|

काठमाडौं : विश्वकप छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा दक्षिण अमेरिकी जायन्ट ब्राजिलले लगातार छैटौं जित निकाल्दा अर्को दाबेदार अर्जेन्टिना भने कोलोम्बियासँग बराबरीमा रोकिएको छ।

अर्जेन्टिनाले खेलको पहिलो हाफमा २-० को अग्रता लिएपनि जोगाउन नसक्दा घरेलु टोली कोलोम्बियासँग २-२ गोलको बराबरीमा रोकिन पुग्यो।

पहिलो हाफको १० मिनेटभित्रै अर्जेन्टिनाले दुई गोल गरेको थियो। तर, इन्जुरीको अन्तिम मिनेटमा सम्हालिन नसक्दा अर्जेन्टिना कोलम्बियासँग बराबरी खेल्न बाध्य भयो।

तेस्रो मिनेटमा नै क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाईशुरूवाती अग्रता दिलाए। लगत्तै, आठौं मिनेटमा लियान्द्रो ड्यानियल पारेडेसले टीमको अग्रता दोब्बर बनाए। दुई गोलले पछि परेको घरेलु टोली कोलोम्बियाले दोस्रो हाफमा पुनरागमन गर्‍यो। ५१ औं मिनेटमा निकोलस ओटामेन्डीले मेटस युरिवेलाई पेनाल्टी बक्समा फल गरेपछि पाएको पेनाल्टीमा लुइस मुरिएल गोल गरे।

२-१ ले अग्रता बनाएको अर्जेन्टिनाले इन्जुरी समयको अन्तिम मिनेटमा फेरि अर्को गोल खायो। मिगुएल बोर्जाले जुआन कोर्डाडोको पासमा आकर्षक हेड गर्दै कोलोम्बियालाई हारबाट जोगाए। बराबरीपछि दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ६ खेलबाट १२ अंक भएको छ।

ब्राजिलको सहज जित

त्यस्तै विश्वकप छनोट अन्तर्गतकै अर्को खेलमा ब्राजिलले आफ्नो अपराजित यात्रा कायम राखेको छ। निरन्तर जित निकाल्ने क्रममा ब्राजिलले बुधबार बिहान पाराग्वेलाई २-० ले हरायो।

पाराग्वेमा भएको खेलमा ब्राजिलले खेलको चौथो मिनेटमै नेयमारको गोलमार्फत अग्रता लिएको थियो। शुरूवातमै गोल गरेपनि त्यसपछि भने दुबै टीमले खेल अवधिभर गतिलो अवसर बनाउन सकेनन्‌।

​तर, इन्जुरी समयमा सबस्टिच्युट लुकास पाक्वेटाले नेयमारको पासलाई सदुपयोग गर्दा ब्राजिल २-० ले अघि रह्यो। १०४ क्याप जितेका नेयमारले ब्राजिलका लागि ६५ औं गोल गरे।

ब्राजिलका लागि पेलेले सर्वाधिक ७७ अन्तर्राष्ट्रिय गोल गरेका छन्। दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिलको यो लगातार छैटौं जित हो। 

ब्राजिलले यसअघि बोलिभिया, पेरू, भेनेजुएला, उरुग्वे र इक्वेडरलाई पराजित गरेको छ। जितपछि ब्राजिलले ६ खेलबाट १८ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको समान खेलबाट १२ अंक छ। कोलोम्बिया तेस्रो स्थानमा छ।

पराजित पाराग्वे ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ। त्यस्तै अन्य खेलमा भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेल्दा पेरूले इक्वेडरलाई २-१ ले पराजित गर्‍यो। यो नतिजापछि उरुग्वे ८ अंक जोडेर चौथो तथा भेनेजुएला ४ अंक जोडेर नवौं स्थानमा रहेको छ।

इक्वेडर ९ अंक जोडेर तेस्रो स्थानमा रहँदा पेरू ४ अंकका साथ पुछारमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.