|

बैतडी : पञ्चेश्वर गाउँपालिका वडा नं ६ रोडिदेवलस्थित बस्खेतमा खहरे खोलामा आएको बाढीले यहाँका १२ वटा घरमा क्षति पुगेको छ।  बुधबार रातिदेखिको मुसलधारे वर्षाका कारण बिहीबार बिहान आएका बाढीले स्थानीयहरूका घरमा क्षति पुर्‍याएको हो। ​बस्खेत खोलामा आएको बाढीले अड्तोला र बैता गाउँमा रहेका १ दर्जन बढी घरमा क्षति पुर्‍याएको  स्थानीय भोजराज भट्टले जानकारी दिए।

उनले भने,‘खोलाको बाढीले यहाँका १ दर्जन बढी घरमा क्षति पुगेको छ, माथि डोजरले खनेको सडकको माटो बगेर सबै बस्ती पसेको हो,अहिले पनि बस्ती जोखिममा रहेको छ।’

बाढीले मुन्‍ना लुहारको घर आधा बगाएको छ। घरभित्र रहेका खाद्यान्‍न सामग्री, भाँडाकुडा बगेका छन्। यस्तै, हरिराम लुहारको घर जोखिममा छ भने शंकर भण्डारीको शौचालय बगाएको छ।

अविरल वर्षाका कारण सडकको माटोसहितको बाढी गाउँमा पस्दा स्थानीय गणेशसिंह भण्डारी, सुन्दरसिंह भण्डारी, गगनसिंह भण्डारी,रमेश लुहार, शिवराम लुहारलगायतका १० भन्दा बढी घरहरू उच्च जोखिममा परेका छन्।

यता, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक, नारायणप्रसाद अधिकारीले भने प्रहरी टोली घटनास्थलतर्फ गएको र टोली घटनास्थल पुगेपछि मात्रै क्षति पूर्ण विवरण प्राप्त हुने बताए।  उनले भने,‘बाढी बस्तीमा पसेको भन्ने खबर छ, मानवीय क्षति भएको छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.