राहत नपाए लकडाउन खुले पनि यातायात सञ्चालन नगर्ने चेतावनी

|

डडेल्धुरा : लकडाउनले यातायात मजदुर मारमा परेका र व्यवसाय धरासायी भएको भन्दै सरकारले सहयोग नगरे लकडाउन खुलेपश्चात् पनि यातायात सञ्चालन नगर्ने यातायात व्यवसायीका प्रतिनिधिले चेतावनी दिएका छन्।

बिहीबार डडेल्धुराका प्रमुख जिल्ला हरिप्रसाद घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै व्यवसायीहरूले बैंक ब्याज र ऋण किस्ता तिर्दा आत्महत्या गर्नुपर्ने अवस्था आएको बताएका हुन्।

घर जग्गा धितो राखी लगानीमा रहेको सार्वजनिक यातायात क्षेत्रमा आबद्ध लाखौं मजदुर जनशक्तिले सवारी साधन सञ्चालनमा ल्याएको भए पनि लकडाउनले समस्यामा परेको उधोग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले बताए।

११ चैत २०७६ पछि केही समय खुकुलो भएको लकडाउनमा यात्रुवाहक सवारी साधनहरुले आफ्नै खर्च पनि उठाउन नसकेको अवस्थामा पुनः कोरोना महामारीको दोस्रो लहरका कारणले भएको निषेधाज्ञाले यातायात बन्द हुँदा समस्या भएको उनले बताए।

लकडाउनको अवधीमा पनि सार्वजनिक यातायात क्षेत्र पूर्ण जोखिममा हुँदैहुँदै पनि राज्यले मध्यम जोखिम श्रेणीमा राखेका कारण यस क्षेत्रले कुनै सुविधा नपाएको र उक्त अवधिको बैंक ब्याज–ऋण किस्ता समेत तिर्नुपरेको यातायात व्यवसायीको गुनासो छ।

यातायात सञ्चालन गरेर दैनिक काम गरेर साँझ ज्याला लिने क्षेत्र भएको बताउँदै उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रालिका अध्यक्ष मानबहादुर साउँदले सवारी साधन सञ्चालनमा नआउँदा सवारी साधनको किस्ता, मर्मत, बीमालगायतका भैपरी आउने खर्चहरू कटाई बचत रकमबाट आफ्नो परिवारको पालनपोषण गर्ने व्यवसायीहरु आर्थिक संकटमा रहेका बताए।

दैनिक जीवनयापनमा समेत समस्या भइरहेको अवस्थामा सरकार तथा बैंक वित्तीय संस्था संवेदनशील नभएको यातायात व्यवसायीहरूको ठहर छ। यहाँका व्यवसायीले डडेल्धुराका प्रजिअ घिमिरेमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका छन्।

यस्तै, यातायात व्यवसायीले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सुदूरपश्चिम, नेपाल राष्ट्र बैंक, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सम्पूर्ण वाणिज्य बैंकहरू, सम्पूर्ण विकास बैंकहरू, सम्पूर्ण लघुवित्त तथा फाइनान्स कम्पनीहरू र सम्पूर्ण सहकारी संस्थाहरूलाई बोधार्थ गरेको छ।

लामो समयबाट आम्दानी गुमाई संकटमा परेको यातायात व्यवसायी पुरानो ऋण कर्जा सहुलियत समाधन हुन नपाउँदै पुनः कोरोना महामारीको दोस्रो लहर २०७८ बैशाख १६ गतेबाट लागू भएको र हालसम्म हाम्रा सार्वजनिक सवारी साधनहरु घर, ग्यारेजमा थन्काइराखेको अवस्थामा सम्बन्धित सरोकारवाला निकायलाई अवगत भएकै कुरा ज्ञापन पत्रमा उल्लेख छ।

‘हामी यातायात व्यवसायीहरूले पुनः सवारी साधन सञ्चालनमा ल्याउनमा नै मर्मत सम्भारमा ३ देखि ५ लाखजति खर्च हुने अवस्था पुनः सिर्जना भएको छ। तसर्थ, हाम्रो यो व्यवसायलाई पुनः चलायमानका लागि २०७६ चैत्रदेखि हाल लकडाउन खुलेसम्मको अवधिको बैंक कर्जा ब्याज मिनाहा, रूट परमिट, जाँचपास, सवारी कर, बिमा छुटका साथै थन्किएर रहेका सावरी साधनको मर्मतसम्भार बापत सहुलियत ऋणकर्जा, लकडाउन खुलेको ६ महिनापछि बैंक किस्ता, मजदुर व्यवसायीहरूलाई राहातको व्यवस्था गर्ने भए मात्र सार्वजनिक यातायात सञ्चालनमा ल्याउन सकिने कुरो अवगत गराउन चाहन्छौं,’ ज्ञापन पत्रमा भनिएको छ।

आफूहरूको पिरमार्का, समस्या गुहार–अनुरोध गर्दागर्दै पनि सम्बन्धित सरोकारवाला निकायबाट सम्बोधन नभएमा सम्पूर्ण यातायात व्यवसायी आआफ्ना सवारी साधनहरू बैंक तथा वित्तीय संस्थाहरूको आँगनमा खडा गरी, साँचो बुझाइ आफ्नो लगानी फिर्ता लिने माग गर्न बाध्य भई आन्दोलित हुने समेत उनीहरूले चेतावनी दिएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.