|

तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले दोस्रो लहरको कोरोना भाइरस नियन्त्रणमा सहयोग गर्न स्वास्थ्य सामग्री प्रदान गरेका छन्। 

नेता पौडेलले ‘मास्क अभियान’अन्तर्गत जिल्लाका विभिन्न पालिकामा सञ्चालित अस्पतालहरुको प्रभावकारी सेवा विस्तारका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेका हुन्। 

कोरोना महामारीका साथै अन्य रोग नियन्त्रण गर्न मास्क प्रभावकारी रहेकाले हरेक व्यक्तिसमक्ष मास्क पुर्‍याउने योजना रहेको नेता पौडेलले बताए। 

उनले तरुण दलमार्फत ऋषिङ, भिमाद र बन्दीपुरका आमनागरिकलाई मास्क वितरण गर्न उपलब्ध गराइएको बताए। पौडेलले शुक्रबार बन्दीपुर अस्पताललाई २ वटा अक्सिजन कन्सन्ट्रेटर, ग्लोब्स्, मास्क, फेससिल्ड, सेनिटाइजर प्रदान गरेका छन्। नेता पौडेलले शुक्रबार जिल्लाका विभिन्न क्षेत्रलाई समेटेर ७० हजार मास्क, ग्लोब्स, फेससिल्ड, सेनीटाइर लगायतका सामग्री उपलब्ध गराएका छन्। 

तरुण दललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नेता पौडेलले केपी शर्मा ओली प्रधानमन्त्री रहेसम्म संघीयता र व्यवस्था खतरामा रहेको बताए। उनले विकल्प खोज्नु आवश्यक रहेको बताए। उनले कांग्रेसको पहिलो प्राथमिकतामा ओलीको बहिर्गमन रहेको बताए। 

कोरोना महामारी नियन्त्रणका लागि सरकारको योजना प्रभावकारी नहुँदा आमनागरिकले समयमा खोप पाउन नसकेको बताए। उनले भने, ‘बजेट अभावले खोप नआएको होइन, सरकारको प्रभावकारी योजना नहुँदा खोप नआएको हो।’ महामारीको समयमा नागरिकलाई बचाउने योजनामा लाग्नुको सट्टा सत्ताको लुछाचुडीमा लाग्दा आमनागरिकको स्वास्थ्य जोखिममा रहेको उनको भनाइ छ। 

नेता पौडेलले जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाका तरुण दलका समितिलाई ५÷५ हजारका दरले मास्क वितरण गरेका छन्। यसअघि अभियान अन्तर्गत नेता पौडेलले जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर, मास्क, सेनीटाइजर, फेससिल्ड लगायतका सामग्री वितरण गरेका थिए।

जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई ४ थान, भानु नगरपालिका र शुक्लागण्डकी नगरपालिकालाई २÷२ थान अक्सिजन कन्सन्ट्रेटरका साथै अन्य स्वास्थ्य सामग्री सहयोग गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.