पक्राउ गर्न एमाले नेताको माग

|

हेटौंडा : बागमती प्रदेश सभामा नेपाली कांग्रेस सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना भइरहेको छ।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको भन्दै उनीविरुद्ध आफू महात्मा गान्धीका हत्यारा नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए।

सो अभिव्यक्ति दिएपछि विपक्षी र आफ्नै दलबाट पनि वैद्यको आलोचना भइरहेको छ। नेकपा (एमाले)ले आपत्ति जनाउँदै वैद्यलाई पक्राउ नै गर्नुपर्ने बताएको छ भने कांग्रेसले आत्मालोचना गर्न निर्देशन दिएको छ।

नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाएका छन्। वैद्यको अभिव्यक्तिपछि शुक्रबार सामाजिक सञ्जालमा बाँस्कोटाले लेखेका छन्, ‘केपी ओली नमारे कांग्रेस नजित्ने रहेछ, प्रधानमन्त्रीमाथि कुनै भयानक षड्यन्त्र हुँदैरहेछ। नत्र प्रदेश सांसद, त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्नसक्छ?’

यसैगरी एमाले नेता महेश बस्नेतले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री ओलीलाई मार्ने षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमा ‘के महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कांग्रेसले बनाएको हो त?’ प्रश्न गरेका छन्। बस्नेतले वैद्यलाई तुरुन्त पक्राउ गर्न पनि माग गरेका छन्।

नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ र कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यलाई आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्न निर्देशन दिएका छन्। सामाजिक सञ्जालमा प्रवक्ता शर्माले उल्लेख गरेका छन्, ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइँदैन। आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुँदैन। शब्द फिर्ता लिइ आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ। तर्कले आपत्तिजनक  शब्द छोप्ने हाम्रो परम्परा छैन।’

आफ्नो बोलीको कारण विवादमा आएका वैद्यले भने प्रधानमन्त्री ओलीको हत्या गर्ने अभिव्यक्ति नदिएको प्रष्टिकरण दिएका छन्। उनले आफू हिंसा विरोधी रहेको भन्दै ओलीको हत्या गर्ने मनसायले भन्दापनि उनको कामको विरोध गर्ने मनसायले अभिव्यक्ति दिएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.