उहाँहरूको लुगा फेरिदिने र धोइदिने सबै काम गर्छु। कतिले त लुगामा नै दिसापिसाब गर्नु भएको हुन्छ। त्यो पनि सबै मैले सफा गर्दिने गरेको छु। त्यसैले कतिले त मलाई आमा पनि भन्नुहुन्छ,’ खुसी हुँदै उनले भनिन्। आफूले सन्तानजस्तै माया र स्याहार गरेको बिरामीको मृत्यु हुँदा भने धेरै गाह्रो हुने गरेको उनी दुखेसो पोख्छिन्।  

दुई सन्तानलाई हुर्काएकी हीरामाया अहिले दैनिक १० देखि २० जनालाई आफ्नै सन्तानझैं स्याहार गर्छिन्। उनलाई यी सब काम गर्दा कहिले फोहोर लागेन। बरु आफूमाथि सधै गर्व लाग्यो। अस्पतालमा आफूले गर्न परेको काम र जोखिमको देखेर उनलाई कहिल्यै डर र असहज नलागेको बताँउछिन्। तर आफूले मरिमेटेर काम गर्दा पनि अस्पताल प्रशासनले त्यसको सम्मान नगर्दा दुःख लाग्ने गरेको उनको गुनासो छ।  

हीरामाया अस्पतालबाट केही मात्रै दूरीमा रहेको घर नगएको पनि दुई महिना पुग्न लागिसक्यो। अस्पतालमा काम गर्दा घरबाट राम्रो सहयोग पाए पि उनलाई छिमेकीले भने घरबाट ओहोरदोहोर गर्न दिएनन्। गाँउमा कोरोना फैलाउने भई भन्दै उनलाई अनेक गाली आउन थालेपछि हीरामाया अन्य स्वास्थ्यकर्मीसँगै होटलमा बस्दै आएकी छन्। कोरोनाबाट संक्रमित बनेकालाई बच्चाजस्तै स्याहार गर्ने उनले आफ्नै सन्तान नदेखेको पनि दुई महिना पुग्न लागिसक्यो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.