जाजरकोट : धार्मिक रूपमा महत्वपूर्ण मानिएका मूर्तिहरू चोरी हुने क्रम बढेको छ। कर्णालीका हिमाली तथा पहाडी जिल्लामा राखिएका मूर्तिहरूको संरक्षण नहुँदा तस्करहरूले आँखा लगाइरहेका हुन्।
डोल्पाको शे–फोक्सुन्डो ताल,धो भ्याली से–गुम्बा,रिबु गुम्बालगायत स्थान पर्यटकका मुख्य आकर्षण हुन्। त्यति मात्र नभई त्यहाँको धर्म संस्कृति र जीवनशैली पनि पर्यटकको रोजाइमा पर्दै आएसँगै त्यहाँका पुराना मूर्तिहरू असुरक्षित हुँदैछन्।
आधा समय तल्लो डोल्पादेखि देशका विभिन्न ठाउँमा उपल्लो डोल्पाका स्थानीयवासी चिसो छल्न झर्ने गर्दछन्। उपल्लो डोल्पाका सर्वसाधारणलाई पुस्तौँदेखि पुज्दै र मान्दै आएका प्राचीन एवम् ऐतिहासिक गुम्बाहरूलाई जोगाउन हम्मेहम्मे परेको नागरिक अगुवा शेर बुढाले बताए। गुम्बा बौद्धमार्गीको आस्थाका धरोहरका रूपमा रहेका प्राचीन मूर्तिहरू प्रत्येक वर्ष चोरी भएपनि चोरी कार्यमा संलग्न व्यक्ति नभेटिएपछि समस्या हुँदै गएको बुढाले बताए।
कानून पक्ष समेत फितलो हुँदा तस्करको मनोबल बढेको भन्दै उनले भने, 'नयाँ मूर्ति किन्दा लाखौँ पर्छ, पुराना मूर्ति सबैको मिलेमतोमा मूल्यहीन बनाउने देखियो। गरिब तथा बेरोजगारलाई मूर्ति चोरी गर्ने कार्यमा प्रयोग गरी ठूला माफियासम्म पुग्ने गरेको छ। दण्डसजाय फितलो छ। प्रहरी निगरानीमा कमी, अनुसन्धान गर्ने मान्छे लामो समयसम्म बस्न नपाउनु, पहुँचवालाहरू प्रभावमा पर्नु र चोरीको सूचना दिने व्यक्ति नै असुरक्षित हुँदा समस्या भएको छ।'
पछिल्लो पाँच वर्षयता मात्रै उपल्लो डोल्पाको शे–गुम्बा, सेलरी सोम्दो, बोन,मिखिम, गाँकर गुम्बालगायतका प्राचीन गुम्बाबाट २७ थान पुरातात्त्विक मूर्ति चोरी भएकोमा चार थान मूर्ति मात्रै बरामत भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार ०७२ मंसिर ८ महिना २७ गते शे–फोक्सुन्डो गाउँपालिका– ३ मा रहेको सेलरी सोम्दो गुम्बाट १३ वटा मूर्ति चोरी भएको र अझैसम्म फेला पर्न सकेको छैन। त्यसैगरी, डोल्पो बुद्ध गाउँपालिका –३ मा पर्ने गाँकर गुम्बा र मेखिम गुम्बाबाट २०७२ चैत्र २८ गते राति चार थान बुद्धका मूर्ति बौद्ध धर्मसम्बन्धी एक थान पुस्तक चोरी भएको थियो।
पुरातात्त्विक मूर्तिहरूसँगै सुन र चाँदीको धातुद्वारा लिखित बौद्ध धर्मग्रन्थहरू पनि हराएका थिए। हराएका चार थान मूर्तिहरूमध्ये तीन थान मूर्ति र एक थान बौद्ध धर्मसम्बन्धी पुस्तक प्रहरी र स्थानीयको सक्रियतामा चोरी भएकै दिनमा बरामद गरिएको प्रहरीले जनाएको छ। एक थान मूर्ति अझै फेला पर्न सकेको छैन।
पुरातात्त्विक मूर्ति र धम्रगन्थ चेकजाँचका लागि पूरात्तत्व विभाग काठमाडौं लगिएको दुई वर्ष चार महिनापछि २०७५ साउन १५ मा मेखिम र गाँकर गुम्बामै स्थापना गरिएको पुरात्तत्व विभागले जनाएको छ। त्यस्तै, छार्काताङसोङ गाउपालिका –१ मा पर्ने बोन गुम्बाबाट २०७३ जेठ २८ गते हराएको १ थान बुद्धको मुर्ति प्रहरी र स्थानीयको सक्रियतामा तत्काल बरामत गरिएको थियो।
त्यस्तै शे–फोक्सुन्डो गाउँपालिकाअन्तर्गत रिग्मो गाउँमा पर्ने ६ सय वर्ष पुरानो थासोङ छोलिङ गुम्बाबाट २०७५ सालमा हराएका सात थान मूर्तिहरू अझै पत्ता लाग्न सकेको छैन। ‘गुम्बाका मूर्ति सबै चोरी भएपछि गुम्बाको अस्तित्व नै धरापमा परेको छ,चोर पत्ता लागेर पनि कोही कारागारमा छन्, कोही धरौटीमा छुटिसके, मूर्ति भने अझै पत्ता लाग्न सकेका छैनन् ’से–फोक्सुन्डो गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष निमा लामाले भने।
‘तस्करहरूले गुम्बा मात्रै लुटेनन्,बौद्धमार्गीहरूको आस्था पनि लुटेका छन्, अहिले रित्ता गुम्बाहरूमा आस्था जोगाउनुपर्ने बाध्यता छ,’ लामाले थपे। नेपालकै गहिरो शे–फोक्सुन्डो तालको छेउमै रहेको उक्त गुम्बा तालपछिको अर्को आकर्षक पर्यटकीय गन्तव्यको रूपमा चिनिँदै आएको थियो। ताल पुगेका पर्यटकहरू एकपटक गुम्बा पुगेरै फर्किने गरेको वडा अध्यक्ष लामाले बताए।
सम्पदा संरक्षणमा चासो नहुँदा मूर्ति चोरी भएको स्थानीयहरू बताउँछन्। यस्ता ऐतिहासिक सम्पदाको सरकारले सुरक्षा गर्नुपर्ने उनीहरूको माग छ। मन्दिरहरू बस्तीभन्दा टाढा हुँदा बढी असुरक्षित हुने गरेको उनको भनाइ छ। मन्दिरबाट मूर्तिलगायत बहुमूल्य धातु चोरी गरेर विदेशसम्म लिने गरेको पाइन्छ।
कर्णालीका धार्मिक मन्दिरहरूको अवस्था कस्तो स्थितिमा छन् यसको लेखोजोखा छैन। यस्तै २०५७ कात्तिक १ गते राति डोल्पाकै त्रिपुरासुन्दरीस्थित बाला त्रिपुरासुन्दरी मन्दिर चोरी भएको थियो। सोलुखुम्बु पाबाचे गुम्बाका २४ वर्षीय लाक्या छिरिङ घोक्वा, डोल्पा रिमीका १६ वर्षीय भीमबहादुर विकलाई पुरातात्विक मूर्ति चोरी गरेको ठहर गर्दै जिल्ला अदालतले ७५ हजार जरिवानासहित पाँच वर्ष कैद ठहर गरेको थियो।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ काँडास्थित बुरामष्टको मन्दिरमा आइतबार राति चोरी भयो। मन्दिरबाट तीन लाख पाँच सय ४० रुपैयाँ नगद, दुई तोला सुन, चार तोला चाँदी, एक पाथी नेपाली सिक्का र विभिन्न देशका ६५ थान मुद्रा चोरी भए। मन्दिरको उत्तरतर्फको गेट फोडेर चोरी भएको बुरामष्ट क्षेत्र विकास कोषका अध्यक्ष ध्रुवराज केसीले जनाए।
राज्यले मन्दिरलाई संरक्षण गर्न नसक्दा दुर्गम क्षेत्रका मन्दिरहरू असुरक्षित हुँदै गएका छन्। यसभन्दा अघि जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरबाटसमेत मूर्तिहरू हराएका थिए। २०७३ सालको मंसिर १२ गते खलंगा बजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेय लगायतको २१ थान पुरातात्विक महत्वका मूर्ति चोरी भएका थिए। चोरीमा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेर मुद्दा चलाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।