|

जनकपुरधाम : प्रदेश २ सरकारले चुरे संरक्षणको लागि विशेष कार्यक्रम ल्याउने घोषणा गरेको छ।

प्रदेश सरकारले २०७८/०७९ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्रदेश सरकारले चुरे संरक्षणको लागि विशेष सहयोगको घोषणा गर्दै स्थानीय तह, संघीय सरकारसँग समन्वय गरी चुरे संरक्षण गर्ने नीति लिएको छ।

सरकारको तर्फबाट प्रदेश प्रमुख राजेश झाले बिहीबार प्रदेश सभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रायजसो पुरानै कार्यक्रमहरु ‘बेटी पढाऊ, बेटी बचाऊँ’, ‘जहाँ सडक, त्यही विकास’ लगायतका अभियान र प्रदेश सांसद निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिएको छ।

सरकारले एक जिल्ला एक पर्यटन केन्द्र बनाएर प्रदेश पर्यटन विकास गर्ने नीति लिएको छ। मुख्यमन्त्री स्वच्छता अभियानलाई व्यापकता दिँदै मुख्यमन्त्री स्वच्छता अभियान प्राधिकरण गठन गर्ने नीति कार्यक्रममा उल्लेख छ।

यद्यपी सरकारले यस वर्षको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, स्वास्थ्य, कृषि, पर्यटन, स्वरोजगार, शिक्षा र सिँचाइलाई प्राथमिकतामा राखेको समेत देखिएको छ।

कोरोना जोखिम न्यूनीकरण गर्न जनकपुरस्थित मणिपाल अस्पतालको निर्माणाधीन अस्पताललाई कोभिड अस्पताल बनाउने, अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुको दरबन्दी थप्ने, कोभिड महामारी नियन्त्रण गर्न संरचना निर्माण गरी कोरोनाको मात्रै अस्पताल छुट्याउने र कोभिड आपतकालीन सेन्टर स्थापना गर्ने नीति सरकारले लिएको छ।

प्रदेश २ को सबै जिल्लाहरुमा भारतसँगको नियमित आवतजावत हुने भएकोले सीमा नाकाहरुमा हेल्थ डेक्सहरु स्थापना गरी नियमित स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य कर्मचारीलाई स्वास्थ्य विमा गर्ने नीति लिएको छ।

प्रदेश गौरवको योजनाको रुपमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी आर्थिक वर्षमा अध्ययन अध्यापन सुरु गरी प्रादेशिक अस्पताललाई ५ सय बेड क्षमतामा विस्तार गर्ने योजनाको साथै प्रदेशलाई कुपोषणमुक्त बनाउन अभियान सञ्चालन गरिने र प्रदेश स्वास्थ्य नीति ल्याएर प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याइने नीति लिएको छ।

त्यसैगरी बायोमेडिकल इन्जिनियरिङ कलेजको स्थापना गरी अस्पतालको उपकरणहरुको अवस्थामा सुधार गर्ने र प्रादेशिक शिक्षा गुरुयोजना कार्यान्वयन गर्ने, प्रत्येक जिल्लामा एक–एक पुस्तकालय स्थापना, प्रदेश प्रमुख नैतिक शिक्षालाई निरन्तरता दिँदै प्रदेशको प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा एक–एक प्राविधिक शिक्षालय स्थापना गरी जनकपुरलाई शिक्षा हब बनाउने नीति प्रदेश सरकारले लिएको छ।

कोभिडका कारण रोजगारी गुमाएका युवाका लागि मुख्यमन्त्री युवा स्वरोजगार उद्यम विकास कार्यक्रम, मुख्यमन्त्री रनिङ सिल्ड प्रतियोगिता सुरु गरी खेलकुद विकास र विपन्न दलितहरुका लागि दलित छात्रवृत्ति र राशनकार्ड उपलब्ध गराउने जस्ता कार्यक्रम समेटिएको छ।

प्रदेशलाई कृषिप्रधान बनाउन साना मझौला सिँचाइलाई प्राथमिकता दिइने नीति कार्यक्रममा उल्लेख छ।

कृषि व्यवसाय प्रवद्र्धन गर्न मूल्य निर्धारणमा कृषकको मुख्य भूमिका, कृषि बिमा, कृषि सडक, कृषि विद्युतीकरण, कृषि सिँचाइ, कृषिको मझौला उद्योगको कर राजस्वमा छुट, उखु कृषक र चिनी उद्योगका लागि विशेष प्याकेज, भेटेरेनरी सेवालाई प्रभावकारी बनाउने नीति ल्याउनुको साथै कृषि यान्त्रीकरण विकास गरी कृषि उत्पादकत्व बढाउन दीगो मूल आधार तय गरी कृषिजन्य औद्योगिकीकरणमा विशेष सहयोग गरिनेजस्ता कार्यक्रम संचालन गरिने छ।

त्यस्तै पूर्वपश्चिम महेन्द्र राजमार्ग छेउछाउमा पार्क निर्माण, प्रत्येक जिल्ला सदरमुकाममा दलित छात्रावास, ज्येष्ठ नागरिक आवास, प्रत्येक जिल्लामा अतिथि सदन निर्माण गर्ने र जनकपुरमा मधेस सम्मेलन केन्द्र निर्माण गर्ने नीति कार्यक्रम सरकारले ल्याएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.