|
फाइल तस्बिर

काठमाडौं : जब वर्षायाम शुरू हुन्छ-काठमाडौं उपत्यकादेखि बाहिर जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरो चलेको समाचार आउँछ। यस्तो विपद्‌मा परी अकालमै नागरिकको ज्यान जान्छ, कयौं घर विस्थापित हुन्छ।

नागरिकको ज्यान जान थालेपछि मात्र केन्द्र या स्थानीय सरकार उद्धारमा जुट्छ। दुःख व्यक्त गर्छ। तर, वर्षात् शुरू हुनुअघि भने सरकारले नागरिकलाई विपद्‌बाट जोगाउनेगरी पूर्वतयारी गरेको पाइँदैन।

यस वर्ष झनै बढी मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले त धेरै बाढीपहिरो जानसक्ने भन्दै अहिलेदेखि नै सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ। 

अहिले नै पानीको कुलो बनाउन विज्ञको सुझाव

पहिरोविज्ञ सुवोध ढकालले बाढीपहिरो न्यूनीकरण गर्न आफ्ना घर वरपर बग्ने पानीको कुलो बनाउन/मर्मत अहिले नै गर्न सुझाव दिएका छन्‌। उनले भने, ‘सरकारले पहिला नै विपद्‌ व्यवस्थापनबारे कदम चाल्नुपर्ने थियो, तर ढिलाइ गरिरहेको छ। त्यसैले घर वरपर-जहाँ अहिले पानी बगिरहेको छ : त्यहाँ पानी निकास गर्ने कुलो अहिले नै बनाइहाल्नुपर्छ।’

उनका अनुसार माटो वा सिमेन्ट प्लाष्टर गरी कुलो काटेमा जति पानी आएपनि पानी कुलो हुँदै बग्छ। जथाभावी पानी बग्न नपाउँदा माटो पग्लिँदैन। पहिरो चल्ने सम्भावना कम हुन्छ। 

‘पहिरोको जोखिम पहाडतिर नै हुन्छ, जहाँ ठूला खोलाहरू छन्‌,’ उनले भने, ‘त्यहाँको घुमेको ठाउँमा ठूला ढुंगा अथवा ब्लक बनाएर राख्नुपर्छ, यसले माटो बग्न दिँदैन, यस तीन तहकै सरकारले चेतना स्थानीयलाई दिनुपर्‍याे, सरकार पनि लाग्नुपर्‍याे, अहिले नै पूर्वतयारी गर्नुपर्छ।’

उनले अहिले नै जमिनको हलचल पनि बुझ्नुपर्ने बताए। ‘पहिरो जानुभन्दा अघि नै त्यस क्षेत्रमा संकेतहरू देखिन्छ, अहिले नै जमिनको हलचल बुझ्न सकिन्छ, कहिँकतै माटो झर्दै वा जमिन फाटेको छ भने तुरुन्तै त्यो ठाउँ छोडेर सुरक्षित ठाउँमा सरकारले सार्नुपर्छ,’ ढकालले भने।

उनका अनुसार प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेमध्ये १३ देखि १४ प्रतिशत हताहती बाढी पहिरोबाटै हुने गरेको छ। 

उपत्यकाभित्रका यी ठाउँ जोखिमपूर्ण

काठमाडौं उपत्यकाका बालकुमारी, खसीबजार, सतुंगल, कलंकी, कुलेश्वर र बल्खु लगायत क्षेत्र वर्षेनी डुबानमा पर्छ।

बागमती, विष्णुमती नदी, हनुमन्ते, मनोहरा र अन्य खोलामा आउने बाढीले त्यस आसपासका क्षेत्रमा ठूलो असर पार्ने गरेको छ। 

यस्तो छ सरकारको जवाफ

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले विपद्‌सँग जुट्न अहिलेबाट पूर्वतयारी थालेको बताए।

‘दक्षिण एसियाको मौसमसम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमानअनुसार अघिल्लो वर्षभन्दा यस वर्ष धेरै पानी पर्ने देखिएको छ, धेरै डढेलो पनि लागेको छ, त्यसैले बाढीपहिरो जान्छ कि भनी डराउनुपर्ने  स्थिति छ, त्यसैले पूर्वतयारी गरेका छौँ, यसबारे सबै जानकारी भोलि वेबसाइटबाट जानकारी दिँदैछौँ,’ उनले भने।

जोखिम ठाउँहरूको अध्ययन र जनचेतना दिने काम भइरहेको उनले बताए। साथै, जोखिम क्षेत्रमा रहेका नागरिकलाई विपद् उद्धार तालिम दिने सरकारको तयारी छ। सबै स्थानीय तहलाई चनाखो हुन आग्रह गरिएकाे छ।

अघिल्लो वर्ष चलेको बाढीपहिरोमा करिब ४०० जनाको ज्यान गएको थियो। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि विपद्‌ जोखिम न्यूनिकरणका लागि वित्तीय रणनीति कार्यान्वयन गरी विपद् पूर्वसूचना प्रणाली विकास गरी क्षति न्यूनीकरण गरिने बताएका छन्।

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याइएको बजेटमा लेखिएको छ, ‘विपद पूर्वतयारी, खोज, उद्धार, राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरेको छु, विपद्‌ व्यवस्थापनमा सुरक्षा लगायत सम्बद्ध सबै निकाय समन्वयात्मक रुपमा क्रियाशिल हुने व्यवस्था मिलाइनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.