|

गोरखा : बिहीबार गण्डकी प्रदेश सभामा संसदीय अभ्यासमा विरलै हुने घटना भयो। आफू संलग्न सरकारका मुख्यमन्त्रीलाई विश्वासको मत दिन युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे उपस्थित भएनन्।

ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले मागेको विश्वासको मतमा मतदान गर्न बिहीबार प्रदेश सभामा ५८ जना सांसद उपस्थित भए। उपस्थित मध्ये सभामुख नेत्रनाथ अधिकारीले पदीय मर्यादाका कारण मत जाहेर गरेनन्। राजमोका सांसद कृष्ण थापा तटस्थ बसे। बाँकी २७ जनाले पक्षमा र ३० जनाले विपक्षमा मतदान गरे।

६० सदस्य रहेको प्रदेश सभामा विश्वासको मतका लागि ३१ मत आवश्यक थियो। तर, २७ मत मात्रै पाएपछि मुख्यमन्त्री गुरुङ स्वत: पदमुक्त भए।

बुधबार साँझदेखि सम्पर्कविहिन रहेका सांसद मनाङ्गे मुख्यमन्त्री गुरुङले प्रदेश सभाबाट विश्वास गुमाएपछि सम्पर्क आए। मुख्यमन्त्रीले विश्वास गुमाएपछि मनाङ्गे सामाजिक सन्जालमा एक भिडियो राख्दै लेखे, ‘मनाङ्गे समाज पोखरालाई केही मास्क सेनिटाइजर, पिपिई प्रदान गर्दै।’ 

करिब २४ घण्टादेखि सम्पर्क विहिन रहेका सांसद मनाङ्गे सम्पर्कमा आउँदै नयाँ सरकार गठनका लागि सहयोग गर्ने मिडियामार्फत अभिव्यक्ती दिन थाले।

आफूलाई स्वतन्त्र सांसद दाबी गर्ने मनाङ्गे चुनावदेखि बिहीबारसम्म नेकपा एमालेलाई समर्थन गर्दै आइरहेका थिए। उनी एमाले नेतृत्व सरकारका मन्त्रीसमेत बने। तर, एकाएक बिहीबार साँझदेखि उनले एमालेको साथ छोड्ने घोषणा गरे।

उनले यसअघि पनि यस्तो घोषणा नगरेका भने  हैनन्। तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिने अघिल्लो दिनदेखि सम्पर्कविहिन बनेका सांसद मनाङ्गेले नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनलाई साथ दिने बताएपछि अहिले गण्डकी प्रदेशको राजनीतिक माहोल तातेको छ।

विगतदेखि एमालेलाई समर्थन गरिरहेका मनाङ्गेले एक्कासी कसरी विपक्षी गठबन्धनलाई साथ दिने निष्कर्षमा पुगे? अहिले चर्चाको बिषय बनेको छ। यसैक्रममा उनले बुधबार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई भेटेलगत्तै उनले आफ्नो मानसिकता परिवर्तन गरेको पुष्टि भएको छ।

उनले शुक्रबार आफ्नो फेसबुकमा स्टाटस लेखेका छन्, ‘डा बाबुराम भट्टराई दाईसँगको भेटघाटको सार्थकता’ उनले यस स्टाटससँगै आफू र भट्टराई सँगै भएको फोटो समेत पोष्ट गरेका छन्।

मनाङ्गे र भट्टराईबीच बुधबार साँझ राजनीतिक छलफल भएको कुरा सत्य रहेको बाबुरामको निजी सचिवालयले जनाएको छ। भट्टराईको निजी सचिवालयका एक सदस्यले भने, ‘उहाँहरुबीच बुधबार साँझ पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको हो। तर,‘छलफलमा लिखित सम्झौताहरु भने केही भएको छैन।’

जसपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सहईन्चार्ज रमेश पोखरेलले भट्टराईसँग भेटघाट गराउनका लागि बुधबार पोखराबाट मनाङ्गेलाई लिएर काठमाण्डौं पुगेका थिए।

भट्टराईसँग केही घण्टा छलफल गरेपछि मनाङ्गे पोखरा नै फर्किएको उनको निजी सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.