|

हेटौंडा : हेटौंडामा कोरोना भाइरसविरुद्धको खोप पहुँचका आधारमा उपमेयरको चेम्बरमा गोप्य रुपमा लगाइएको भेटिएको छ। हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको चेम्बरमा खोप लगाइएको पाइएको हो। 

केही दिनअघि सबै उमेर समूहलाई लगाउन नपुग्ने भन्दै खोप अभियान नै स्थगित गरेको जनप्रतिनिधिबाटै पहुँचका आधारमा खोप लगाइएको छ। 

सरकारले ६२ देखि ६४ वर्ष उमेर समूहको ज्येष्ठ नागरिकलाई लगाउन पठाइएको कोरोना भाइरसविरुद्धको खोप सरकारले तोकेको उमेरसमूहभन्दा बाहिरकाले लगाएका छन्। 

शुक्रबार उपमेयर लामाको चेम्बरमा खोप लगाउनेको भीड नै लागेको थियो। हेटौंडा उपमहानगरपालिकाको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले खोप लगाउने आकांक्षी धेरै भएकाले उपमेयरको कार्यकक्षमा लुकेर खोप लगाइएको स्विकार गरे।

उनले सरकारले ६२ देखि ६४ उमेर समूहको लागि खोप पठाएको भए पनि वडा सदस्य र उपमेयरका केही आफन्तले खोप लगाउन दबाब दिएका भन्दै उपमेयरले खोप लगाइदिन निर्देशन दिएको बताए।

चौलागाईंले उपमेयर लामाको निर्देशनअनुसार शुक्रबार गोप्य रुपमा १३ जनालाई खोप लगाएको स्विकार गरेका छन्।

यस विषयमा उपमेयर लामाले भने आफूलाई केही जानकारी नभएको बताइन्। लामाले खोप लगाइदिनू भन्दै आग्रह गर्न आफ्नो कार्यकक्षमा आइपुगेको भए पनि लगाउने काम भने नभएको दाबी गरिन्। 

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जनप्रतिनिधिबाट खोपको दुरुपयोग भएको सूचना आफूले पाएको र २४ घन्टाभित्र स्पष्टीकरण दिन जिल्ला स्वास्थ्य कार्यलयमार्फत लिखित निर्देशन दिएको बताए।

पाण्डेले जनताबाट निर्वाचित जनप्रतिनिधिबाट भएको यस्तो कार्यको अनुसन्धान गरी आवश्यक कारबाही हुने बताए। उनले जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला प्रशासनलाई जानकारी नै नदिई उपमेयरलाई ४० वटा खोप उपलब्ध गराएको भन्दै आपत्ति जनाएका छन्।

यता जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले खोप दुरुपयोग भएकोबारे सूचना आएको र अनुसन्धान कार्य अघि बढिसकेको बताए। उनले स्वास्थ्य कार्यालयले उपमहानगरलाई सरकारले तोकेको उमेर समूहलाई खोप लगाउन पठाएको भन्दै पहुँचका आधारमा दुरुपयोग गर्न नमिल्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.