|

झापा : सरकारले दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको छ। 

'सर्पदंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ, एक सातामा दुई जनाको मृत्यु' भन्ने शीर्षकमा थाहा खबरमा समाचार प्रकाशन भएलगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तरगतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको हो। 

समाचार प्रकाशन भएको पाँच दिनपछि अर्थात् जेठ २८ गते महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालन अनुमति प्रमाणपत्र दिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए।

महाशाखाले सर्पदंश उपचार केन्द्र स्थापना सम्बन्धी मापदण्ड २०७७ को दफा ६ बमोजिम २०७८ जेठ २८ देखि २०८२ जेठ २७ गते सम्म सञ्चालन अनुमति प्रमाणपत्र दिएइको स्वास्थ्य शाखा प्रमुख यादवले बताए। 

अनुमति प्रमाणपत्र प्राप्त भइसकेकोले गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा सञ्चालनमा ल्याउन लागेको सर्पदंश उपचार केन्द्रको यही असार ३ गते बिहीबार उद्घाटन गरिने कार्यक्रम तय भएको उनको भनाइ छ।

उनले भने, 'उद्घाटनको तयारीमा गाउँपालिकाले जुटेको छ, प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयबाट एन्टी स्न्याक भेनम  तीन सय थान ल्याउन भोलि जाँदैछौं।'

प्रतिनिधि सदस्य राजेन्द्र लिङ्देनले संसद् कोष र गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले गाउँपालिकाबाट उपचार केन्द्रका लागि अनुमानित २० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि आवश्यक जनशक्ति र भौतिक व्यवस्थापन कार्य पूरा गरेको उनले बताए।

गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि गाउँबासीले दबाब दिन थालेपछि २०७७ पुस २७ मा नै उपचार केन्द्रको स्वीकृतिका लागि महाशाखामा पत्राचार गरे पनि अनुमति नपाउँदा सञ्चालनमा ढिलाइ भएको उनको भनाइ छ।

गाउँपालिकामा सर्पदंश उपचार केन्द्र नहुँदा अघिल्लो साता विषालु सर्पको डसाइबाट दुई जनाले अकालमै ज्यान गुमाउनु परेको थियो। मृत्यु हुनेमा कचनकवल-७ खेरिबारीकी ४३ वर्षीया रामकुमारी कुँवर र कचनकवल ४ स्थित फर्कागाछीका ५९ वर्षीय चवनलाल गणेश रहेका प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

वर्षा सुरु भएसँगै गाउँपालिकामा सर्पको बिगबिगी बढ्ने गरेको स्थानीयको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.