|

काठमाडौं :  मिनी विश्वकपले परिचित युरो कप फुटबलको १६ औं संस्करण आजदेखि सुरु हुँदैछ। विश्व फुटबलको उत्कृष्ट टोलीले भाग लिने युरो कपलाई मिनी विश्वकप पनि मानिन्छ।

इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरो कप औपचारिक रुपमा सुरु हुनेछ। टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति पौने एक बजे  सुरु हुनेछ।

ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन्।

११ शहरमा आयोजना 

यस पटक युरो कप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।

यूईएफएले युरो कप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ।
त्यसैले पनि यस प्रतियोगिताले विश्वभरका फुटबल प्रेमीको ध्यान तान्ने गरेको छ । यस्तोमा शुक्रबार रोममा हुने उद्घाटन खेलमा टर्की र इटली भीड्नेछन। लिग कप नकआउटका आधारमा हुने प्रतियोगिताको फाइनल भने लन्डनको वेम्लेमा हुनेछ। 

२४ देश सहभागी 

एक महिना चल्ने खेलमा युरोपका विभिन्न ११ देशमा हुने प्रतियोगितामा २४ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ। एउटा समूहमा चार टोली रहनेछन्। कोरानाका कारण यसपटक प्रत्येक टोलीमा तीन जना थपेर २६ खेलाडी राख्न पाउने नियम बनाइएको छ। त्यस्तै, एक खेलमा ५ खेलाडी सब्सिच्यूट गर्न पाइनेछ।

समूह ए - इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड

समूह बी - डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया

समूह सी - नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया

समूह डी - इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक

समूह ई - स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया

समूह एफ - हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

साठी वर्ष अघि  युुरोकपको योजनाकार तत्कालीन फ्रेन्च फुटबल फेडरेशनका महासचिव हेनरी डेलाने हुन्। 

सन् १९२७ मा युरोपियन फुटबल आयोजनाका लागि उनले गरेको प्रस्तावकै आधारमा त्यसको ३१ वर्षपछि यो प्रतियोगिताको ब्लू प्रिन्ट तयार भएको छ। 

डेलानेको निधन भएको तीन वर्षपछि सन् १९६० मा आयोजित पहिलो प्रतियोगितानै उनको नाममा भयो। सन् १९६० मा फ्रान्समा पहिलो पटक युरोपियन नेशन्स कपका नाममा युरो कप हुँदा तत्कालीन सोभियत संघ, युगोस्लाभिया, चेकोस्लोभाकिया र फ्रान्स गरी चार टोलीले मात्रै भाग लिएका थिए। 

फाइनलमा युगोस्लाभियालाई २–० ले हराउँदै तत्कालीन सोभियत संघले पहिलो उपाधि जित्यो। प्रतियोगिताको तेस्रो संस्करणदेखि युईएफए युरोपियन च्याम्पियनसिपका नाममा यूरोकप चलिरहेको छ। 

सुरुवाती पाँच संस्करणसम्म चार टोलीको मात्रै सहभागीता रहेको प्रतियोगितामा १९८० देखि भाग लिने टोलीको संख्या ८ मा पुग्यो। १९९६ देखि १६ टोलीबिच प्रतिस्पर्धा हुने गरेकामा पछिल्लो संस्करणदेखि २४ देशले खेलिरहेका छन्।

कसले कतिपटक जिते 

युरो कपमा  जर्मनी र स्पेनले सर्वाधिक ३–३ पटक उपाधि जितेका छन्, फ्रान्सले दुई तत्कालीन सोभियत संघ, इटली, चेकरिपब्लिक, नेदरल्याण्ड्स, डेनमार्क, ग्रिस र पोर्चुगलले एक एक पटक उपाधि उचालिसकेका छन्। 

पोर्चुगल साविक विजेता हो। २०१६ मा घरेलु टोली फ्रान्सलाई फाईनलमा हराउँदै उसले पहिलो उपाधि जितेको थियो। यूरो कपमा अहिलेसम्म सबैभन्दा बढी गोल फ्रान्सका माइकल प्लाटिनी र पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले गरेका छन्। उनीहरुको नाममा समान नौ गोल छ। १५ वटा संस्करण सकिँदासम्म १० टोलीले उपाधि जित्दा यस पटक ग्रिस बाहेक सबैले प्रतियोगितामा स्थान बनाएका छन्। 

दुई देशको डेब्यू

फिनल्याण्ड र नर्थ मेसेडोनियाले भने यसपटक युरो कपमा डेब्यु गर्दैछन्। दुई पूर्व विजेता नेदरल्याण्ड्स र डेनमार्कले एक सँस्करणपछि युरो कपमा पुनरागमन गरेका छन् भने स्कटल्याण्ड २५ वर्षपछि युरो कपमा फर्किएको छ। युरो कपकै सर्वाधिक ६ पटक फाइनल खेलेको जर्मनीको यो सर्वाधिक १३ औं सहभागिता हो।

स्टार खेलाडीको अन्तिम युरो कप 

विश्व फुटबलका स्टार खेलाडीको उमेरका कारण पनि यो अन्तिम युरो कप हुनेछ। यो सूचीमा क्रिष्टियानो रोनाल्डोदेखि लुका मोड्रिच, म्यानुएल नोयर र जर्जियो चिलेनी जस्ता खेलाडी छन्। त्यस्तै, पेड्री, जुड बेलिंघम, फेडेरिको किएजा जस्ता युवा स्टारको उदयको रुपमा पनि यो युरो कपलाई लिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.