|

काठमाडौं : यदि तपाईं अब काठमाडौंका सडकपेटीमा हिँड्नुभयो भने रंगीचंगी ब्लक देख्नुहुनेछ। काठमाडौं महानगरपालिकाले निषेधाज्ञाबीच अहिले रत्नपार्क, माइतीघर मण्डला, सिंहदरबार अनामनगर लगायत क्षेत्रका सडकपेटीमा यस्तै ब्लक हालेको छ।

महानगरपालिकाका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाका अनुसार यो काठमाडौं उपत्यकाका सडकमा पहिलो पटक हालिएको ब्लक हो। यसलाई ‘एसियन कंक्रिट ब्लक’ भनिन्छ।

उनले फूटपाथलाई गुणस्तरीय बनाउन यो ब्लक हालेको बताए। भने, ‘यो एकदमै राम्रो, बलियो र अपांगमैत्री ब्लक हो, यसमा रंगीचंगी बुट्टा भरिएको छ, यसकाे रङ कहिलै खुइलिन्न, यो ८० एमएमसम्म बाक्लो छ।’

शहरको सौन्दर्य बढाउन बुट्टायुक्त ब्लक हालेको उनको सुनाए। यस्तो ब्लक २५ वर्षसम्म टिक्ने उनको भनाई छ। उनका अनुसार यही ब्लक हाल्न महानगरपालिकाले तीन करोड रुपैयाँ बजेट छुट्याएको छ। यसको ठेक्का कमलजित/आरए कम्पनीले पाएको छ।

असार भित्रमा सबै काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ। ‘न्यूरोड, दरबारमार्ग, थापाथली लगायत ठाउँमा पनि यो ब्लक हाल्ने योजना छ,’ उनले भने। सडक पेटीमा हालिएको पुरानो टायल भने वडा-वडामा बुझाएर भित्री गल्लीमा हाल्ने थापाले जानकारी दिए।

यही ब्लक ललितपुर महानगरपालिकाले पनि सडक पेटीमा हालेको छ। महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार अहिले कुपण्डोल–जाउलाखेल सडक पेटीमा ब्लक बिछ्याएको हो। उनले विस्तारै सबै वडाक सडकमा ब्लक बिछ्याउने योजना रहेको बताए।

‘यो युरोपियन मापदण्डको ब्लक हो,’ उनले भने, ‘अपांगमैत्री र राम्रो आकर्षक देखिन्छ, यसको विशेषता नै यही हो।’

यो ब्लक बिछ्याउन महानगरपालिकाले दुई करोड रुपैयाँमा ठेक्का लगाएको छ। पुरानो ब्लक अन्यन्त्र सडकका खाली ठाउँमा हाल्ने उनकाे भनाइ छ। 

सबै तस्वीर : शिला तिम्सिना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.