|

गोरखा : कांग्रेस नेतृत्वमा बन्ने गण्डकी प्रदेशको नयाँ सरकारमा गठबन्धनका दलहरूमा मन्त्रालय बाँडफाँटमा विवाद उत्पन्न भएको छ।

कुन दलबाट कति जना सांसदहरूलाई आज सपथ खुवाउने भन्ने टुंगो नलाग्दा दलहरूबीच विवाद सुरु भएको हो।

गण्डकीमा गत जेठ ६ गते निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय बढाएर ११ वटा बनाएका थिए। त्यसअघि गण्डकीमा मुख्यमन्त्रीको मन्त्रालयसहित ७ वटा मन्त्रालय रहेको थियो।

आज संविधानको धारा १६८ (५) अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

कांग्रेस, माओवादी, जसपा, राजमो र एक स्वतन्त्र सांसद राजिव गुरुङको गठबन्धनमा आज गण्डकीमा नयाँ सरकार बनेको छ।

उनीहरू आज बिहानैदेखि पोखराकै सांग्रिला रिसोर्टमा बसेर मन्त्रालय बाँडफाँटको छलफल गरेका थिए। तर, अहिलेसम्म कुन दलका कति जना सरकारमा जाने भन्ने टुंगो नलाग्दा अहिले विवाद सुरु हुन थालेको छ।

आज बिहान रिसोर्टमा भएको छलफलमा जसपाले मन्त्रालय सात वटा नै बनाएर सरकार सन्चालन गर्ने विषयमा बहस गरेको थियो। पृथ्वीसुब्बा गुरुङले बढाएको मन्त्रालय यथावतै राखेमा आफूहरूलाई दुई मन्त्रालय चाहिने जसपाको माग रहेको गठबन्धनका एक सांसद बताउँछन्।

उनले भने, ‘जसपाले कि मन्त्रालय ७ वटा बनाएर चलाऔँ नभए हामीलाई दुई मन्त्रालय चाहिन्छ। हाम्रो दुबै सांसद एकैपटक सरकारमा जान्छौँ भन्ने कुरा उठेको थियो। तर, कुनै टुंगो लागेन।’

अहिले मुख्यमन्त्री नेपालीसहित कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिने तयारी गरिरहेका छन्। राजमोका सांसद भने सरकारमा नजाने अडान लिएर बसेका छन्।

जसपाकी सांसद भन्छिन्, ‘दुई वटा मन्त्रालय नपाए सरकारमा जाँदैनौं’

जसपाका संसदीय दलका नेता हरिशरण आचार्य आज सरकारमा जान आफू सपथ खाने तयारी गरिरहेको बताउँछन्। 

तर, जसपाकी अर्की सांसद धनमाया लामा भने पार्टीको निर्णयअनुसार कि दुबै जना एकै पटक सरकारमा जाने कि कोही पनि नजाने बताउँछिन्। उनले भनिन्, ‘पार्टीको निर्णय कि दुबै जना सरकारमा जाने नभए कोही पनि नजाने भन्ने छ। अरु दलको जस्तो हाम्रो धेरै सांसद छैनन्, विवाद हुने कुरा छैन। त्यसैले गए कि दुबै सरकारमा जान्छौँ नभए पहिले पनि प्रतिपक्षमा बसेकै हो अहिले पनि बस्छौँ भन्ने मेरो कुरा हो। पार्टीको धारणा पनि त्यही छ।’

हाल रहेको मन्त्रालय संख्या यथावत् रहँदा जसपाले दुई वटा मन्त्रालय माग्ने भएको हो। सांसद लामा भन्छिन्, ‘पहिलेको सरकारले सात वटा मन्त्रालयबाट पनि लामो समय सरकार चलायो। हामीले पनि चलाउन सक्छौँ। कि सात वटा मन्त्रालय बनाऔँ नभए त्योभन्दा बढी भए जसपाले दुई वटा मन्त्रालय माग्ने पार्टीको निर्णय छ।’

तर, अहिलेसम्म मन्त्रालय संख्या कति वटा बनाउने? कुन दललाई कति वटा मन्त्रालय दिने? र ककस्लाई सरकारमा लैजाने भन्ने पूर्ण रुपमा टुंगो लागिसकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.