|

रूकुम (पूर्व) : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ का निर्माण पुरी करेन्ट लागेर घाइते भए। आठबिसकोट–११, धुर्सेनीका भरत पुरीका ८ वर्षीय छोरा निर्माणलाई यही जेठ २२ गते बेलुकी पाँच बजेतिर करेन्ट लागेको थियो। वडामा भर्खरै केन्द्रिय प्रसारण लाइन विस्तार भएको हो। 

गाउँको निन्याउरी खोलामा बाख्रा चराउन गएका बालक निर्माणलाई करेन्ट लागेको हो। उनी गम्भीर घाइते छन्‌।

​करेन्ट लागेको थाहा पाएपछि आफन्तले उनलाई तत्काल उपचारका लागि आठबीसकोट नगर अस्पतालमा लगेका थिए। त्यहाँ उपचार सम्भव नहुने भएपछि अस्पताल पुर्‍याएको केही घण्टामै भेरी अस्पताल रेफर गरियो। 

आठबिसकोट नगर अस्पतालबाट रेफर गरिएपछि बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा लगिएको थियो। तर, त्यहाँ पुर्‍याउँदा पनि उक्त अस्पतालमा उपचार सम्भव नभएको डाक्टरहरूबाट जवाफ आयो। आफन्तहरूले निराश हुँदै निषेधाज्ञाकै समयमा निर्माणलाई उपचारका लागि काठमाडौं लगेका छन्। उनको अहिले काठमाडौंस्थित पुष्पलाल मेडिकल कलेजमा उपचार भइरहेको छ।

निर्माणको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। उपचारका लागि दैनिक रूपमा धेरै खर्च हुने गरेको निर्माणका ठूला बुवा धर्मराज पुरीले बताए। अहिले औषधिमा मात्रै दैनिक ३०/३५ हजारसम्म खर्च हुने गरेको उनले जानकारी दिए। दिनहुँ धेरै खर्च भइरहँदा सो जुटाउन मुस्किल भएको धर्मराजले जनाएका छन्‌।

​उनले भने ‘आर्थिक अवस्था कमजोर छ, निर्माणको बुवा घर खर्च जुटाउन भारतमा छन्, निर्माणको बुवाको कमाइले उनको उपचारका लागि पैसा पुग्दैन, सहायता नपाए त उसलाई बचाउनै नसकिएला।’ 

दैनिक रूपमा खाना, नास्ता र बेड चार्जको खर्च एकातिर छ। हरेक दिन महंगो औषधि दिनुपर्छ खर्च जुटाउनै कठिन भएको छ, धर्मराजले दुखेसो गरे। निर्माणको ज्यान बचाउन मुस्किल भएकाले आफन्तले सहयोगका लागि सबैसँग अपेक्षा राखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.