|
फाइल फोटो ।

सुर्खेत : अदालतबाट कसूरदार ठहर भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्री अम्मरबहादुर थापा पदमा बहाल भएको भन्दै कर्णाली प्रदेश सभाको आठौं अधिवेशन चल्न नदिएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को माग सम्बोधन गर्न कर्णाली सरकार तयार भएको छ।

सत्तापक्ष र प्रतिपक्षबीच बिहीबार लिखित सहमति हुने स्रोतले जानकारी दिएको छ। मन्त्री थापाको बर्खास्ती माग गर्दै एमालेले प्रदेश सभाको अधिवेशन शुरू भएकै दिनदेखि अवरुद्ध गर्दै आएको थियो। जेठ २४ गतेबाट शुरू संसद अधिवेशन हिजो बुधबार तेस्रो दिन पनि अवरुद्ध गरिरहेको थियो।

‘एमालेले राखेको माग सर्वोच्चमा विचाराधीन भएका कारण सदन अवरुद्ध गर्न उचित थिएन। तर, सदन सञ्चालन गर्नु सरकारको दायित्व हो,’ निरन्तरको छलफलमा सहभागी सत्ता पक्षीय एक नेताले  भने, ‘सरकारले आजबाट प्रमुख प्रतिपक्षी दलको माग सम्वोधन गर्छ र सदन पनि सुचारु हुन्छ।’

जेठ २४ गते बसेको सर्वदलीय बैठकमा सत्तापक्षले जेठ ३० गतेसम्म मन्त्री थापालाई सदनमा उपस्थित नगराउने मौखिक प्रतिबद्धता जनाएको थियो। जेठ २५ को बैठकमा लिखित रूपमा सहमति गर्नुपर्ने एमालेको माग सत्तापक्षले अस्वीकार गर्दा सहमति भाँडिएको थियो।

जेठ २६ गते बसेको बैठकमा पनि सत्तापक्ष सहमति गर्न इच्छुक नदेखिएको बताउँदै एमालेले सदन चल्न दिएको थिएन। सदन दिनहुँ अवरुद्ध भएसँगै सत्तापक्ष लचिलो भएको छ।

आज दिउँसो १२ बजे  सर्वदलीय बैठक बस्ने छ। भने बैठकमा लिखित सहमति हुने एमाले स्रोतको भनाइ छ। यो सहमति हुनुपूर्व कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र नेकपा एमालेका प्रमुख सचेतक गुलाबजंग शाहबीच सहमति भएको बताइएको छ।

आज लिखित सहमति भएपछि सदनमा सरकारले पूर्व-बजेट छलफल गराउनेछ। उक्त छलफल भोलि सकिनेछ र पर्सि शनिबार सरकारले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी थालेको छ।

प्रदेश सभा बैठक आज दिउँसो २ बजेका लागि बोलाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.