|

काठमाडाैं : कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा निषेधाज्ञा लागु भएको ४३ दिन पुगेको छ। निषेधाज्ञाको कारण जनजीवन ठप्प छ। यसै निषेधाज्ञाका कारण कोरोना संक्रमणको दरमा कमि आएको छ।

निषेधाज्ञाको कारण घरभित्र रहेका जनताहरूमा उकुसमुकुस हुन थालेको छ। यससँगै स्वास्थ्य सावधानीसाथ सेवा, व्यापार , जनजीवनलाई नियमित गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ। विभिन्न क्षेत्रको पेशा, व्यवसाय गर्नेले असार १ गतेदेखि अहिले लागु भएको निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने बताएका छन्।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकाहरूमा थप कडाइ गरेर उपत्यका भित्रको जनजीवन सुचारु गर्नुपर्ने बताए।

निषेधाज्ञालाई एकैपटक नभई चरण चरण गरेर खुकुलो बनाउँदै लैजान सकिने मेयर शाक्यले बताए।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सवारी साधन सञ्चालनमा रोक लगाउँदै र नाकाहरू बन्द गर्दै, स्वास्थ्य मापदण्ड पालना गराउँदै उपभोग्य वस्तुको पसल खोल्नुपर्ने बताए।

लकडाउन मात्रै विकल्प नभएकाले विस्तारै लकडाउन खुकुलो बनाउनुपर्ने उनले बताए। स्वास्थ्य मापदण्ड अपनाउँदै फ्रन्टलाइनरहरूलाई काममा खटाउनुपर्ने पनि उनको भनाइ छ।

खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रमान बज्राचार्यले असार १ गतेदेखि लकडाउन बिस्तारै खुला गर्नुपर्ने बताए। व्यापार व्यवसायमा गाह्रो परेको तथा निम्न आय भएका मानिसहरूलाई जीवन निर्वाहमा नै कठिन भएकाले सरकारले सोच विचार गरी लकडाउनलाई खुकुलो पार्नुपर्नेमा जोड दिए।

नेपाल अटोमोबाइल्स् डिलर्स एशोसियसनका अध्यक्ष कृष्णप्रसाद दुलालले असार मसान्तसम्ममा सामान्य अवस्थामा पुर्‍याउनेगरी बिस्तारै लकडाउनलाई खोल्दै लानुपर्ने धारणा राख्नुभयो। व्यवसाय बन्द गराइरहे कहिल्यै उठ्न नसक्ने भन्दै उनले आर्थिक अवस्था पनि कमजोर हुने बताए। नागरिक पनि सुरक्षित हुनका लागि आफैमा जिम्मेवार हुनुपर्ने पनि उनको भनाइ छ।

होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गराएर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताए। सरकारका विभिन्न मन्त्रालयहरूबीच स्पष्ट नीति र समन्वय नभएको भन्दै उनले लकडाउन कसरी खुल्ला गर्ने भन्ने सम्बन्धमा सरकारको स्पष्ट नीति आउनुपर्ने पनि बताए।

वायु सेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष अनुज रिमालले विगतमा अन्य क्षेत्रको भन्दा वायु सेवामा जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गरिएको र आगामी दिनमा पनि कडाइका साथ पालना गरिने भन्दै अर्थतन्त्रलाई चलायमान बनाउनको लागि वायु सेवालाई सञ्चालन गरिनुपर्ने बताए।

पर्यटन व्यवसायी सुदर्शन नेपालले पर्यटन क्षेत्रका व्यवसायी र मजदुरले कोरोनाविरुद्ध दुवै मात्रा खोप पाइसकेको अवस्था रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना गराउँदै यस व्यवसायलाई सञ्चालन गर्न दिइनुपर्ने बताए। पर्यटन व्यवसायलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाउँदै लानुपर्ने उनको भनाइ छ।

पर्यटन क्षेत्रलाई सुचारु गर्नका लागि व्यवसायीहरू मनोबल उच्च पारेर तयारी अवस्थामा रहेको पनि पर्यटन व्यवसायी नेपालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.