|
फाइल फोटो

सुर्खेत : आफूलाई सामाजिक अभियान्ताको नामले चिनाउने ज्ञानेन्द्र शाहीले सरकारपक्षका व्यक्तिबाट आफूमाथि आक्रमण भएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ भिडियोमा बोल्दै यस्तो आरोप लगाएका छन्।

उनले भनेका छन, ‘योजना बदलारूप हामीमाथि सरकार पक्षका मान्छेबाट आक्रमण भयो। सुर्खेत प्रहरीले झुट बोल्दैछ।’ तर, शाहीले प्रहरीलाई झुटको आरोप लगाईरहँदा प्रहरीले भने यस घटनालाई आक्रमण नभई झडपको रुपमा लिएको बताएको छ।

डिसकसपछि झडप : प्रहरी

‘गएराति झण्डै ११ बजेको समय हुनुपर्छ, शाहीको समूह वीरेन्द्रनगर आउँदै थियो। यताबाट स्थानीय (सामान्य मजदुर) घरतिर फर्किंदै थिए।’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले भने, ‘वीरेन्द्रनगर स्थित करेखोलामा जम्काभेट भयो । त्यसपछि दुवै समूहबीच डिस्कस भयो। त्यसपछि हात हालाहाल भयो।’

घर्तीले झडपमा दुवै समूहका व्यक्तिहरु घाइते भएको बताए। उनले भने,  ‘ज्ञानेन्द्र शाहीले आरोप लगाएजस्तो यो घटना देखिन्न। उहाँहरूको राजनीति पृष्ठभूमि के हो त्यो थाह भएन। तर, राजनीतिक दलबाट परिचालित जस्तो लाग्दैन। लेबर काम गर्ने स्थानीय युवाहरू हुन्। राजनीतिबारे खासै जानकारी राख्ने जस्तो युवाहरू छैनन्।’

घर्तीले स्थानीय पाँच जना प्रहरीको नियन्त्रणमा रहेको पनि बताए। घटनाको थप बुझ्नुपर्ने भन्दै प्रक्राउ परेकाहरूको विवरण खुलाइएको छैन। ज्ञानेन्द्र शाही राहत बाँड्नका लागि सुर्खेत आएको बताइएको  छ।

त्यसोत शाहीमाथि यसअघि पनि सुर्खेतमा २ पटक यस्तो घटना घटेको छ।  स्थानीयले भने करेखोलामा राहत बाँड्न पुगेको अवस्थामन निषेधाज्ञाको समयमा किन गाउँ छिरेको भन्दै स्थानीयले प्रतिवाद गरेपछि झडप भएको बताएका छन्।

१२ बढी घाइते, प्रदेश अस्पतालमा उपचार हुँदै

झडपमा दुवै पक्षका दर्जन बढी घाइते छन्। उनीहरूको अवस्था सामान्य रहेको र प्रदेश अस्पतालमा उपचार भएको छ। सामाजिक सञ्चालमा राखिएको भिडियोमा शाहीले आफूसहित कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोकबहादुर रोकाय, राजेश महत, शान्त शर्मा, सीता आचार्य, खगेन्द्र बजगाईं महेश बीसीलगायतको टोलिमाथि आक्रमण भएको बताएका छन्। शाहीको समूह निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई राहत तथा उद्दारका लागि जुटिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.