|

काठमाडौं : खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले निर्वाचनताका मतदाताको घरदैलोमा पुगेर भनेका थिए, ‘मलाई भोट दिनुस्, तपाईंहरूलाई समस्या परेको बेला म सहयोग गर्छु।’

उनले चुनावी प्रतिबद्धता पूरा गर्दै थिए। तर, काम गर्दागर्दै नेपाललाई दोस्रो लहरको कोरोना भाइरसले आक्रान्त पार्‍याे।

शहरमा मात्रै नभई विस्तारै गाउँतिर पनि कोरोना संक्रमण फैलियो। गाउँपालिका क्षेत्र पनि अछुतो रहन सकेन। संक्रमित युवाहरू जसोतसो अस्पताल गए। तर, वृद्धवृद्धा थलिए। ती दृश्य हेरेर बेवास्ता गर्न राईले सकेनन्। पहिलेको प्रतिबद्धता सम्झिए र जनताको जीवन रक्षा गर्न लागिपरे। 

अहिले उनको एउटै पहिलो प्राथमिकता छ, त्यो हो-जनताको जीवन रक्षा गर्ने। त्यही भएर अहिले उनी आफैँ कोरोना संक्रमित बिरामी बाेकेर अस्पताल पुर्‍याइरहेका छन्‌। भन्छन्‌, ‘यो मेरो रहर होइन, कर्तव्य हो, जिम्मेवारी पनि, यही चुनावमा वाचा गरेको थिए।’

अहिले धेरैजसो नेता हुन्‌ या जनप्रतिनिधि, आफू चर्चामा आउनका लागि अनेक क्रियाकलाप गरिरहेका हुन्छन्‌। यस्ता घटनाहरू धेरै पनि छन्‌। तर, उनी भाइरल हुनलाई नभई बाध्यताले पनि बिरामी बाेक्ने गरेकाे बताउँछन्।

‘म कुनै भाइरल हुन यो समयमा संक्रमित बोकेको होइन, मेरो पनि परिवार छन्‌, यस्तै बेला त हो नि जनप्रतिनिधिले जनतालाई सहयोग गर्नुपर्ने भनेर डोकोमा भएपनि बिरामी बोकिरहेको छु,’ थाहाखबरसँग उनले भने।

उनले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर संक्रमित बिरामी बोक्ने गरेको सुनाए। ‘मास्क, पञ्जा, पीपीई लगाएर स्वास्थ्य मापदण्ड अपनाएको छु,’ उनले भने, ‘संक्रमित हुने डर भएपनि जनतालाई त बचाउनुपर्‍याे नि!’

उनका अनुसार गाउँपालिका क्षेत्रमा सडक पुगेको छ। तर, जनताको घर-घरमा पुगेको छैन। त्यसो त वृद्धवृद्धालाई बोकेर भएपनि गाडी भएको ठाउँसम्म पुर्‍याउनुपर्ने बाध्यता छ। 

४३ वर्षका अध्यक्ष राई जहाँ कोरोना संक्रमित छन्, त्यहीँ पुगेर अवस्था बुझिरहेका छन्‌। आत्मबल बढाउन बिरामीलाई सुझाएका छन्‌। उनले संक्रमित बिरामी बोकेको भिडियो होस्‌ या तस्वीर : यतिखेर सामाजिक सञ्चालमा चर्चा भैरहेको छ। सञ्चार माध्यममा पनि उनले गरेको सेवाको समाचारले प्राथमिकता पाएको छ। सबैबाट स्याबासी पाएका छन्‌।

अध्यक्ष चढ्ने गाडी एम्बुलेन्स

गाउँपालिकामा एम्बुलेन्स अभाव भएपछि राईले आफू सवार हुने गरेको गाडीलाई नै अहिले एम्बुलेन्सका रूपमा प्रयोग गरिरहेका छन्‌।

​उनका अनुसार बेलायतमा बस्ने नेपालीहरूले नै गाउँपालिकाका लागि एउटा एम्बुलेन्स खरिद गरिदिएका थिए। बिरामी बोक्दाबोक्दै त्यो एम्बुलेन्स पनि बिग्रियो।

‘एम्बुलेन्स नभएकाले म चढ्ने गाडीमा नै अहिले ७ वडाकै बिरामी बोकिरहेको छु, यो म मात्रै चढ्ने होइन-समस्या परेका बेला जनता पनि चढ्ने गाडी हो,’ उनले भने। 

उनका अनुसार गाउँपालिका वडा-१ मा २५ बेडको कोभिड अस्पताल बनाइएको छ। अहिले त्यही ठाउँमा कोरोना उपचार भैरहेको छ। तर, पर्याप्त मात्रामा अक्सिजन, भेन्टिलेटर र स्वास्थ्यकर्मी नहुँदा समस्या परिरहेको छ। 

गाउँभर तीव्र रूपमा कोरोना संक्रमण फैलिएपनि स्थानीयवासीले समयमै परीक्षण गर्न नमान्दा समस्या भएको उनी बताउँछन्। भने, ‘स्थानीयवासीले कोरोना परीक्षण गर्न नै मान्दैनन्, सिकिस्त भएपछि उनीहरू परीक्षण गर्छन्‌, चेतनाको पनि अभाव छ, कोरोनाका लक्षण देखिए तुरून्त परीक्षण गर्न सबैलाई अनुरोध गर्छु।’

उनका अनुसार अहिलेसम्म गाउँपालिका भित्र २५६ जनाको स्वाब परीक्षण गर्दा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालमा १३ जनाकोउपचार भैरहेको छ। अहिलेसम्म त्यहाँ कोरोना संक्रमणकै कारण मानवीय हताहती हुन पाएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.