|

काठमाडौं  ः रत्नपार्कस्थित आकासेपुलको भित्तामा एउटा भित्तेचित्र छ। सो चित्रमा मास्क लगाएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारहरू छन्‌। कोही अक्सिजन बोकिरहेका त कोही व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाएका देखिइन्छन्‌।

यो भित्तेचित्रले कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका व्यक्तिहरू यी नै रहेको देखाउँछ। यी तस्वीर बनाउने कलाकार हुन्‌-दुजाङ शेर्पा।

अग्रपंक्तिमा खटिएका व्यक्तिहरूको सम्मानका लागि चित्र कोरेको शेर्पा बताउँछन्। भने, ‘यो महामारीमा उहाँहरू ज्यान जोखिम पारेर काम गरिरहेका छन्‌, सरकारले स्वास्थ्यकर्मी लगायतलाई जोखिम भत्ता दिएको छैन, उल्टै नराम्रो व्यवहार गरिन्छ, त्यसैले उहाँहरूलाई सम्मान गर्न तस्वीर कोरेको हुँ।’

अग्रपंक्तिमा खटिएका यी योद्धाहरूको तस्वीरबाट सामाजिक सेवामा खट्न अझै प्रेरणा मिल्ने आशा उनको छ। यही तस्वीरबाट समाजलाई उत्प्रेरणा मिलोस् भन्ने पनि उनी चाहन्छन्‌।

‘अहिले पनि स्वास्थ्यकर्मीहरूलाई कुटपिट गरेको घटना घटिरहेका छन्‌,’ उनले भने, ‘उहाँहरू भगवानसरह हो, त्यसैले यही तस्वीरबाट उहाँहरूलाई समाजले सम्मान गर्न सिकोस्‌ भन्ने पनि हाम्रो चाहाना र इच्छा छ।’  

यी भित्ते चित्र कोर्न अन्य व्यक्तिहरूको पनि हात छ। उनको डिजाइनमा चित्रकार साङगे थिंले लामा, सुमिना श्रेष्ठ र कृपा शेर्पाले मानव सेवा गरिरहेकाहरूलाई कलामार्फत आकासेपुलको भित्तामा उतारेका हुन्‌। कुञ्जङ शेर्पा र अभिषेक आत्रेयले यी तस्वीर कोर्न सहयोग गरेका छन्।

‘मैले त डिजाइन मात्रै गर्ने हो, दुःखका साथ उहाँहरूले भने चित्र कोर्नुभएको छ, म उहाँहरूको कामबाट धेरै प्रभावित भएको छु,’ उनले भने। केही दिनदेखि निरन्तर परेको पानीका कारण चित्र कोर्ने काम रोकिएको उनले सुनाए।

‘रत्नपार्कमा भित्तेचित्र कोरेको चार दिन भयो,’ डिजाइनर शेर्पाले भने, ‘तर, पानीका कारण अहिले काम नै गर्न पाएनौँ, पानी रोकिएपछि फेरी काम थाल्छौँ।’  

अरू ठाउँहरूमा पनि यस्तै गरी चित्र कोरेर सामाजिक सन्देश दिने उनीहरूको योजना छ। अहिलेसम्म उनीहरूले आफ्नै खर्चमा चित्र कोरेका छन्। 

शेर्पाले भने, ‘चित्र कोर्दै छौँ, कति खर्च भयो हिसाब गर्न बाँकी छ, खर्च सबै हाम्रै हो।’  काठमाडौं महानगरपालिकाका २८ वडासँग अनुमति लिएर भित्ते चित्र कोरेको उनको भनाइ छ।

शंकरदेव क्याम्पसबाट मास्टर्स गरेका ३० वर्षीय शेर्पा अहिले राजनीति क्षेत्रमा समेत क्रियाशिल छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.