उपभोक्तालाई नि:शुल्क वितरण गरिने

|

कञ्चनपुर : वृक्षारोपण गरी वातावरण संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले डिभिजन वन कार्यालय कञ्चनपुरले दुई लाख ४० हजार औषधिजन्य विरुवा उत्पादन गरेको छ।

उत्पादित विरुवा सामुदायिक वन, निजी क्षेत्र, राष्ट्रिय वन, सार्वजनिक जग्गामा रोप्नका लागि वितरणको कार्य गरिने भएको छ।

वन कार्यालयले कोभिडको प्रतिकूल अवस्थामा २४ प्रजातिका विरुवा उत्पादन गरेको छ। आयुर्वेदीक औषधिका रुपमा प्रयोग हुने र घर सजावटका लागि यस वर्ष नर्सरीमा विरुवाहरु उत्पादन गरिएको डिजिन वन कार्यालय कञ्चनपुरका डिभिजनल प्रमुख अजयविक्रम मानन्धरले बताए।

 उनका अनुसार उत्पादित विरुवामा मसला,टिक, मोरिङ्गा, भिमल, बडहर, बकाइनो पारिजात, अमला, हर्रो, बर्रो, तेजपात, रिठा, धुपी सल्ला, सीताफल, गोल्डमोहर, कल्कीफूल, राजवृक्ष, वियसाल, बेल, ढाँक, इमली, असोक, क्यासिया सेमिया र क्यासिया ग्लूकालगायत छन्।

डिभिजन वन कार्यालयसहित सव डिभिजन वन कार्यालयमा गरी झण्डै पाँच लाख विरुवा उत्पादन गरिएका छन्। असार १५ गतेदेखि निःशुल्क रूपमा विरुवा वितरणको कार्य गरिने बताइएको छ।

 स्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गर्न लगाई टोकनका आधारमा विरुवा वितरण गरिने डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए। एक दिनमा सय जना जतिलाई विरुवा वितरण गरिने व्यवस्था मिलाइएको छ।

प्रतिवर्ष चार लाखदेखि सात लाखसम्म विरुवा उत्पादनको कार्य हुँदै आएको छ। प्रतिवर्ष निन्तर रुपमा विरुवा उत्पादन गरी वितरण गरी रोप्ने कार्यले अबको १० वर्षमा वनमाथिको ३० प्रतिशत निर्भरता कम हुने बताइएको छ।

‘राष्ट्रिय वनको पैदावारले बढ्दो जनसंख्याको मागलाई पूर्ति गर्न सक्ने अवस्था नभएकाले निजी क्षेत्रलाई वृक्षारोपण गर्न बढावा दिने नीति ल्याएका छौं’ सूचना अधिकारी अवस्थीले भने,‘विरुवा हुर्काएर सर्वसाधारणले थोरै मिहिनेतमा बढी प्रतिफल पाउने भएकाले पनि विरुवा रोप्नका लागि सर्वसाधारणको सहभागिता बढ्दै गएको छ।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.