|

झापा : सरकारले तोकेको प्रारम्भिक बाल विकास केन्द्रका शिक्षक र कर्मचारीको मासिक १५ हजार तलब कार्यान्वयनमा ल्याउन भद्रपुर नगरपालिका कार्यालयलाई ध्यानाकर्षण गराएको छ। 

नेपाल शिक्षक महासंघ, बाल शिक्षक र विद्यालय कर्मचारी परिषद् नगर समितिले भद्रपुर नगरपालिकालाई ध्यानाकर्षण गराउँदै नगरको आगामी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रममा बाल शिक्षक र कर्मचारीको तलब वृद्धि गरी समावेश गराउन माग राखेको हो।  

नेपाल शिक्षक महासंघ नगर अध्यक्ष गणेश गिरी, सचिव अम्बर खड्का, बाल शिक्षक नगर अध्यक्ष तारा मैनाली र विद्यालय कर्मचारी परिषद् नगर अध्यक्ष करकचन्द्र राजवंशीको नेतृत्वमा गएको टोलीले नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ र उपमेयर चन्द्रमाया श्रेष्ठलाई सो मागसहितको स्मरण पत्र बुझाएका हुन्। 

साथै नगर शिक्षा, युवा तथा खेलकुद शाखा र १० वटा वडा कार्यालयहरूमा पनि स्मरण पत्र बुझाएको बताइएको छ। शिक्षक महासंघ नगर समितिले शिक्षक तथा कर्मचारीको पेसागत रुपमा देखिएका समस्यासहितको मागहरूलाई उठाउँदै आएको छ। बाल शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धिको कुरा नगरपालिकासमक्ष पटक पटक उठाउँदै आएको स्मरण पत्रमा उल्लेख छ। 

यस्तो अवस्थामा सरकारले अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि ल्याएको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले बाल शिक्षक र कर्मचारीको अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्‍याइएको र सम्बन्धित पालिकाले सात हजार थप गरेर न्यूनतम मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था लागु गरिएको बताएका छन्। 

सरकारले बजेटमार्फत ल्याएको नीति तथा कार्यक्रमलाई नगरपालिकाले पनि आवश्यक व्यवस्था मिलाई नगर क्षेत्रका बाल शिक्षक र कर्मचारीको तलब वृद्धि गराइदिन भन्दै नगरपालिकालाई ध्यानाकर्षणसहित माग राखिएको बाल शिक्षक नगर अध्यक्ष तारा मैनालीले जानकारी दिइन्। नगरभित्र ५७ जना बाल शिक्षक, मावि स्तरका कर्मचारी १६ जना, आधारभूत स्तरका कर्मचारी १६ जना र प्रावि स्तरका कर्मचारी १५ जना छन्। 

नगरपालिकाले अहिले बाल शिक्षकलाई मासिक ७ हजार ५ सय, माविस्तरका कर्मचारीलाई ११ हजार ५ सय, आधारभूत स्तरका कर्मचारीलाई ७ हजार ५ सय र प्रावि स्तरका कर्मचारीलाई ४ हजार ५ सय मासिक तलब दिँदै आएको उनले बताइन्।

बाल शिक्षकले ५ सयदेखि विद्यार्थीलाई पढाउन सुरु गरेको बताउँदै उनले भनिन्, ‘सरकारले २०७८ श्रावणदेखि १५ हजार तलब तोकेको छ, अब त्यसलाई स्थानीय सरकारले कार्यान्वयनमा ल्याउनुपर्ने हुन्छ, त्यही भएर स्थानीय सरकार प्रमुखलाई लिखित रूपमै ध्यानाकर्षण गराएका हौँ।’

यता नेपाल शिक्षक महासंघ नगर अध्यक्ष गणेश गिरीले बाल शिक्षक र कर्मचारीको तलबबारे नगरपालिकालाई बेलैमा ध्यानाकर्षण गराएकोले माग सम्बोधन हुने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.