पाल्पा : तानसेन नगरपालिका– १ बराङ्दीकी ६४ वर्षीया चित्रकला भट्टराई तीन महिना पहिला उमेर नपुगेकाले खोप लगाउन पाइनन्। भुसलडाँडामा आएकी उनी तोकिएको उमेरमा तीन महिना कम भएपछि खोप लगाउन नपाएर निरास हुँदै घर फर्किनु परेको थियो। घर फर्किएको केही हप्तामा कोराना महामारी फैलिएको गाउँभरि हल्ला सुनिन्। खोप लगाएका भने ढुक्क भएर हिँडेको उनलाई महसुस हुन्थ्यो।
आफ्नै ८१ वर्षीय श्रीमानले समेत खोप लगाएका थिए। कोरोना महामारी फैलिएपछि निकै डर लागेको थियो। सायद मरिन्छ होला भन्ने चिन्ताले दिन रात सताएको थियो चित्रकलालाई। मंगलबार खोप लगाउन पाउँदा निकै खुसी लागेको उनले बताइन्। भन्छिन् ‘अब त कोरोनालाई जितिन्छ!’
छिमेकी साथीको कोरोनाकै कारणले मृत्यु भएपछि तानसेन बडिज्ञान टोलका ६२ वर्षीय राजेश्वर उदयलाई पनि बाँचिन्छ जस्तो लागेको थिएन। सायद समयमै खोप लगाउन पाएको भए कोरोनाले केही गर्न नसक्ने उनको बुझाइ थियो।
खोप लगाएको भए साथी पनि अकालमै मर्नुपर्ने बाध्यता हुन्थेन। म आफैं पनि ढुक्क भएर कोरोनाको सामना गर्ने थिएँ। मुटुका बिरामीसमेत रहेका उदय घरभित्र बसिरहेको थिए। आफ्नो उमेर समूहका व्यक्तिलाई खोप लगाउने खबर सुनेपछि निकै खुसी लागेछ उनीलाई। आँखा अस्पतालमा रहेको केन्द्रबाट खोप लगाएर बाहिर निस्किएका उदयले भने‚ ‘खोप लगाइयो अब त यो महामारीबाट बाचिन्छ होला।’ खोपले कोरोना भाइरसलाई परास्त गर्ने उनको विश्वास छ।
कोरोनाको त्रासले एक महिनादेखि घरभित्र बस्दै आएका वृद्धवृद्धा खोप लगाउन पाउँदा निकै उत्साहित देखिएका छन्। पाल्पामा पनि भेरोसेल खोप लगाउने अभियान सोमबारदेखि सुरू भएको छ। यहाँका सबै स्थानीय तहमा खोप लगाउने कार्य जारी छ। खोप मंगलबार पनि लगाइएको छ। स्थानीय तहले आ–आफ्नो अनुकूलता मिलाएर खोप लगाउने काम गरिरहेका छन्।
यहाँका ४ हजार १०० जनालाई खोप लगाइने छ। ६२ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिलाई खोप लगाइने छ। जिल्लामा खोपको मात्रा कम प्राप्त भएकाले निश्चित उमेर समूहका व्यक्तिलाई मात्र खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।
उनका अनुसार यहाँ पहिलो चरणको लागि भनेर ४ हजार १०० खोप प्राप्त भएको छ। प्राप्त खोपले जिल्लाभर रहेका यी उमेर समूहका सबै व्यक्तिलाई पनि पुग्दैन। छुटेकालाई थप खोप प्राप्त भएपछि लगाइने छ। पहिलो चरणमा लगाएकालाई दोस्रो चरणका लागि खोपको सुनिश्चित हुने पन्थीले बताए।
जिल्लामा २०१४ साल जेठ २५ देखि २०१६ जेठ २४ गतेसम्म जन्म मिति भएका नागरिकलाई खोप लगाइएको उनले बताए। स्वास्थ्य मापदण्डको पालना भएको थिएन। घरमा सुरक्षित बसिरहेका वृद्धवृद्धा कोरोनाको जोखिम मोलिरहेको दृष्य थियो।
खोप लगाउन आएका मानिसको निकै भीड थियो। व्यवस्थापन गर्ने कुनै पनि निकाय थिएन। नाम दर्ता गराउनेको ठेलमठेल चलिरहेको थियो। बाँच्न भनेर खोप लगाउन आएका हामी कोरोनाको जाखिममा परेको मेहल्धारकी कल्पना काफ्लेले गुनासो गरिन। स्वास्थ्य मापदण्डको पालना गरेर खोप लगाउनुपर्ने उनले बताइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।