|

संखुवासभा : संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा १६ दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको छ। जिल्लामा दुर्गम उत्तरी क्षेत्र भोटखोलामा गत जेठ १५ गते देखि दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो।

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन्। टेलिफोन सेवा अवरुद्ध भएको १६ दिन भइसक्दा पनि सरोकारवाला निकायले चासो नदेखाउँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको भोटखोला गाउँपालिका का वडा सचिव दावा लामाले जानकारी दिए।

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला गाउँपालिका नै सञ्चार सेवाबाट बन्चित भएको सचिव लामाले बताए। टेलिफोन सेवा अवरुद्ध भएको जानकारी गराउँदा पनि दूरसञ्‍चार कार्यालय खाँदबारी बेवास्ता गरेको स्थानीयको गुनासो छ।

टेलिफोन सेवा अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको स्थानीय मिथुन भोटेले बताए। भोटखोला २ र ४ वडाको सिमानामा रहेको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि टेलिफोन सेवा अवरुद्ध भएको दूर सञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिए।

मोक्तानका अनुसार उच्च हिमाल क्षेत्रमा  हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको छ। अवरुद्ध टेलिफोन सेवा कहिले सूचारु हुन्छ भन्ने यकिन भइनसकेको मोक्तानले बताए।

मकालु गाउँपालिकाको भाटभटेनीमा रहेको टावरमा समेत समस्या देखिएका कारण माक्पालुङको टावरमा लिङ्क पठाउन नसक्दा समस्या आएको र मर्मतका लागि चाँडै प्राविधिक टोली त्यस क्षेत्रमा पठाउने सूचना अधिकारी मोक्तानले जानकारी दिए। 

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौ गाउँका बासिन्दा टेलिफोन सेवाबाट वञ्चित भएका छन्। विद्युत् सेवा नपुगेका दुर्गम गाउँमा विटिएस टावर अझै सोलारपावरको भरमा चल्ने गरेको छ। संखुवासभाका ६ स्थानका बीटीएस टावर सोलार पावरको भरमा मात्रै चल्ने गरेका  छन्।

विद्युत् विस्तार नहुँदा नेपाल टेलिकमका मोबाइल प्रयोग गर्ने भोटखोलाका नागरिकले मौसमको भरमा सेवा पाउने गरेका छन्। चिचिला गाउँपालिकाको छ्याङकुटी, मकालु गाउँपालिकाको भाटभोटेनी,भोटखोला गाउँपालिकाको बाक्ले, भोटखोलाको गाउँपालिकाको माक्पालुङ र सिलिचुङ गाउँपालिकालगायतमा स्थानमा सोलार पावरको भरमा बिटिएस प्रणालीमार्फत मोबाइल नेटवर्क सञ्चालन गरिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.