|

भक्तपुर : कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सहयोग पुर्‍याउन भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिले संयुक्त रूपमा ‘कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ’ भन्ने नारासहित ‘सेवा परमो धर्म:’ अभियान सञ्चालन गरिरहेको छ।

अभियान अन्तर्गत विभिन्न संघसंस्थाको सहयोगमा आइसोलेसनमा निःशुल्क खाना व्यवस्थापन, स्वास्थ्यकर्मीका लागि क्वारेन्टाइन सञ्चालन, जुम प्रविधिमार्फत सचेतना कार्यक्रम, निःशुल्क चिकित्सकीय परामर्श सेवा, अक्सिजन सहजीकरण, निःशुल्क २४ सै घण्टा एम्बुलेन्स सेवा र जनचेतनाका लागि माइकिङ सञ्चालन गर्दै आइरहेको हो।

अभियानले चाँगुनारायण नगरपालिकाले नेपाल इञ्जिनियरिङ कलेजमा सञ्चालन गरेको ५० शय्याको आइसोलेसन केन्द्रमा निःशुल्क भोजनको व्यवस्था गर्दै आएको भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछे मानन्धरले बताए। ‘आइसोलेसनमा बस्ने संक्रमित र कुरुवा समेतका लागि निःशुल्क रूपमा दिनको ४ पटक खाना खाजा व्यवस्थापन गर्दै आएका छौँ,’ उनले भने, ‘हालसम्म ३० जना लाभान्वित भएका छन्‌।’

चेम्बरले सीबीआर भवन इन्द्रायणी पीठ भक्तपुरमा स्वास्थ्यकर्मीहरूका लागि क्वारेन्टिन सञ्चालन गर्दै आइरहेको छ। ‘अस्पताल एवम्‌ हेल्थ पोष्टमा कार्यरत स्वास्थ्यकर्मीहरू जो कोभिड–१९ का बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका हुन्छन्, त्यस्ता स्वास्थ्यकर्मीहरूका लागि निःशुल्क खानाको व्यवस्थासहित क्वारेन्टिन सञ्चालन गरेका छौं,’ उनले भने। सो क्वारेन्टिनमा हालसम्म १२ जना स्वास्थ्यकर्मीहरूले लाभ लिएको उनले बताए। 

अभियान अन्तर्गत जुम प्रविधिमार्फत मनोचिकित्सक डा. कञ्चन दाहालले कोभिडबाट सुरक्षा र सजगता, वरिष्ठ कार्डियोलजिष्ट डा. सञ्जय श्रेष्ठले घरमै कोभिड–१९ संक्रमण व्यवस्थापन, आयुर्वेद अस्पतालका सहायक प्रोफेसर डा. रेणु खायमलीले कोभिड–१९ : आयुर्वेद र घरेलु उपचार र बालरोग विशेषज्ञ डा. गणेशभक्त रायले कोभिड–१९ र बच्चाहरूको सुरक्षा विषयमा सचेतना कार्यक्रम सञ्चालन गरेको अभियानका संयोजक रोशन भोयद्योले जानकारी दिए। 

त्यस्तै कोभिड– १९ का बिरामीहरूलाई सहज रूपमा अस्पतालसम्म पुर्‍याउन निःशुल्क रूपमा २४ सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको संयोजक भोयद्योले बताए। ‘भक्तपुर अस्पतालको हातामा रहने एम्बुलेन्सलाई हटलाईन नम्बर ९८६१७५६४६१ मा सम्पर्क गरी सेवा लिन सक्ने व्यवस्था गरेका छौं,’ उनले भने, ‘उक्त एम्बुलेन्सले उपत्यकाभरका बिरामीहरूलाई सेवा पुर्‍याउँदै आएको छ।’

अभियान अन्तर्गत चेम्बर र लायन्स समन्वय समितिले भक्तपुरका तीनवटा नगरपालिकालाई ५/५ वटा ४० लिटरका अक्सिजन सहयोग गरेको छ। ‘भक्तपुर, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया अस्पताललाई अक्सिजन सहयोग गर्‍यौँ,’ भोयद्योले भने। 

त्यस्तै, कोरोना संक्रमण भइ होम आइसोलेसन बसेकाहरूलाई निःशुल्करूपमा चिकित्सकीय परामर्श, कोभिड–१९ बाट बच्न अपनाउनु पर्ने सावधानी लगायत सरकारले लागू गरेको निषेधाज्ञा पूर्ण परिपालनाका लागि जनचेतना अभिवृद्धि गराउन माइकिङ गर्दै आएको भोयद्योले बताए। 

अभियानका लागि भक्तपुरका सबै लायन्स क्लबहरूलाई संयोजन गरी ‘भक्तपुर लायन्स सेवा समन्वय समिति’ गठन गरेको समितिका संयोजक विष्णुभक्त मारिखुले बताए।

यो अभियानमा ९ वटा संघसंस्थाले सहकार्य गरेका छन्‌। सहकार्य गर्ने संस्थाहरूमा नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर, भक्तपुर डाक्टर्स सोसाइटी, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, नेपाल नर्सिङ संघ, सीबीआर भक्तपुर, भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ संघ र त्रिऔनेत्र बचत तथा ऋण सहकारी संस्था छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.