|

चितवन : दुर्लभ वन्यजन्तु एकसिंगे गैंडालगायत बाघ, गौरीगाई, लगुनाजस्ता जनावरहरुको संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदानको व्यवस्थापन गरिरहेको छ। निकुञ्जले चालु आर्थिक वर्ष २०७७/७८ मा झण्डै तीन हजार हेक्टरमा घाँसे मैदान निर्माण तथा व्यवस्थापन गर्दैछ।

हरेक वर्ष घाँसे मैदानलाई मिचाहा प्रजातिका बोट विरुवाले अतिक्रमण गर्ने भएकाले त्यसको व्यवस्थापन गर्ने गरिन्छ। जनावरका लागि मात्रै नभएर जैविक विविधता संरक्षण र पर्यावरणका लागि समेत घाँसे मैदान महत्वपूर्ण मानिन्छ। 
चालु आर्थिक वर्षमा निकुञ्जले दुई हजार ६०० हेक्टरमा नयाँ घाँसे मैदान निर्माण गर्दैछ। पुरानो ४०० हेक्टर घाँसे मैदानलाई पनि व्यवस्थापन गर्दैछ। सरकारले निकुञ्जमा नयाँ घाँसे मैदान निर्माणका लागि साढे तीन करोड र व्यवस्थापनका लागि एक करोड रुपैयाँ विनियोजन गरेको थियो।

घाँसे मैदान व्यवस्थापनको काम करिब २० प्रतिशत मात्रै बाँकी रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। ‘धेरैजसो घाँसे मैदान तयार भइसकेको छ,’ उनले भने, ‘अब करिब २० प्रतिशत जति काम बाँकी छ। त्यसलाई असार मसान्तभित्रमा सक्छौं।’

घाँसे मैदानमा मुख्यगरी दुबो, काँस, सिरु, बरुवा, नर्कट, थमेडा, ढड्डीजस्ता घाँस पाइन्छन्। निकुञ्जमा माइकेनिया, काँडे वनमारा, पार्थेनियम, सेतो वनमारालगायतका मिचाहा प्रजातिका झारको अतिक्रमणले घाँसे मैदानको क्षेत्रफल घट्दै गएको छ। घाँसे मैदान व्यवस्थापनमा पुराना घाँस काट्ने, उखेल्ने र अतिक्रमण गरेका झाडी बुट्यानहरु हटाउने काम गरिन्छ। केही स्थानमा डढेलो लगाएर पनि घाँसे मैदान व्यवस्थापन गरिने प्रमुख संरक्षण अधिकृत बरालले बताए।

‘घाँसे मैदान व्यवस्थापनमा घाँस काट्ने ट्याक्टर, जेसीबीजस्ता मेशिन प्रयोग गर्छाैं,’ उनी भन्छन्, ‘मेशिन जान नसक्ने ठाउँका मिचाहा प्रजातिलाई मान्छे गएर हटाउने गरिन्छ। मेशिनले काटेर बाँकी रहेको घाँसका ठुटाहरु हटाउन नियन्त्रण गर्न सक्ने ठाउँमा डढेलो पनि लगाउछौं।’ 

निकुञ्जले भदौदेखि घाँसे मैदानको डिजाइन तथा लगत स्टिमेट तयार गर्न थाल्छ। सार्वजनिक खरिद ऐनका कारण डिजाइन गर्ने र लगत स्टिमेट तयार पार्ने लगायतका प्रक्रिया पूरा गर्न दुई महिनाभन्दा बढी लाग्ने उनी बताउँछन्। त्यसपछि निकुञ्जले टेण्डर निकाल्छ। टेण्डर निकालेर ठेकेदारसँग सम्झौता भई काम सुरु गर्ने प्रकृया नै लामो हुने भएकाले काम सक्दा असार लागिसक्ने प्रमुख संरक्षण अधिकृत बरालको भनाइ छ। 

घाँसे मैदान व्यवस्थापनका लागि वर्षमा कम्तीमा दुईपटक घाँस काट्नुपर्ने हुन्छ। सार्वजनिक खरिद ऐनको प्रक्रिया पूरा गर्नै लामो समय लाग्ने भएकाले वर्षमा एकपटक भन्दा बढी काट्न नसकिएको प्रमुख संरक्षण अधिकृत बरालले बताए। ‘एकचोटी भन्दा बढी पटक एकै ठाउँमा काट्दा शंका गर्ने ठाउँ पनि हुन्छ,’ उनले भने, ‘काट्यो कि काटेन जस्तो पनि हुने। त्यसो हुनाले हामीले रिस्क लिएर एकै ठाउँमा दुई÷तीन पटक काट्दैनौं।’

त्यसैगरी, निकुञ्जले चालु आर्थिक वर्षमा १२ वटा नयाँ पोखरी निर्माण र ३५ वटा पोखरी मर्मत गरेको छ। तीनवटा पोखरीमा पानी सुक्न नदिन बोरिङ जडान गरिएको छ। पोखरी निर्माण तथा मर्मतका लागि करिब एक करोड रुपैयाँ विनियोजन भएको थियो।

निकुञ्जका घाँसे मैदान यतिबेला घाँसका नयाँ पालुवा पलाएर हरियाली बनेका छन्। घाँसे मैदानहरु वनमा परिणत नहुन् भनेर वर्षमा एकपटक व्यवस्थापनको काम गर्ने गरिएको निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले बताए। निकुञ्जाको लामी ताल, घट्गाई, लगुना, जर्नेली, सुखीभार, भिम्ले, बुढीराप्ती, पूर्वी क्षेत्रको चपरचुली, पदमपुरलगायतका फाँटाहरुमा घाँसे मैदान रहेका छन्। निकुञ्जले विशेषगरी गैंडा, बाघ, गौरीगाई, चित्तल, मृग, जरायो, लगुना जस्ता जनावरहरुको लागि प्राथमिकता दिएर घाँसे मैदान व्यवस्था गर्ने उनी बताउँछन्।  

‘जनावरले मन पराउने घाँसको उपलब्धता जंगलभित्रै भयो भने जनावहरु जंगलबाहिर जाँदैनन् कि भन्ने अपेक्षा हो,’ उनी भन्छन्, ‘अहिलेसम्म चितवन राष्ट्रिय निकुञ्जमा घाँस र पानीको व्यवस्था चाहिँ पर्याप्त नै छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.