|

काठमाडाैं : कारोनाविरुद्ध खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन्।

सरकारले चीनबाट ल्याएको १० लाख डोज कोरोना विरुद्धको खोप जेठ २५ गतेदेखि ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाउन शुरु गरिएको भए पनि कतिपय ठाउँमा खोप अभियान स्थगित भएपछि लक्षित वर्ग मारमा परेका हुन्।

कतिपय जिल्लामा अन्य उमेर समूहका मानिसले पनि खोप लगाउन खोजेपछि तथा कतिपय ठाउँमा लक्षित वर्गलाई लगाउन पनि अपुग भएपछि खोप अभियान बन्द हुँदै गइरहेका छन्।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जिल्लाहरुमा लक्षित वर्ग बाहेकले पनि खोप लगाउन खोजेपछि अभियान नै स्थगित हुनुपरेको बताए।उनले भने, ‘पछिल्लो दिनमा मित्रराष्ट्र चीनबाट प्राप्त गरेको १० लाख डोज खोपमध्ये ६० देखि ६४ वर्षभित्रका उमेर समूहका व्यक्तिलाई जिल्लाअनुसार फरक–फरक हिसाबले जिल्लाले निर्णय गरेर खोप अभियान सञ्चालन गरिरहेका छौँ। जिल्लागत रुपमा भएका स्थानीय समस्याका कारण खोप लगाउने ठाउँमा खोप लक्षित वर्ग र लक्षित वर्गमा नपरेका अन्य व्यक्तिहरुले खोप लगाउने चाहनालगायत तादाम्यता नभएर केही ठाउँहरुमा खोप अभियान स्थगित भएको जानकारी हामीले विभिन्न माध्यमबाट पाएका छौँ।’

सहप्रवक्ता अधिकारीले लक्षित उमेरका व्यक्तिहरुलाई खोप लगाइसकेपछि अन्यको पालो पनि क्रमशः छिट्टै आउने भएकाले लक्षित वर्गलाई खोप लगाउन सबैले सहजीकरण गर्नुपर्ने पनि बताए। भने, ‘त्यस्ता व्यक्तिहरुलाई तोकेको ठाउँमा, तोकेको मितिमा खोप लगाउन जान हामी सबैले सहजीकरण गर्नुपर्ने हुन्छ। क्रमशः सबैको पालो आउँदै जान्छ। अहिले प्राथमिकता प्राप्त व्यक्तिहरुलाई खोप अभियानमा सहभागी गराउनलाई सहजीकरण गरिदिनुहुन सबैलाई अनुरोध गर्दछौँ। कहीँकतै खोप स्थगित भएका छन् भने छिटो खोप लगाउन पहल गरिरहेका छौँ।’

स्थगित भएका ठाउँमा पनि खोप अभियान पुनः सञ्चालन गर्ने सम्बन्धमा स्वास्थ्य मन्त्रालयले पहल गरिरहेको पनि सहप्रवक्ता अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.