|

विराटनगर : किरात समुदायको आस्थासँग जोडिएको खुवालुङ संरक्षणमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चासो व्यक्त गरेका छन्। 

प्रदेश १ प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले खुवालुङलाई संरक्षण गरिने बताए। मुख्यमन्त्री राईले खुवालुङ ढुंगा मात्रै नभएर किरात समुदायको आस्थासँग जोडिएकाले संरक्षणको विकल्प नभएको बताए।

'खुलालुङ संरक्षण गर्नुको विकल्प छैन, किनभने त्यो ढुंगा मात्रै होइन रहेछ,’ उनले भने, ‘अरु ढुंगाहरु कहाँ–कहाँ छन् पन्छाउनुपर्छ, तर त्यो ढुंगा मात्रै नभएकाले संरक्षणमा ध्यान दिनुपर्छ।’

मुख्यमन्त्री राईले खुवालुङ फुटाउनेबारे तीनै तहको सरकारले कुनै नीति नलिएको बताए। भने, 'पानीजहाज कार्यालयबाट बजेट छुट्याएर आएको छ, नदीको पानीको बहाव डाइभर्ट गरी खुवालुङ जोगाइने छ।'

शक्तिको केन्द्र खुवालुङ 

किरात भाषाअनुसार फेदाङबा (धामी)हरूले धर्म, संस्कार र संस्कृतिका कार्यक्रम गर्दा खुवालुङ क्षेत्रमा गर्दा शक्ति आर्जन गरेर आफ्नो कार्य सम्पन्न गर्ने भएकाले खुवालुङ क्षेत्रलाई शक्ति केन्द्र मानिएको खुवालुङ क्षेत्र संरक्षण भेला आयोजक समितिका संयोजक बलराम राई बताउँछन्।

‘यो मुन्धम सभ्यतासँग जोडिएको विषय हो,' राईले भने, 'हामी किरातहरूले यसलाई आस्थाको केन्द्रको रुपमा लिएका छौं। यो क्षेत्रको विकास हुन जरुरी छ तर सभ्यता र आस्थालाई मासिन दिन हुँदैन।’

‘किरात राई भाषामा 'खु' भनेको खोला, नदी 'हा', 'वा' को अर्थ पानी हो भने 'लुङ्ग' भनेको ढुंगा। यही आधारमा खुवालुङ भएको हो’, उनले भने, 'त्यही भएर पानीबिनाको ठाउँमा सार्न नमिल्ने भएकाले ढुंगा सार्ने कुनै पनि सम्भावना छैन। आफूहरू विकासविरोधी नभएको उनको भनाइ छ। उनी थप्छन्, 'आस्था नमर्ने तरिकाबाट  विकासका अन्य विकल्पहरू सरकारले खोज्नुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.